रेडियो मदनपोखराले रजत जयन्ती मनाउँदै

खबर संसार
५ फागुन २०८० ७:३१

पाल्पा, ५ फागुन । सामुदायिक रेडियो मदनपोखराले २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउने भएको छ ।

एक महिनासम्म विविध कार्यक्रम गरी रजत जयन्ती मनाउन लागेको हो ।

शुक्रबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झपेन्द्र जिसीले विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने तयारी भइरहेको बताउनुभयो ।

आजीवन सदस्यहरूको भेला हुनेछ । करिब ५०० जना आजीवन सदस्य छन् । लोकतान्त्रिक संस्कार र संस्कृति निर्माणमा संचारको भूमिका सम्बन्धि माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । अशक्त असहायलाई
भोजनदान गर्ने, नेपाली समाजको सभ्यता र संस्कृती सम्बन्धि बहस कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो।

स्थानीय संस्कृती संरक्षण गर्ने उद्देश्यले विभिन्न  लोकधुन बाजा बजाएर रेडियोबाट प्रत्यक्ष प्रशारण गरिनेछ । जिसीका अनुसार गाउँगाउँबाट आएका सहभागीले पन्चेबाजा, धिमे बाजा, ख्याली भजन, सोरठी, फागु, पातबाट विभिन्न धुन बजाउने, बाँसुरी, मुरली बजाउने कार्यक्रम रहेको छ ।

यसैगरी पुनर्मिलन, रक्तदान, रजत स्मारक निर्माण र स्थापना बोली स्मारिका र पात्रो प्रकाशन, विभिन्न कालखण्डका तस्वीर र भिडियो प्रदर्शनी गरिने उहाँले बताउनुभयो ।

आगामी चैत ३० गते भव्य समारोहसहित रेडियोको रजत जयन्ती मनाइने छ ।

सामुदायिक रेडियो मदनपोखरा दक्षिण एसियाकै पहिलो ग्रामिण सामुदायिक रेडियोको रुपमा परिचित छ। यो रेडियो संचालनबारे २०५२ सालमा बहस थालिएको थियो। २०५५ पुस १८ गते लाइसेन्स प्राप्त गर्न सफल भएको रेडियो २०५६ सालमा प्रसारण भएको सचिव राजेश कुमार अर्यालले बताउनुभयो । समुदायले संचालन गरेको रेडियो भएको हुँदा यसको मुनाफा सामुदायिक हितमा खर्चिने गरेको उनले बताउनुभयो ।

भविष्यमा रेडियो कस्तो हुने र रेडियोको भविष्य के हुने भन्ने बहस चलिरहेको छ । तर यो रेडियोलाई जीवन्त राख्नका लागि स्रोताको चाहनालाई ध्यानमा राखेर थप परिमार्जित कार्यक्रम प्रशारण गरिने स्टेशन म्यानेजर गुणाकर अर्यालले बताउनुभयो ।

यो रेडियो स्टेसन तानसेन नगरपालिकाको वडा नम्बर ८ मदनपोखरा गाउँमा रहेको छ ।



प्रतिक्रिया