सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने प्रणाली सञ्चालनमा

खबर खुराक
२ जेठ २०८१

२ जेठ, काठमाडौं । सर्वोच्च अदालतमा पहिलो पटक अनलाइनमार्फत मुद्दा दर्ता गर्ने प्रणाली सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनलाइन मुद्दा दर्ता प्रणालीको सुरुवात गरेका हुन् ।

यससँगै मुद्दा दर्ता प्रक्रिया छिटोछरितो हुने भएको छ । हाललाई यस प्रणालीबाट रिट निवेदन दर्ता गर्न सकिन्छ । कालान्तरमा अन्य मुद्दा दर्ताका काम पनि यही प्रणालीबाट हुने अदालतले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले यो प्रणालीबारे सबैले जानकारी पाउनुपर्ने र यसलाई सफल बनाउन लाग्नुपर्ने बताए । यस प्रणालीले अदालतमा आइरहनु पर्ने बाध्यता हट्ने, न्याय सम्पादन सहज हुने र नेपालका जुनसुकै ठाउँबाट पनि मुद्दा दर्ता गर्न सकिने उनले उल्लेख गरे ।

अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार अनलाइनमार्फत मुद्दा (हाललाई रिट) गर्न युजर आईडी र पासवर्ड चाहिन्छ । ​युजर आईडी बनाएपछि अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने छ । त्यस क्रममा यदि मुद्दा दर्ता नहुने भए, केही सच्याउन अथवा जानकारी थप्न पर्ने भए त्यसको जानकारी कलमार्फत दिइने उनले बताए ।

त्यस्तै आजै अदालतले पेशी तारिखको जानकारी दिने प्रणाली पनि सुरु गरेको छ । यसले कागजी रूपमा पठाइने पेशी तारिखलाई विस्थापित गर्ने बताइएको छ ।