साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत

खबर खुराक
२८ माघ २०८० १४:२१

२८ माघ, काठमाडौं । साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएकी छन् ।

ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्‍याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ भने सरकारी वकिलले आरोपी गोरखा स्थायी घर भइ काठमाडौं बस्दै आएका ३५ वर्षीय गोपीराज गुरुङविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।

घटना २३ चैत २०७९ को हो । आरोपी फेला नपरेपछि प्रहरीले गुरुङलाई फरार प्रतिवादीका रुपमा अभियोग अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

के हो घटना ?

प्रहरीका अनुसार, राति ९ बजेतिर पीडित नाबालिग साथीको जन्मदिन मनाउन भन्दै ठमेल पुगेकी थिइन् । त्यही क्रममा उनले मादक पदार्थ समेत सेवन गरेकी थिइन् ।

‘केही समयपछि साथी फोन आएर एक घन्टाका लागि भन्दै बाहिर निस्किएकी थिइन्, त्यसबेलासम्म तिमी यहीँ बसेर खानपिन गर्नु भनेकी थिइन्’, पीडितले भनेकी छन्, ‘त्यसपछि म साथीको भेना पछि नाम थाहा भएका गोपीराज गुरुङसहित अन्य ४ जना साथीहरुसँग बसेको थिएँ ।’
तर, दुई घन्टासम्म पनि साथी नफर्किएपछि त्यहाँ बस्न आफूलाई उचित नलागेको पीडितले भनेकी छन् ।

‘मैले निस्किन लाग्दा उनले तिमीलाई म घरसम्म पुर्‍याइदिन्छु चिन्ता नगर्नु भनेका थिए, त्यसपछि विश्वासमा गरेर म रेष्टुरेन्टमै बसिरहेको थिएँ’, उनले भनेकी छन्, ‘राति १२ः३० बजेतिर उहाँको गाडी चढेर सबै निस्किएका थियौं, ३ जना साथीहरु झरेपछि मलाई दिदीको घरमा झारी दिनु भन्दा उनले मानेनन् ।’

पीडितका अनुसार, ‘राति यति बेला भइसक्यो, तिम्रो घरमा नजाउ, म लजमा लगेर राख्छु दुई वटा कोठा लिउँला, एउटा कोठामा तिमी बसौली’ भनेका थिए । त्यसपछि रात पनि परेको र मापसे समेत गरेकाले आफूले हुन्छ भनेको उनले बताएकी छन् ।

त्यसक्रममा गुरुङले ३०६ नम्बर कोठा देखाएर ‘तिमी त्यहीँ सुत्ने’ हो भनेको उनले बताएकी छन् । पीडितका अनुसार, आफू भने अर्को कोठामा बस्ने उनले बताएका थिए ।
तर, राति साढे २ बजेतिर कोठामा आएर उनले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी छन् ।

त्यसक्रममा आफूले लात्ती र मुक्का हानेर प्रतिवाद गर्ने प्रयास गरेपनि बल प्रयोग गरेर जबरजस्ती करणी गरेको उनले भनेकी छन् ।

आफूले प्रहरी र आफन्तलाई खबर गर्छु भन्दा उनले ‘तिमीलाई कति पैसा चाहिन्छ दिन्छु भन्दै लोभ देखाएको’ उनले भनेकी छन् । त्यसपछि आफू होटलबाट भागेको र डेरा कोठा बस्दा चिनेको एक जना दिदीलाई घटनाबारे बताएको उनले भनेकी छन् ।

त्यसपछि उनले आफ्नो दाइलाई समेत घटनाबारे जानकारी गराएकी थिइन् ।



प्रतिक्रिया