९ महिनामा घट्यो करिब २ अर्ब बढिले नेपाल टेलिकमको आम्दानी

खबर खुराक
३१ वैशाख २०८१

३१ वैशाख, काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको आम्दानी दुई अर्ब ३७ लाख सात हजार रुपैयाँले घटेको छ । सोमबार सार्वजनिक कम्पनीको वित्तीय प्रतिवेदनमा चालु आर्थिक वर्षको सुरुवाति नौ महिनामै कम्पनीको कूल आम्दानीमा भारी गिरावट देखिएको हो ।

प्रतिवेदन अनुसार चैत मसान्त २०७९ सम्मको नौ महिनामा कम्पनीको कूल आय ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार मात्र रहेको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कूल आम्दानी ३३ अर् ब२० करोड ८५ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

यस हिसाबले चालु आर्थिक वर्षको सुरुवाति नौ महिनामा कम्पनीको कूल आय ५.०३ प्रतिशतले कमी आएको देखिन्छ । मूलतः कम्पनीले ग्राहकलाई सेवा बिक्री गरी प्राप्त हुने आम्दानी नै ओरालो लागेको प्रतिवेदनमा देखिन्छ । गत आवको सुरु नौ महिनामा २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन आय चालु आवको सोही अवधिमा एक अर्ब ८६ करोड ५३ लाख ५८ हजारले कमी आउँदा २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको कूल आम्दानी घटेको भए पनि समग्र रूपमा मुनाफा भने केही मात्रामा बढेको छ । गत आवको सुरु नौ महिनाको दाँजोमा यस आवको सोही अवधिमा कम्पनीको मुनाफा १८ करोड १७ लाख ९३ हजार रुपैयाँले बढेर पाँच अर्ब ५९ करोड ३७ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।