एमाले पाल्पा क्षेत्र नम्बर २ को बैठक सम्पन्न
मिलन विश्वकर्मा
पाल्पा, ३ कात्तिक । नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटी प्रतिनिधि सभा क्षेत्र २ पाल्पाको प्रथम विस्तारित बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले पोलिटव्यूरो सदस्य ठाकुर गैरेले विगतमा भएका कमजोरी पहिचान गर्ने र आगामी दिनमा सच्याएर पार्टी अगाडि बढ्ने बताउनुभयो । राम्रो कामको पनि जनतासमक्ष पुग्ने गरी प्रचारप्रसार गर्नुपर्छ । नेता तथा कार्यकर्ताले आफैंमा आत्मसमिक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । जनताको गुनासो र समस्यालाई एकिन गरेर काम गर्न सकियो भने पार्टी झन बलियो हुने उहाँले बताउनुभयो । सदस्यता नवीकरणको बारेमा निर्णयलाई कार्यान्वयन गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो । तर छलफल र बहस भने भइरहने र सदस्यता शुल्क फेरबदल हुनसक्छ । अर्को निर्णय नहुँदासम्म पहिलाको निर्णय कार्यान्वयन गर्न गैरेले बताउनुभयो । जनताको हरेक दुख सुखमा जोडिएर काम गर्न उहाँले आग्रह गर्नुभयो । पछिल्लो समयमा पाल्पको विकासका लागि बजेट बढ्दै गएको छ । आगामी दिनमा पनि पाल्पाको विकासको लागि आफूले केन्द्रमा अझै पहल गर्ने पाल्पा क्षेत्र नम्बर २ का संसदसमेत रहेका नेता गैरेले प्रतिबद्धता गर्नुभयो ।
बैठकमा विशिष्ट अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले यो निर्वाचन क्षेत्रको पार्टी गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने बारे कार्ययोजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । सदस्यता नवीकरण गर्ने काम लाजमर्दो रहेको उहाँले बताउनुभयो । जिम्मेवारीपूर्वक काम गर्ने निर्देशन दिनुभयो । तीन दिन भित्र नवीकरणको काम सक्न निर्देशन दिनुभयो । टोल कमिटी बनाएर पार्टी गतिविधि संचालन गर्नुपर्ने बताउनुभयो । जनसंगठनलाई चलायमान गराउनुपर्नेमा जोड दिनुभयो । रचनात्मक गतिविधिले पार्टीलाई बलियो बनाउछ । अब एक पालिकामा ५० जना युवालाई पार्टी गतिविधिमा जोड्नुपर्ने अध्यक्ष कँडेलले बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुलप्रसाद नेपालले सदस्यता नवीकरण समयमा पार्टी भित्र अनुशासन कायम गर्नुपर्ने बताउनुभयो । जनताले चिरकालसम्म सम्झने गरी काम गर्न पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिलाई सुझाव दिनुभयो । एमालेको सरकारले बेरोजगारीलाई अन्त्य गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । हल्लाको पछि लाग्नु हुँदैन । वास्तविक बुझेर प्रचारप्रसार गर्न उहाँले आग्रह गर्नुभयो ।
बैठकमा नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले यस क्षेत्र भित्रका पार्टीको काम गर्नुपर्ने बताउनुभयो । समयमै पार्टी सदस्यता नवीकरणको काम सक्नुपर्ने उहाँले बताउनुभयो । पालिका कमिटी, वडा कमिटीको भेला तथा अधिवेशन कात्तिक महिना भित्र गर्नुपर्ने र टोल भेला मंसिरभित्र गर्नुपर्ने उहाँले बताउनुभयो । आगामी पुस र माघ महिनामा पालिका र वडाको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुपर्ने, फागुन र चैतमा पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता थप गर्नुपर्ने, बैशाख र जेठ महिनामा विकास निर्माणका योजना बनाउने र जनप्रतिनिधि र कार्यकर्ताबीचको समन्वयमा काम गर्ने, असारमा समीक्षा बैठक सम्पन्न गर्ने लगायतका कार्ययोजनाबारे अध्यक्ष घर्तीमगरले जानकारी गराउनुभयो । विकास निर्माणका काममा समेत सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । पार्टीको कामसँगै विकास निर्माणमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
प्रदेश संसद इन्द्राकुमारी गहतराजले प्रदेशमा स्थिर सरकार बनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको सरकारले राम्रो काम गर्ने बताउनुभयो ।


एमाले क्षेत्रीय संयोजक चिरञ्जीवी पोखरेलको अध्यक्षतामा भएको बैठकमा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका पालिका कमिटीका अध्यक्षहरूले रिपोर्ट गरेका थिए ।
जिल्ला कमिटी सदस्य नवीन थापाले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला सदस्य हरि पाठकले संचालन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस