महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

खबर खुराक
२४ पुष २०८० १०:५५

२४ पुस, महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकास्थित थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भंगहा–५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिकास्थित प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उनीहरूको उपचार भइरहको छ ।

गए राति जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालयनजिकै ठक्कर खाँदा दुवैका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताए ।

बाक्लो हुस्सुका कारण तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकार्कालाई नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात् गम्भीर घाइते दुवै चालकलाई उपचारका निम्ति शुभस्वस्तिक अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *