पाल्पाका राजनीतिक दलहरूद्वारा सद्भाव, संयम र शान्ति कायम गर्न संयुक्त अपिल

खबर खुराक
१५ साउन २०८३

मिलन विश्वकर्मा
पाल्पा, १५ साउन ।  पाल्पाका प्रमुख राजनीतिक दलहरूले जिल्लाबाहिर हालै घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिकलाई सद्भाव, संयम र शान्ति कायम राख्न संयुक्त अपिल गरेका छन् ।
शुक्रबार जारी गरिएको अपिलमा उक्त घटनाबाट उत्पन्न तनावप्रति दुःख व्यक्त गरेको छ । घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न माग गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले विविधताबीचको एकता नै राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै धर्म, जात, भाषा वा समुदायभन्दा माथि उठेर आपसी सम्मान, सहिष्णुता र सद्भावलाई थप सुदृढ बनाउन आग्रह गरिएको छ ।

संयुक्त अपिलमा कुनै पनि अपुष्ट सूचना, अफवाह वा उत्तेजनात्मक सामग्रीको पछि नलाग्न तथा सामाजिक सञ्जालमार्फत द्वेष फैलाउने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग अनुरोध गरिएको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

राजनीतिक दल, नागरिक समाज, धार्मिक संस्था तथा सञ्चारमाध्यमलाई राष्ट्रिय एकता, शान्ति र सद्भाव प्रवर्द्धनमा साझा पहल गर्न पनि अपिल गरिएको छ। “हामी सबैभन्दा पहिले नेपाली हौँ, मानव हौँ र एकताको सन्देशवाहक हौँ,” भन्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक विश्वासलाई अझ बलियो बनाउन सबैलाई आग्रह गरिएको छ।

उक्त संयुक्त अपिलमा राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सभापति विष्णु प्रसाद भण्डारी, नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ, नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती मगर, नेकपा (माओवादी केन्द्र) पाल्पाका इन्चार्ज यादव बहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुल बहादुर कुँवर र राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले हस्ताक्षर गरेका छन् ।