वडा प्रहरी कार्यालय वालिङद्वारा कालीगण्डकीमा नागरिक सुनुवाइ
मिलन विश्वकर्मा
पाल्पा, ९ कात्तिक । वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाको आयोजनामा कालीगण्डकी गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिका अध्यक्ष खीमबहादुर थापाले कालीगण्डकी भित्रका सबै विद्यालयमा कुनै पनि घटना तथा अपराध न्यूनीकरण गर्ने खालका कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
´विशेषगरी विद्यालयमा यो कार्यक्रम लागु गरिनेछ । यहाँका सामुदायिक विद्यालय विहान ९:५० बजे खोल्ने व्यवस्था गरेका छौं` उहाँले भन्नुभयो ´यो समयमा अपराध न्यूनीकरण कसरी गर्ने, सामाजिक संस्कारलगायतका अतिरिक्त ज्ञान बारेमा पढाइने छ।` प्रहरीको सहायतामा विभिन्न घटना, अपराध नियन्त्रण तथा लागूऔषध नियन्त्रण सम्बन्धी विद्यालयमा पढाइने छ।हप्तामा एक दिन एउटा विद्यालयमा पढाउन प्रहरीलाई अनुरोध गर्नुभयो ।
कालीगण्डकी गाउँपालिकामा अन्य जिल्लामा आवतजावत हुने धेरै नाका छन् । यहाँका नागरिकको सुरक्षाका लागि सबै नाकामा सिसी क्यामेरा राख्ने बताउनुभयो । क्यामेराको गाउँपालिकाले निगरानी गर्ने छ । घरेलु मदिरा ब्राण्डिङ गर्नका लागि सरकारले नीति बनाउनुपर्छ । लागूऔषध दुर्व्यसनी गाउँपालिकामा जटिल बन्दै गएको छ। घरपरिवार सचेत हुनुपर्छ । माया गर्ने होइन। लागूऔषध दुर्व्यसनीमा फसेका व्यक्तिलाई सुधार्ने हो । यसको रोकथामका लागि सबै एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।आत्महत्या न्यूनीकरण गर्ने प्रयास भइरहेको छ । गाउँपालिका यहाँ युवालाई रोजगार सिर्जना गर्नेगरी काम गरिरहेको अध्यक्ष थापाले बताउनुभयो ।
वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक बसन्त पाठकले समुदाय र प्रहरीबीचको साझेदारी समाज शान्ति कायम गर्न सकिने बताउनुभयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
समाज घट्ने कुनै घटना नियन्त्रण गर्न प्रहरीले मात्रै संभव नभएको उहाँले बताउनुभयो । ´जनताको पनि सहयोग आवश्यक पर्छ । जनता सचेत हुनुपर्छ` उहाँले भन्नुभयो ´घटनाबारे समयमै सूचना दिन अनुरोध गर्दछु ।` मिर्मीमा प्रहरी पोष्ट स्थापन गर्न आफूले पहल गर्ने उनले बताए।
कार्यक्रममा सहभागी दुर्गा भट्टराई र ज्ञानप्रसाद भट्टराईले चोरी डकैतीका घटना बढेको बताउनुभयो । मोटरसाइकलको पेट्रोल र पार्टपुर्जा नै चोरी हुने गरेको उहाँले गुनासो गर्नुभयो ।
ध्रुवज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरा बहादुर गाहाले ट्राफिक जरिवाना तिर्नका लागि डिजिटल पेमेण्टको तत्काल कार्यान्वयन गर्न सुझाव दिनुभयो ।
प्रहरीमा जनशक्ति कमी हुँदा समयमा घटनास्थल पुग्न ढिलाइ हुने गरेको पदमप्रसाद पाण्डेले बताउनुभयो ।
गणेश पाण्डेले आत्महत्या गरेकाको शव बोक्ने व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो ।
शिक्षक कमल न्यौपाने सामाजिक संजालबाट अपराधलाई नियन्त्रण गर्न कडा कानुन ल्याउनुपर्ने बताउनुभयो ।
नारायण प्रसाद भट्टराईले जनताको सुरक्षार्थ खटिने प्रहरीलाई गाडीको प्रयाप्त व्यवस्था हुनुपर्ने बताउनुभयो ।
वडा नम्बर ४ का वडाध्यक्ष यादवप्रसाद पाण्डे (सुन्दर) ले कालीगण्डकी अस्पतालमा पोष्टमार्टम गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
शिक्षक केशर क्षेत्रीले कतिपय युवा कुलतमा फसेका छन् । युवालाई सामाजिक सचेतना जगाउने खालका कार्यक्रम प्रत्येक विद्यालयमा संचालन गर्नुपर्ने बताउनुभयो ।
जुवातास नियन्त्रण गर्न शिक्षिका सुमित्रा खड्का क्षेत्रीले भन्नुभयो ।
समीर थापाले रेस्टुरेन्ट ९ बजे बन्द गर्नुपर्ने बताउनुभयो ।
राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको कार्यक्रममा प्रहरी निरीक्षक सुरजबाबु विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।




प्रतिक्रिया दिनुहोस