कालीगण्डकी गाउँपालिका जस्तै स्याङ्जा क्षेत्र नम्बर दुईलाई विकासको नमुना बनाउनेछु : खिमबहादुर थापा
मिलन विश्वकर्मा
पाल्पा, ७ माघ । स्याङ्जा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार खिमबहादुर थापाले आफू निर्वाचित भएपछि जनतालाई नै सर्वोपरि ठानेर काम गर्ने बताउनुभयो ।
उम्मेदवारी दर्ता गरेपछि कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको हो । यसअघि उहाँ कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासंघको महासचिव हुनुहुन्थ्यो।
´गाउँपालिका अध्यक्षबाट राजिनामा दिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेको छु । व्यक्तिगत रूपमा गाउँपालिका अध्यक्ष हुँदा धेरै फाइदा थिए होलान।` उहाँले भन्नुभयो ´स्याङ्जा क्षेत्र नम्बर दुई र सिंगो मुलुकको अप्ठ्यारो परिस्थितिलाई मुक्ति दिन त्याग गरेको छु ।` भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि मुलुक जटिल मोडमा पुगेको उहाँले बताउनुभयो । राजनीतिक र आर्थिक रूपमा मुलुक कता जाने हो, टुंगो छैन । अबको निर्वाचनले सामान्य तर्फ लैजाने बताउनुभयो । मुलुकलाई सहि दिशामा लैजाने नेकपा एमाले भएको बताउनुभयो ।
उहाँले थप्नुभयो ´स्थायित्व सरकार चाहिएको छ । विकासको नेतृत्व गर्ने पार्टी चाहिएको छ । त्यो पार्टी एमाले मात्रै हो।` देश तथा विदेशी गलत तत्वबाट मुलुकलाई बचाउनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
कालीगण्डकी गाउँपालिकाको अध्यक्ष भइरहदा व्यक्तिगत रूपमा धेरै फाइदा थिए होलान । अहिले मुलुक संकटमा परेको छ । संकटमा परेको मुलुकलाई निकास दिनको लागि एमाले चाहिएको छ । उम्मेदवार बनेर प्रतिनिधि सभामा नपुगीकन निकास दिन सकिँदैन।मुलुक र यस क्षेत्रको विकास गर्न आफ्नो उम्मेदवारी भएको थापाले बताउनुभयो ।
पार्टी र मुलुकको लागि गाउँपालिका त्याग गरेको हुँ। मुलुकलाई जोगाउने काममा लाग्ने छु । स्याङ्जा क्षेत्र नम्बर २ को विकासका लागि लाग्नेछु ।
कालीगण्डकी गाउँपालिकालाई उदाहरणीय गाउँपालिकाको रूपमा प्रस्तुत गरेको छु । क्षेत्र नम्बर २ लाई विकासको नमुना बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मत दिएर आफूलाई विजयी गराउन र यस क्षेत्रको विकासमा सहयोग गर्न उम्मेदवार थापाले अपिल गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस