पाल्पामा १७ हजार बढी बालबालिकालाई दादुरा–रूबेलाको खोप लगाइँदै

खबर संसार
७ फागुन २०८० ७:५१

मिलन विश्वकर्मा

पाल्पा, ७ फागुन । पाल्पामा १७ हजार बढी बालबालिकालाई दादुरा–रूबेलाको खोप लगाइने भएको छ ।

यही फागुन १३ गतेदेखि खोप अभियान सुरु हुनेछ। जिल्लाभरिका १७ हजार ८४५ बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले बताउनुभयो । ९ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई यो खोप लगाइने छ ।

आइतबार तानसेनमा आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा उहाँले दुइ चरणमा खोप अभियान सञ्चालन हुने बताउनुभयो ।

पहिलो चरणमा यही फागुन १३ देखि १७ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ, माथागढी र बगनासकाली गाउँपालिकामा खोप लगाइने छ ।

दोस्रो चरणअन्तर्गत फागुन २१ देखि २७ सम्म खोप लगाइने भएको छ। रामपुर नगरपालिका, रम्भा गाउँपालिका, पूर्वखोला र निस्दी गाउँपालिकामा दोस्रो चरणमा खोप लगाउने कार्यक्रम रहेको डाक्टर गिरीले बताउनुभयो ।

२७९ ठाउँमा खोप केन्द्र निर्धारण गरिएको छ। २८० खोप कार्यकर्ता र ५६० स्वयमसेवक परिचालन हुने उहाँले बताउनुभयो ।

जिल्ला स्तरीय योजना तर्जुमा गर्ने काम सम्पन्न भएको छ । खोप कार्यकर्तालाई तालिम र स्वयमसेवकलाई अभिमुखिकरण गर्ने काम भइरहेको छ ।

पाल्पामा अहिलेसम्म दादुरा–रूबेलाका बिरामी फेला नपरेको प्रमुख गिरीले बताउनुभयो ।

यो खोपले दादुरा–रूबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी रोगबाट संक्रमण हुनसक्ने संभावनालाई न्यूनीकरण गर्छ ।  ५ वर्ष मुनिका बालबालिकाहरूको नियमित खोपको अवस्था पहिचान गरेर छुट नियमित खोपको माा लगाउन सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

 



प्रतिक्रिया