भारतबाट नेपालमा फोन सम्पर्क गर्दा प्रति मिनेट सात रुपैयाँ मात्र लाग्ने

खबर खुराक
२ जेठ २०८०

२ जेठ, काठमाडौं । भारतबाट नेपाल टेलिकमको सिम प्रयोग गरी नेपालमा सम्पर्क गर्दा अब प्रति मिनेट सात रुपैयाँ मात्र लाग्ने भएको छ ।

यसअघि रोमिङ सेवामार्फत भारतबाट नेपालमा कल गर्दा प्रति मिनेट ३० रुपैयाँ लाग्नेमा यसलाई घटाएर सात रुपैयाँ कायम गर्ने तयारी भइरहेको  छ ।

सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले अबको केही समयमा नयाँ शुल्क लागू हुने बताएका छन् ।

“केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भारत भ्रमणको बेला त्यहाँका नेपालीले उठाएको एउटा माग पूरा भएको छ,” नरेन्द्र केसी लेख्छन्, “अहिले नेपालीहरू रोमिङ सुविधा लिएर भारत जाँदा नेपाल टेलिकमको सिम मार्फत भारतबाट नेपालमा फोन गर्दा प्रति मिनेट ३० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।”

उनी अगाडि लेख्छन्, “लामो गृहकार्यपछि प्रति मिनेट २३ रुपैयाँ घटाएर अब नेपाली सिमबाट भारतबाट नेपालमा फोन गर्दा प्रति मिनेट ७ रुपैयाँ लाग्ने गरी शुल्क निर्धारणको तयारी गरिएको छ । केही दिनपछि यो लागू गरिने छ ।”

यसबाट छोटो समयका लागि भारत जाने नेपालीलाई सुविधा पुग्ने मन्त्रालयको अपेक्षा छ ।

अहिले विशेषगरी औषधि उपचार, व्यापार लगायत छोटो भ्रमणमा गएका नेपालीले भारतीय सिम नपाउने र नेपाली सिममा महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । यही समस्यालाई सम्बोधन गर्दै रोमिङ सेवा शुल्क घटाउने तयारी भइरहेको केसीले उल्लेख गरेका छन् ।