फिङ्गरप्रिन्ट सेन्सरले कसरी गर्छ काम ?

खबर खुराक
१६ वैशाख २०८१ १६:५७

१६ वैशाख, काठमाडौं । लक र पासवर्ड प्रणालीमा निकै सुधार गरिए पनि अझै यी जोखिमपूर्ण छन् । ह्याकरले यिनलाई सजिलै क्र्याक गर्न सक्छन्, जुन सुरक्षाको दृष्टिकोणबाट गम्भीर विषय हो ।

यही कुराको समाधान बायोमेट्रिक अथेन्टिकेसनमा पाउन सकिन्छ । लक र पासवर्डको तुलनामा यी निकै सुरक्षित मानिन्छ । जस्तै; फिङ्गर प्रिन्ट स्क्यानिङ, जुन एक व्यक्तिबाहेक अर्कोसँग मिल्दैन ।

केही अघिसम्म साइन्स फिक्सन (साई-फाई) चलचित्रमा देखिने यो सुरक्षा प्रणाली अहिले स्मार्टफोन, ल्यापटप लगायतका डिभाइसमा पाउन सकिन्छ ।

फिङ्गरप्रिन्ट स्क्यानिङका पनि प्रकार हुन्छन् । अप्टिकल, क्यापासिटिभ​ र अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरका प्रकार हुन् । यी प्रविधिले कसरी काम गर्छन् भन्नेबारे यस लेखमा चर्चा गर्दै छाैं:

अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर

फिङ्गरप्रिन्ट पत्ता लगाउनेमा अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर सबैभन्दा पुरानो प्रविधि हो । यी स्क्यानरले फिङ्गरप्रिन्ट सही तरिकाले रेकर्ड गर्न प्रकाश र तस्वीर कैद गर्ने उपकरण प्रयोग गर्ने गर्छन् ।

यो प्रविधिले औंठाछापको तस्वीर खिच्ने र त्यसलाई डिजिटल रूपमा परिवर्तन गर्ने गर्छ ।

यस प्रकारका फिङ्गरप्रिन्ट स्क्यानर चार्ज्ड कपल्ड डिभाइस (सीसीडी) वा मेटल-अक्साइड सेमीकन्डक्टर (सीएमओएस) जस्ता प्रकाशका लागि संवेदनशील माइक्रोचिपमा निर्भर हुन्छन् । सामान्यतः यी माइक्रोचिपले फिङ्गरप्रिन्टको तस्वीर खिच्न सेन्सरको रूपमा काम गर्ने गर्छन् ।

यिनको काम औंठाछापमा भएका विभिन्न ढाँचाबारे बुझ्नु हो । स्क्यानिङको क्रममा जब ती विभिन्न ढाँचा प्रकाश पर्छ, तिनलाई स्क्यानरले ० र १ को बाइनरी चेनमा परिवर्तन गर्छ । यसरी नै स्क्यानरले प्रत्येक प्रयोगकर्ताको फरक तथा भिन्न डिजिटल की तयार गर्छ ।

सही, भरपर्दो र प्रयोग गर्न सजिलो हुने भएकाले अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानरलाई व्यक्तिगत सुरक्षा प्रणाली र स्मार्टफोन जस्ता प्रविधिमा प्रयोग गर्ने गरिन्छ । तर यदि हुँदा हुँदै पनि अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर कमजोरीबाट मुक्त छैनन् ।

यसको सबैभन्दा नकारात्मक पक्ष नक्कली फिङ्गरप्रिन्ट बनाएर मसिनलाई झुक्याउन सक्नु हो ।

क्यापासिटिभ फिङ्गरप्रिन्ट स्क्यानर

स्मार्टफोनमा क्यापासिटिभ फिङ्गरप्रिन्ट स्क्यानर प्रयोग हुन थालेको लामो समय भइसकेको छ । एप्पलले आईफोन फाइभ एसबाट यो फिङ्गरप्रिन्ट स्क्यानर सुरु गरेको थियो ।

यस प्रकारको स्क्यानरको सतह कन्डक्टिभ मटेरियल (कपर/इन्डियम टिन अक्साइड) बाट बनाइएको हुन्छ । जसलाई कन्डक्टिभ सर्किटसँग नै जोडिएको हुन्छ ।

जब कुनै प्रयोगकर्ताले आफ्नो औंठाछाप स्क्यानरमा लैजान्छ, लगत्तै स्क्यानरले भिन्न खालको इलेक्ट्रिकल प्याटर्न बनाउँछ । त्यही प्याटर्नका आधारमा स्क्यानरले तपाईं हो वा होइन भन्ने निश्चित गर्छ ।

