अपराध

दुई वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा एक युवक प्रकाउ

खबर खुराक
१२ पुष २०८० १६:३५

१२ पुस, काठमाडौँ । गौशालाबाट दुई वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–५ घर भएका राज नेपाल छन् ।

उनले काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट दुई वर्षीय बालिकालाई लिएर गएका हुन् । आरोपीले पठाओमा चढाएर बालिकालाई भक्तपुरस्थित दधिकोटमा लगेर राखेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । रेग्मीले भने– ‘बालिकालाई सकुशल उद्धार गरेर घटनाबारे अनुसन्धान गरिरहेका छौँ ।’

बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् । आरोपीले प्रहरीसँग ती बालिका आफ्नै बच्चा भएको जिकिर गरेका छन् । उनले प्रहरीसँग भनेका छन्–‘चिया पसलेले मेरो छोरी लगेर राखेका थिए, मैले ल्याएको हुँ ।’

अफलाइन पठाओमा चढाएर बालिका लगेको हुनाले प्रहरीले सिसिटिभीको सहायताले अनुसन्धान गरेर उनलाई पक्राउ गर्न सफल भएको छ । आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *