रैनादेवी छहरामा प्रहरीको सार्वजनिक सुनुवाइ

खबर संसार
१० माघ २०८० ८:२८

मिलन विश्वकर्मा
पाल्पा, १० माघ । जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा रैनादेवी छहरामा सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रण, दैविक प्रकोप तथा विपद व्यवस्थापन, हराएका महिला, वृद्ध, बालबालिका खोजतलास तथा  उध्दार लगायत प्रहरी सेवाको सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञाशाहरूको जवाफ दिंदै उहाँले प्रहरी थप उत्तरदायी भई कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । चौकीहरूमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अझ बढी सक्रियता देखाई जनधनको सुरक्षामा प्रतिवद्ध रहन शर्माले निर्देशन दिनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागंत भट्टराईले समाजमा घटना घट्नुका मुख्य कारण सचेतनाको कमी भएको बताउनुभयो । समुदायमा अपराधिक घटना रोकथाम गर्न प्रहरी र समुदाय मिलेर काम गर्नु पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले प्रहरीका काम कारबाही तथा सुधार गर्नुपर्ने पक्षहररूमा जिज्ञाशा राख्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ट नायब निरीक्षक राजकुमार चापागाईको पनि उपस्थिति रहेको थियो ।

प्रहरी प्रमुख हेरम्ब शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, सर्वसाधारण, पत्रकार लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूसहित करिब ६० जनाको सहभागिता  रहेको थियो ।

प्रहरी निरीक्षक श्रीराम भट्टले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

 



प्रतिक्रिया