एमाले पाल्पाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम तानसेनमा सुरु

खबर संसार
२३ माघ २०८० १७:२५

मिलन विश्वकर्मा
पाल्पा, २३ माघ । नेकपा एमाले पाल्पाको आयोजनामा मंगलबारदेखि तानसेनमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताउनुभएको छ । पुरानो सोंचका आधारमा नेता बन्न सक्ने अवस्था छैन्। समयअनुसार अपडेट हुनेगरी आफ्नो क्षमताको विकास गर्न उहाँले सुझाउनुभयो ।मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी एमाले हो। पार्टीसँगै नेता पनि आधुनिक हुनुपर्छ। सामाजिक सञ्जाल, अनलाइनबारे जानकार हुनुपर्छ। अध्ययनशील हुनुपर्ने उहाँले बताउनुभयो । पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको छ । यीनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउन थालेका छन् । अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेका उहाँले बताउनुभयो । समय सापेक्ष बन्न नसके अब जनताले विश्वास नगर्ने ज्ञवालीले बताउनुभयो ।फरक पार्टी, भिन्न भिन्न धारबाट एमाले पार्टीमा आएकाहरू नेता तथा कार्यकर्तामा एक रुपता ल्याउन समेत प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो । यो अभियानले पार्टी अझै स्पातिलो भएर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज बैजनाथ चौधरी, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य सिर्जना काफ्ले लगायतको उपस्थिति रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्लाका करिब सय बढी नेताको सहभागिता रहेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सहजीकरण गर्ने एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो ।



प्रतिक्रिया