झापामा तातो खोलेमा परी गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु
![झापामा तातो खोलेमा परी गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु](https://khabarkhurak.com/wp-content/uploads/2024/01/414977978_735251908227129_4742560192769135864_n.jpg)
१८ पुस, झापा । झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नं. ५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूकाकाे उपचारको क्रममा मृत्यु भएको हो ।
पाँच दिनअघि घरमै तातो खोलेमा परेको सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि इजि हेल्थ केयर फाउण्डेशनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमाडाैंस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।
बालिकालाई बचाउन हरसम्भवको प्रयास गरिए पनि बचाउन नसकिएको इजि हेल्थ केयर फाउण्डेशनका संरक्षक उज्ज्वलविक्रम थापाले बताउनुभयो ।
झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जलन सम्बन्धित स्थानीय स्तरमा उपचार सम्भव नहुँदा बालिकाको मृत्यु भएको बताउनुभएको छ । बालिकाको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो ।
‘‘सबै स्थानीय तहले जलन उपचार सम्बन्धमा विशेष जनचेतना अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ,’’ सामाजिक सञ्जालमार्फत भन्नुभएको छ । झापामा जलनको सहज उपचारका लागि अस्पतालहरुमा व्यवस्था नरहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस