गुगलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने

खबर खुराक
२७ वैशाख २०८०

२७ वैशाख, काठमाडौं । गुगलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने भएको छ । सामसङले फोल्डेबल फोनको बजार लिइरहेको बेला गुगलले ‘पिक्सेल फोल्ड’ सार्वजनिक गर्न लागेकाे हो ।

आगामी मे १० बुधबार हुने ‘गुगल आई/ओ’का दिन फोनबारे थप जानकारी दिने गुगलले बताएको छ । तर अहिले नै उक्त पिक्सेल फोल्ड फोनका धेरै जानकारी बाहिरिन थालेका छन् ।

७२ घण्टासम्म टिक्ने ब्याट्री प्रयोग हुने बताइएको फोनमा ५.८ इन्चको बाहिरी ओलेड डिस्प्ले र ७.६ इन्चको भित्री डिस्प्ले हुनेछ । त्यस्तै फोनमा पिक्सेल सेभेन र सेभेन प्रोमा प्रयोग गरिएको गुगलको आफ्नै टेनसर जी टू चिपसेट प्रयोग हुनेछ भने रिफ्रेस रेट १२० हर्जसम्मकाे हुने चर्चा छ ।

त्यस्तै कालो र सेतो गरी दुई रङमा फाेन उपलब्ध हुनेछ । पानी प्रतिरोधी हुने बताइएको ‘पिक्सेल फाेल्ड’ एन्ड्रोइड १३ मा आधारित हुनेछ भने १२ जीबी र्‍याममा उपलब्ध हुनेछ ।

२५६ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य १८०० डलर (करिब दुई लाख ३६ लाख रुपैयाँ) र ५१२ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य १९२० डलर (करिब दुई लाख ५१ हजार रुपैयाँ) हुने अनुमान छ ।