पाल्पास्थित मुख्य राजमार्गका पसल र होटलमा अनुगमन
मिलन विश्वकर्मा
पाल्पा, १९ असार । पाल्पामा सरोकारवाला निकायहरूको सहभागितामा शुक्रबार संयुक्त बजार अनुगमन गरिएको छ ।
पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीको नेतृत्वमा अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, तिनाउँ गाउँपालिका, नेपाल प्रहरी र सञ्चारकर्मीहरूको रोहवर तथा संयुक्त सहभागिता रहेको थियो ।
जिल्लाको प्रसिद्ध सिद्धबाबा मन्दिर परिसरमा प्रसाद तथा मिठाई पसलहरूबाट सुरु भएको बजार अनुगमन झुम्सा, केराबारी क्षेत्रका होटल तथा रेस्टुरेन्टहरूमा केन्द्रित भएको थियो । अनुगमनका क्रममा जम्मा २३ वटा पसल, होटल तथा रेस्टुरेन्टहरूको निरीक्षण गरिएको थियो ।
अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने १० हजार बढीका म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको अनुगमनमा सहभागी घरेलु कार्यालय पाल्पाका प्रमुख केशव सुनारले बताउनुभयो । उहाँका अनुसार उत्पादन मिति भन्दा डेढ महिना पहिल्यै बजार बस्तु बिक्री भएको समेत पाइएको छ । आगामी भदौ १ गतेको उत्पादन मिति रहेको छ । ती मिति भएका मिठाइँ सिद्धबाबा मन्दिर परिसरमा बिक्रीका लागि राखेको पाइएको हो ।
कतिपय पसल तथा होटलमा मूल्यसूची राखेको पाइएन । सरसफाइ समेत नरहेको सहायक प्रजिअ ऋषिराम सुवेदीले बताउनुभयो । उपभोक्ता अधिकारको पालना तथा कानुनी मापदण्डबारे जानकारी गराएको उहाँले बताउनुभयो ।
व्यवसायीहरूलाई उपभोक्तासमक्ष स्वच्छ, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिइएको छ । प्रचलित कानुन र मापदण्डको पूर्ण पालना गर्न आवश्यक सुझाव र सचेत गराउने काम समेत गरिएको सुवेदीले बताउनुभयो । अनुगमनलाई निरन्तरता दिने र मानव स्वास्थ्य माथि खेलवाड गर्ने होटल व्यवसायीलाई कानुन बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो ।
यस्ता खालका नियमित बजार अनुगमनले उपभोक्ताको हित संरक्षण, स्वास्थ्य रक्षा, व्यावसायिक वातावरणको प्रवर्द्धनका साथै सेवा र गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको सुवेदीले बताउनुभयो ।
अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले होटलमा रहेका खाद्य बस्तुको ल्याब परिक्षण गर्नुभएको थियो । केही होटलमा खाद्य बस्तुमा प्रयोग गरिने तेल गुणस्तरहिन रहेको पाइएको उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस