वर्ल्डलिङ्कको इन्टरनेटमा समस्या

खबर खुराक
८ भदौ २०८०

८ भदौ, काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवामा समस्या देखिएको छ  । बिहीबार रातिदेखि कम्पनीको इन्टरनेट सेवा प्रभावित भएको तथा स्पिड निकै स्लो हुन पुगेको गुनासो प्रयोगकर्ताले गर्न थालेका हुन्  ।

वर्ल्डलिङ्कले आफ्नो अपस्ट्रिम सेवा प्रदायकको दुई ओटा फाइबर केबुल काटिएका कारण यस्तो समस्या आएको जनाएको छ । “अहिले हामीले क्यापासिटीको समस्या (क्षमताले इन्टरनेट ट्राफिक धान्न नसक्ने अवस्था) सिर्जना भएको छ,” कम्पनीले भनेको छ, “तपाईंको सेवा केही समयका लागि अस्थायी रूपमा प्रभावित हुन सक्छ ।”

वर्ल्डलिङ्कले सार्वजनिक सूचना प्रकाशित गर्दै यसबाट पुग्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ । “हामी समस्या समाधानका लागि कडाईपूर्वक काममा जुटेका छौं,” कम्पनीले भनेको छ, “चाँडै नै सेवा पुनःस्थापित गर्न लाग्ने अनुमानित समयको विषयमा जानकारी दिने छौं ।”