क्यापासिटिभ सेन्सर अलि कम्प्याक्ट हुन्छन्, किनकी यिनीहरूलाई मिल्ने गरी स्मार्टफोन र ल्यापटपहरूमा राख्नुपर्ने हुन्छ । यो अप्टिकल सेन्सरको तुलनामा अलि सुरक्षित पनि हुन्छ ।

नरम अथवा जोडले थिचे पनि यस सेन्सरले काम गर्न सक्छ । तर औंठाछाप धेरै सुक्खा वा ओसिलो भए यस सेन्सरले अलि काम नगर्न सक्छ ।

अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर

फ्रिङ्गरप्रिन्ट स्क्यानिङका लागि नयाँ प्रविधि हो, अल्ट्रासोनिक । त्यो मानेमा यो अपग्रेडेड भर्सन हो । अहिलेका लागि यो प्रविधि अलि महँगो छ । यसमा इन-डिस्प्ले स्क्यानिङ लागू गरिन्छ । अर्थात् प्रयोगकर्ताले स्क्रिनमा थिचेका आधारमा आफ्नो फोनको लक खोल्न सक्छन् । यसले अल्ट्रोसोनोग्राफी सरह काम गर्छ ।

यसले मानव कानले सुन्न नसक्ने ध्वनि तरङ्ग (अल्ट्रासोनिक) पठाएर काम गर्छ । जुन औंठामा ठोक्किन्छ । र त्यसैका आधारमा थ्रीडी नक्सा तयार हुन्छ । सरल भाषामा बुझ्दा यस स्क्यानरले तपाईंको औंठा छापको थ्रीडी म्याप बनाउन इको प्रयोग गर्ने गर्छ । जुन अप्टिकल र क्यापासिटिभ फिङ्गरप्रिन्ट स्क्यानरले गर्न सक्दैनन् ।

त्यस्तै औंठाछाप धेरै सुक्खा वा ओसिलो भए पनि यस प्रकार सेन्सरले काम गर्छ । तर यी सेन्सर तुलनात्मक रूपमा ढिला छन् । साथै माथिका दुई स्क्यानरको तुलनामा महँगा छन् ।

फिङ्गरप्रिन्ट स्क्यानिङमा सफ्टवेयरको भूमिका 

प्रविधिबाहेक फिङ्गरप्रिन्ट स्क्यानिङलाई सफ्टवेयर लगायतका अन्य कुराले प्रभाव पार्छन् । फरक फरक कम्पनीहरूले आफूअनुकुलका फिङ्गरप्रिन्ट आईडेन्टिफिकेसन एल्गोरिदम प्रयोग गर्छन् । जसले गर्दा स्क्यानरलाई चाँडो अथवा सही बनाउने गर्छ ।

स्क्यान गरिएका फिङ्गरप्रिन्ट विश्लेषण गर्न विशेष चीप प्रयोग गरिएको हुन्छ । यसले औंठा चापका विभिन्न भागहरूको पहिचान गर्न एल्गोरिदम प्रयोग गर्ने गर्छ ।

फिङ्गरप्रिन्ट स्क्यानिङ विधिकाका फाइदा-बेफाइदा

हामीले फिङ्गरप्रिन्ट स्क्यानरका तीन प्रकारबारे माथि चर्चा गरिसकेका छौं । यसमा भने ती तिनैको फाइदा-बेफाइदाबारे संक्षिप्तमा चर्चा गर्छौं:

अप्टिकल स्क्यानर  

फाइदा: छिटो, डिस्प्ले स्क्रिन अन्तर्गत काम गर्न सक्ने

बेफाइदा: नक्कली फिङ्गरप्रिन्टबाट झुक्याउन सक्ने

क्यापासिटिभ स्क्यानर

फाइदा: छिटो र सुरक्षित

बेफाइदा: डिस्प्ले स्क्रिन अन्तर्गत काम नगर्ने

अल्ट्रासोनिक स्क्यानर

फाइदा: सुरक्षित, डिस्प्ले स्क्रिन अन्तर्गत काम गर्ने

बेफाइदा: महँगो, अन्य स्क्यानरहरू भन्दा ढिलो

स्मार्टफोनले यसरी स्क्यान गर्छ तपाईँको फिङ्गरप्रिन्ट

अहिलेको अवस्थामा फिङ्गरप्रिन्ट स्क्यानिङमा रहेका मुख्य प्रकार र प्रविधि यी हुन् । यिनका आफ्नै फाइदा/बेफाइदा छन् । केही कमिकमजोरी छन् । आगामी दिनमा ती सुधार हुँदै जानेछन् ।

स्मार्टफोनले तपाईँको फिङ्गरप्रिन्ट अर्थात् औँठा छाप पढ्नका लागि अप्टिकल, क्यापासिटिभ तथा अल्ट्रासोनिक प्रविधिको सहयोग लिन्छ । अप्टिकल फिङ्गरप्रिन्ट रिडरले एउटा विशेष प्रकारको क्यामेरा प्रयोग गर्दछ ।

