कस्तो छ त आइफोन १६ प्रो म्याक्सको क्यामेरा ?

खबर खुराक
४ साउन २०८०

४ साउन, काठमाडौं । बजारमा आईफोन १५ नआउँदै यसको अर्को संस्करणबारे चर्चा हुन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आईफोन १६ प्रो म्याक्सको फिचरबारे विभिन्न कुरा बाहिरिएको छ ।

चर्चा अनुसार सन् २०२४ को सेप्टेम्बरमा उक्त फोन सार्वजनिक हुनेछ, जसमा ‘सुपर टेलिफोटो’ पेरिस्कोप जुम क्यामेरा हुनेछ । यस प्रकारको क्यामेराको फोकल लेन्थ सामान्यतया ३०० एमएमभन्दा बढी हुन्छ । जुन आईफोन १४ प्रो म्याक्सको जुम गर्नसक्ने क्षमता भन्दा धेरै गुणा शक्तिशाली हुन्छ ।

यसै सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको आईफोन १५ प्रो म्याक्समा समेत पेरिस्कोप जुम क्यामेरा हुने चर्चा चलेको छ । यसको तुलनामा आईफोन १६ प्रो म्याक्सको पेरिस्कोप जुम क्यामेरा अझै स्तरीय हुने बताइएको छ ।

त्यस्तै आईफोन १६ प्रो म्याक्सको मुख्य क्यामेरामा १४ प्रो म्याक्सको भन्दा १२ प्रतिशत ठूलो सेन्सर हुने हल्ला छ । विशेषत: खेलकुद र वन्यजन्तु फोटोग्राफीमा सुपर टेलिफोटो क्यामेराहरू प्रयोग गरिन्छ । साथै ठूलो सेन्सरले प्रकाश कम भएको बेला तस्वीरको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

एप्पलले भने यी हल्लाबारे अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन । तर यी चर्चाबाट एप्पलले आफ्नो आगामी आईफोन मोडेलहरूको क्यामेरामा निकै सुधार गरिरहेको सजिलै बुझ्न भने सकिन्छ