मुगुमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

खबर खुराक
२२ माघ २०८०

 २२ माघ, मुगु ।  मुगुको खत्याड गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका-२ गाँडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार राति एक बजेतिर भएको आगलागीमा परी उहाँका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

मृत्यु भएका दुई बालबालिकासँगै आमा सरस्वती पनि सुतेकी थिइन् । सरस्वती आगोबाट बच्न सफल भएपनि उनी बेहोस छिन् भने दुई छोराछोरी आगोको लपेटमा परेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । उहाँले एक हल गोरु र दुई गाई पनि जलेर मरेका छन् ।

आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी चौकी श्रीकोट मुगुबाट खटिएका प्रहरी टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि सोमबार बिहान मात्रै आगो पूर्णरुपमा नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।

यस्तै, स्थानीयका अनुसार कच्ची घरमा काठ थुपारेर राखेकोले आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो । सरस्वतीका श्रीमान् लाले रोजगारीको सिलसिलामा भारतमा छन्।