माइक्रोसफ्ट ब्रान्डका माउस, किबोर्ड र वेबक्याम उत्पादन बन्द हुने

खबर खुराक
१९ वैशाख २०८०

१९ वैशाख ,काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टले माइक्रोसफ्ट ब्रान्डका माउस, किबोर्ड र वेबक्याम उत्पादन बन्द गर्ने भएको छ । आफ्नो सर्फेस ब्रान्डलाई बढी प्राथमिकता दिन कम्पनीले माइक्रोसफ्ट ब्रान्डका कम्प्युटर हार्डवेयरको उत्पादन बन्द गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘द भर्ज’ का अनुसार माइक्रोसफ्टका प्रमुख सञ्चार प्रबन्धक ड्यान लेकक (Dan Laycock) ले कम्पनीको सर्फेस ब्रान्ड अन्तर्गत विन्डो पीसीका उपकरणमा बढि केन्द्रित हुन खोजिरहेको बताएका छन् । एप्पलको आईफोन जस्तै माइक्रोसफ्टले सर्फेस ब्रान्ड सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले सर्फेस ब्रान्डका माउस, किबोर्ड, पेन, डक्स, एडप्टिभ डिभाइसको दायरा विस्तार गर्ने तयारी गरिरहेको छ । यसको अर्थ हो अहिले बजारमा भएका माइक्रोसफ्ट ब्रान्डका माउस, किबोर्ड र वेबक्याम बजारमा सकिएपछि उपलब्ध हुने छैनन् ।

यसअघि माइक्रोसफ्टले किबोर्ड, माउस र वेबक्यामको उत्पादन नै बन्द गर्ने चर्चा चलेको थियो । कम्पनीले आफू सर्फेस ब्रान्डमा केन्द्रित हुन लागेकाले माइक्रोसफ्ट ब्रान्डका कम्प्युटर हार्डवेयर उत्पादन बन्द गर्नुपर्ने उल्लेख गरेपछि यो खबर स्पष्ट भएको हो ।

यसो त माइक्रोसफ्टको सर्फेस ब्रान्ड अन्तर्गतका विभिन्न कम्प्युटर हार्डवेयर डिभाइस अहिले पनि बजारमा उपलब्ध छन् । तर, ती डिभाइसको शुल्क तुलनात्मक रूपमा अन्य ब्रान्डको भन्दा महँगो पर्न जान्छ । उता माइक्रोसफ्ट ब्रान्डका त्यही उपकरणहरू सस्तो पर्न जान्छन् ।

कम्पनीले बजारमा सर्फेस ब्रान्ड मात्र ल्याएपछि अब उप्रान्त सर्फेस ब्रान्डका डिभाइसको शुल्क घट्छ वा त्यही मूल्य कायम राख्छ भन्ने कुरा भने स्पष्ट छैन ।

त्यस्तै कम्पनीले अहिले बजारमा सर्फेस ब्रान्डको वेबक्याम ल्याएको छैन । तर, करिब आठ सय अमेरिकी डलर पर्ने स्मार्ट सर्फेस क्यामेरा भने बजारमा ल्याएको छ । जुन कन्फ्रेन्स रूमका लागि उपयोगी हुन्छ ।

कम्पनीले आफ्नो हार्डवेयर पोर्टफोलियो परिवर्तन गर्न १० हजार रोजगार कटौती गर्ने समाचार बाहिरिएको करिब एक महिनापछि यो समाचार बाहिरिएको छ ।

यसो त पीसीको बजार अहिले खस्किरहेको छ । तेस्रो त्रैमासिकमा माइक्रोसफ्टको सर्फेस ब्रान्डसहित माइक्रोसफ्टका डिभाइसको आम्दानी ३० प्रतिशतले घटेको थियो । पीसी उपकरणको बजार विस्तार गर्न कम्पनीले यो रणनीति अपनाएको विश्लेषण गरिएको छ ।