रेडम्याजिकले आफ्नो एट एस प्रो (8s pro) मोडेलको फोनमा २४ जीबी र्‍याम उपलब्ध गराउने

खबर खुराक
१३ असार २०८०

१३ असार, काठमाडौं । मोबाइल निर्माता कम्पनी रेडम्याजिकले छिट्टै आफ्नो एट एस प्रो (8s pro) मोडेलको फोनमा २४ जीबी र्‍याम उपलब्ध गराउने भएको छ । कम्पनीले मंगलबार सामाजिक चिनियाँ सामाजिक सञ्जाल विइबो (Weibo)मा एक पोस्ट राख्दै आफ्नो नयाँ मोडेलको स्मार्टफोनमा २४ जीबी र्‍याम हुने बताएको छ ।

कम्पनीले रेडम्याजिक एट एस प्रोमा उपलब्ध गराउने २४ जीबी र्‍याम भर्चुअल हो वा भौतिक हो भन्नेबारे भने स्पष्ट जानकारी आएको छैन । अहिले विकासकै क्रममा रहेको यो मोडेल आगामी जुलाई ५ मा चिनियाँ बजारमा सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनीबीच र्‍यामलाई लिएर प्रतिस्पर्धा बढ्दो छ । विशेषगरी कम्पनीले आफ्ना हाइ-इन्ड मोडेलहरूमा ८ देखि १६ जीबी र्‍याम उपलब्ध गराइरहेका थिए । तर, यता म्याजिकले भने आफ्नो सेभेन प्रो गेमिङ फोनमा १८ जीबीको र्‍याम उपलब्ध गराएको थियो ।

एन्ड्रोइड अथोरिटीका अनुसार ओप्पो वा वनप्लसमध्ये कसले पहिले २४ जीबी र्‍याम भएको फोन बजारमा ल्याउँछ भन्ने चर्चाबीच रेडम्याजिकले नयाँ मोडलमा २४ जीबी र्‍याम उपलब्ध गराउने घोषणा गरेको हो ।

के स्मार्टफोनका लागि धेरै र्‍याम आवश्यक छ ? 

जति बढी र्‍याम भयो त्यति नै उत्कृष्ट फोन हुन्छ भन्ने मानसिकता आम जनमानसमा छ । तर, वास्तविकतामा मानिसहरूले यसलाई किन प्रयोग गरिन्छ भन्ने नबुझ्दा यस्तो भ्रम भएको हो कि भन्ने आशंका गर्न सकिन्छ ।

यसो त र्‍यामका धेरै फाइदा पनि छन् । विशेषगरी बढी एप एकै पटक मल्टिटास्किङ गर्दा, ब्राउजरमा एकै पटक धेरै ट्याब खोलेर प्रयोग गर्दा वा डिभाइसमा हुने एड्भान्स फिचर प्रयोग गर्न र्‍याम आवश्यक पर्छ ।

आजका दिनमा हेर्ने हो भने मेमोरी व्यवस्थापनमा ब्रान्डहरू उग्र बन्दै गइरहेका छन् । अहिलेका डिभाइसमा हुने १२ जीबीदेखि १६ जीबी पनि आवश्यक भन्दा बढी भएको विज्ञहरूको तर्क छ ।

उनीहरूका अनुसार फोनमा ८ देखि १२ जीबीसम्म र्‍याम हुनुलाई उपयुक्त मानिन्छ । त्यसैले १६ जीबीभन्दा माथिको र्‍यामको त्यति प्रभावकारी मानिँदैन । यदि तपाईंले २४ जीबी र्‍याम भएको फोन प्रयोग गर्नुभयो भने पनि तुलनात्मक रूपमा १२ जीबी र्‍यामभन्दा त्यति भिन्नता पाउनु हुन्न । त्यसैले स्मार्टफोन र्‍याममा भन्दा अन्य फिचरमा बढी केन्द्रित हुनुपर्ने विज्ञहरूको धारणा छ ।