जसबाट तपाईँको औँठा छापको तस्वीर लिने गर्दछ । यति गरिसकेपछि त्यसले तपाईँको फिङ्गरप्रिन्टको तस्वीर प्रमाणीकरण गर्नका लागि पठाउँछ ।

अगाडि गएर मोबाइलले तपाईँको फिङ्गरप्रिन्टको फोटोलाई एउटा कोडमा परिवर्तन गरिदिन्छ । यद्यपि फिङ्गरप्रिन्टको एउटा राम्रो तस्वीरको सहयोगमा यो सेन्सरलाई सहजै झुक्याउन पनि सकिन्छ ।

त्यसैले यसलाई क्यापासिटिभ स्क्यानरसँग जोडिन्छ । यो प्रविधिले वास्तवमै स्क्रिनमा कुनै फिङ्गरप्रिन्ट छ, अथवा त्यसको तस्वीर मात्र छ भन्ने कुरा पत्ता लगाउने काम गर्दछ ।

क्यापासिटिभ फिङ्गरप्रिन्ट स्क्यानरले ससाना क्यापासिटर ग्रिड प्रयोग गरी विद्युत स्टोर गर्ने काम गर्दछ । तपाईँको फिङ्गरप्रिन्टको लहरले जब क्यापासिटर ग्रिडमा छुन पुग्छ, त्यस दौरान विद्युत डिस्चार्ज हुने गर्छ ।

यस प्रकारले हजारौँ क्यापासिटरको एउटा व्यूह तपाईँको फिङ्गरप्रिन्ट म्याप गर्नका लागि प्रयोगमा ल्याइन्छ । यसका साथै आधुनिक फिङ्गरप्रिन्ट स्क्यान गर्नका लागि अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको सहयोग लिने गरिन्छ ।

यसको प्रयोग बढीजसो मेडिकल क्षेत्रसँग सम्बन्धित काममा हुने गर्दछ । यसमा एउटा खास प्रकारको अल्ट्रासोनिक पल्सलाई तपाईँको फिङ्गरप्रिन्टमा प्रसारण गरिन्छ । त्यसपछि तपाईँको फिङ्गरप्रिन्टबाट प्रतिबिम्बित भएर जुन पल्स आउँछ, त्यसलाई मापन गरिन्छ ।

फोनको फिङ्गरप्रिन्ट सेन्सरले काम गरेन ? यसो गर्नुहोस्

१) सफ्टवेयर अपडेट गर्नुहोस् 

फोनमा बारम्बार अपडेट गर्नुहोस् भनेर आउने नोटिफिकेसनले तपाईँलाई दिक्क बनाएको हुनसक्छ । त्यसैले हामी अपडेट गर्नेबारे आएको नोटिफिकेसन नै बन्द गर्छौं ।

वास्तवमा हामीले अपडेटको नोटिफिकेसन बन्द गरेको र डिभाइस अपडेट नगरेकै कारण फिङ्गरप्रिन्ट सेन्सरले काम गर्न छोडेको हुनसक्छ । सफ्टवेयरमा हुने कमजोरीले गर्दा नै डिभाइसमा विभिन्न कमजोरी आइरहेका हुन्छन् ।

यस्ता कमजोरी समाधान गर्नका लागि नै सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ । फोन अपडेट गर्नका लागि सेटिङ एपमा भएको अबाउट फोन अप्सनमा जानुपर्ने हुन्छ ।

त्यसपछि ‘अपडेट फोन’को अप्सन मा ट्याप गरी अपडेट उपलब्ध भएको अवस्थामा डाउनलोड गरी इन्स्टल गर्न सक्नुहुन्छ । अपडेट इन्स्टल गरिसकेपछि डिभाइस रिस्टार्ट हुन्छ । त्यसपछि तपाईंको डिभाइसको फिङ्गरप्रिन्ट सेन्सरले काम गर्न सक्छ ।

२) कटन स्वाब वा क्युटिप प्रयोग गरेर सफा गर्नुहोस्

अन्डरडिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर भएको अवस्था बाहेक अधिकांश डिभाइसको लक बटन वा पछाडिपट्टि फिङ्गरप्रिन्ट सेन्सर रहेको हुन्छ । त्यसैले सेन्सरमा धुलो परेर, औंलाको फोहोर पसेर वा अन्य कुनै फोहोर पसेर सपोर्ट नगरेको हुनसक्छ ।

त्यसैले कटन स्वाब अथवा क्युटिप (कपास) प्रयोग गरेर सेन्सरलाई सफा गर्न सकिन्छ । विशेषगरी स्क्रिन सफा गर्ने लिक्विड (आइसोप्रोपाइल अल्कोहल) लाई स्वाबमा घसेर सफा गर्दा सेन्सरमा परेको फोहोर हटाउन सकिन्छ । तर, सफा गर्दा पनि विस्तारै पुछ्नुपर्छ ।

