एसइईमा मोबाइलको प्रयोग गर्ने विद्यार्थी निष्कासित

खबरखुराक
२२ चैत २०८० १६:१६

२२ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोर्ने खोटाङमा तीन जना विद्यार्थीलाई निष्कासन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि परीक्षा केन्द्रमा मोबाइलसहित भेटिएका तीन जना विद्यार्थीलाई परीक्षाबाट निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइ खोटाङले जनाएको छ ।

एकाइका निमित्त प्रमुख नन्दबहादुर विश्वकर्माको टोली बिहीबार परीक्षाको अनुगमन गर्न पुग्दा विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो । मोबाइलमा मेसेन्जर ग्रुप बनाएर चिट चोरिरहेको भेटिएपछि तत्काल तीन जना विद्यार्थीको बिहीबारको परीक्षा रद्द गरिएको निमित्त प्रमुख विश्वकर्माले बताउनुभयो । उक्त तीन जना विद्यार्थी रहेको २ वटै कक्षाका निरीक्षकलाई हटाइएको छ ।

एउटा कोठमा एक जना सरस्वती मावि पाथेका र अर्को कोठामा कालिका मावि खार्मीका दुई जना विद्यार्थीसँग मोबाइल भेटिएको थियो । उक्त दुई कोठाका निरीक्षक हरिप्रसाद भट्टराई र सुमना दाहाललाई तत्काल हटाइएको एकाइ  निमित्त प्रमुख विश्वकर्माले बताउनुभयो ।

बिहीबार ऐच्छिक प्रथम (अर्थशास्त्र) को परीक्षा सञ्चालन भइरहँदा खार्मीका विद्यार्थीले फेसबुक मेसेन्जरमा “इकोनोमिक्स ग्रुप” नामको समूह निर्माण गरिएको भेटिएको छ । उक्त समूहमा विद्यार्थीले प्रश्न पठाउने र कालिका मावि खार्मीका प्रधानाध्यापक प्रकाश राईले बाहिरबाट उत्तर पठाइदिएको पाइएको विश्वकर्माले बताउनुभयो ।

सरस्वती माविका विद्यार्थीको मोबाइलमा “क्लास टेन स्टुटेण्ड” नामक मेसेन्जर समूहबाट पश्नपत्र पठाउने र उत्तर आउने गरेको थियो । उक्त समूहमा कसले उत्तर पठाएको भन्ने खुल्न बाँकी रहेको विश्वकर्माको भनाइ छ ।



प्रतिक्रिया