एसइईका लागि छ वटा परीक्षा केन्द्र सिफारिस

खबर खुराक
२१ फागुन २०८० १०:५२

२१ फागुन, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई ) सञ्चालनमा लागि जिल्लाबाट छ वटा परीक्षा केन्द्रहरू सिफारिस गरिएको छ ।

जिल्लामा गठित परीक्षा समन्वय समितिको बैठकले उक्त एसइई परीक्षा सञ्चालनमा लागि जिल्लाबाट छ वटा परीक्षा केन्द्र सिफारिस गरिएको हो।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले समितिले जिल्लाका २८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि जिल्लाभर छ वटा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र सञ्चालनका लागि सिफारिस गर्ने निर्णय गरेको बताउनुभयो ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सो सिफारिस गर्ने निर्णय गरेको हो ।

यसरी एसइई परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र सिफारिस गरिएका विद्यालयहरूमा सिमकोट गाउँपालिकाका मानसरोवर र बालमन्दिर मावि छन् भने सर्केगार्ड गाउँपालिकाका लागि हिमज्योति मावि र कोट मावि रोडिकोट छन् ।

त्यसैगरि चङ्खेली गाउँपालिकाका लागि महादेव मावि दार्म, अदानचुली गाउँपालिकाका लागि सूर्योदय मावि श्रीनगर र ताँजाकोट गाउँपालिकाका लागि मदानादेव मावि छन् ।

नाम्खा र खार्पुनाथ गाउँपालिकामा मावि भएर पनि परीक्षा केन्द्र तोकिएको छैन ।

सीता माविलाई परीक्षा केन्द्र तोक्न माग 

समितिले पाँच वटा माध्यमिक विद्यालय भएको खार्पुनाथ गाउँपालिका– ४ को सीता माविलाई पनि परीक्षा केन्द्र तोक्न राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुर र प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतलाई माग गरिएको प्रमुख खत्रीले बताउनुभयो ।

खार्पुनाथमा सीता, मान्धारा, हुम्ला, शङ्कर र मालिका मावि छन् । यी विद्यालयमा अध्ययनरत विद्यार्थीले सदरमुकाम सिमकोटका दुई वटा माविमा रहेका परीक्षा केन्द्रमा परीक्षामा सहभागिता जनाउँदै आउनुभएको छ ।

मावि धेरै भएर पनि हालसम्म एउटा पनि परीक्षा केन्द्र नतोकिएका कारण केही समय अगाडि खार्पुनाथ गाउँपालिकाको बैठकबाट परीक्षा केन्द्र तोक्नका लागि माग गरिएको थियो । एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुँदैछ ।



प्रतिक्रिया