अन्यथा जोडले गर्दा सेन्सरमा बढी असर पर्न सक्छ । केही अवस्थामा स्वाबलाई थोरै पानीमा भिजाएर पनि सेन्सर सफा गर्न सकिन्छ । यसरी सेन्सर सफा गरेको अवस्थामा त्यहाँ भएको फोहोर हट्छ अनि फिङ्गरप्रिन्ट स्क्यानर काम गर्न सक्छ ।

३) फिङ्गरप्रिन्ट सेटिङ अन गर्नुहोस्

तपाईंले फोन प्रयोग गर्दा गर्दै सेटिङबाट फिङ्गरप्रिन्ट सेन्सर अफ गर्नु भएको हुनसक्छ । त्यस्तै तपाईंलाई डिभाइस खरिद गर्दा नै त्यसमा फिङ्गरप्रिन्ट चल्छ भनेको हुनसक्छ । तर, तपाईंले ख्याल नगर्नु भएको हुनसक्छ ।

यो भन्नुको मतलब ‍तपाईंको डिभाइसको सेटिङमा फिङ्गरप्रिन्टको अप्सन अफ भएको हुनसक्छ भन्ने हो । त्यस्तोमा तपाईंले तल दिइएको प्रक्रिया अपनाएर डिभाइसमा पुनः फिङ्गरप्रिन्ट अन गर्न सक्नुहुन्छ ।

– सबैभन्दा पहिले डिभाइसको सेटिङ एप खोल्नुहोस् ।

– त्यसपछि बायोमेट्रिक्स एन्ड सेक्युरिटीको अप्सनमा जानुहोस् ।

– अनि, फिङ्गरप्रिन्टको अप्सनमा जानुहोस् ।

– यति गरेपछि एड फिङ्गरप्रिन्टको अप्सनमा ट्याप गरेर फिङ्गरप्रिन्ट एड गर्नुहोस् । यति गर्दा तपाईंको डिभाइस तपाईंको फिङ्गरप्रिन्टले खुल्ने सम्भावना उच्च हुन्छ ।

४) फोन रिस्टार्ट गर्नुहोस्

कहिलेकाही डिभाइसलाई अफ गरेर अन गर्दा केही समस्याको समाधान हुन्छ । विशेषगरी वाई-फाईले काम नगर्दा, एपहरू राम्रोसँग नचल्दा वा फिङ्गरप्रिन्ट सपोर्ट नगरेको अवस्थामा डिभाइस अफ गरेर अन गर्दा तपाईंको समस्या समाधान हुन सक्छ ।

५) सर्भिस सेन्टरमा जानुहोस् 

कतिपय अवस्थामा माथि भनिएका सबै प्रक्रिया अपनाउँदा पनि फिङ्गरप्रिन्ट सेन्सरले काम नगर्न सक्छ । यस्तोमा तपाईंको फिङ्गरप्रिन्ट सेन्सर नै बिग्रेको वा कम सेन्सेटिभ भएको हुनसक्छ ।

केही अवस्थामा सेन्सरमा पानी पस्दा वा कतै खसेको छ भने सेन्सरमा असर परेर पनि सेन्सरले तपाईंको फिङ्गरप्रिन्ट सेन्सर सपोर्ट नभएको हुन्छ । त्यस्तोमा फिङ्गरप्रिन्टकै लागि नयाँ डिभाइस खरिद गर्ने भन्ने पनि हुँदैन ।

त्यसैले यस्तोमा नजिकको मोबाइल मर्मत गर्ने ठाउँमा गएर फिङ्गरप्रिन्ट सेन्सर मर्मत गर्न सकिन्छ । यदि तपाईंको फोनमा वारेन्टी बाँकी नै छ भने सोही डिभाइसको सर्भिस सेन्टरमा जान सक्नुहुन्छ ।

६) आफैं मर्मत गर्नुहोस् (अनुभवी प्रयोगकर्ताका लागि मात्र)

अधिकांश हार्डवेयरसँग सम्बन्धित समस्या जस्तै फिङ्गरप्रिन्ट सेन्सर बिग्रिएको समस्यालाई पनि घरमा आफैंले मर्मत गर्न सकिन्छ ।

तर, कहिल्यै डिभाइस मर्मत नगरेका प्रयोगकर्ताका लागि यस्तो गर्दा थप समस्या उब्जिने जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले तपाईं डिभाइस मर्मत गर्नमा पोख्त हुनुहुन्छ भने डिभाइस खोलेर आफैं जाँच गरी मर्मत गर्न सक्नुहुन्छ ।



प्रतिक्रिया