रामबहादुर बमजनलाई आजै सर्लाही अदालतमा पेस गरिँदै

खबर खुराक
२६ पुष २०८० १०:०५

२६ पुस, काठमाडौं । रामबहादुर बमजन भन्ने रामलाल बमजनलाई प्रहरीले सर्लाही ल्याएको छ । बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले छ ।

विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई बुधवार राति कडा सुरक्षाका बिच सडक मार्ग हुँदै सर्लाही ल्याइएको हो । बमजनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने÷नआउने अनिश्चित भएपछि राति नै सडक मार्ग भएर यहाँ ल्याइएको हो ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ । लामो समयदेखि फरार रहेका बमजनलाई मङ्गलबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले पक्राउ गरेको थियो ।

उनको घरबाट बरामद भएको नगद तथा जिन्सी र बमजनको जीवनशैली अपत्यारिलो छ । बमजनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बमजनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । प्रहरीले बमजन फरार रहेको भनी मुद्दा चलाएको र उनलाई अदालतमा हाजिर गराएपछि इजलास समक्ष प्रस्तुत गरिने श्रेस्तेदार अधिकारीले बताउनुभएको छ ।

प्रहरीले मुद्दाको मिसिल बुझाइसकेकाले थुनछेक बहस तत्कालै सुरु हुने सर्लाही जिल्ला अदालतले जनाएको छ । बमजन सर्लाहीको चुरे भेगमा पर्ने लाल बन्दी नगरपालिका–१२, पत्थरकोट स्याङ्बो डाँडास्थित आश्रममा पनि केही वर्ष बसेका थिए ।

स्थानीयका अनुसार बमजनको आश्रम अहिले सुनसान छ । कहिलेकाहीँ केही अनुयायी आउजाउ गर्ने गर्छन् । बमजनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सर्लाही प्रहरीले पत्थर कोटमा रहेको सो आश्रममा पटक–पटक छापा मारेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *