दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, १७९ जनाको मृत्यु, २ जनाको उद्धार

खबर खुराक
१४ पुष २०८१

१४ पुस, काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।

विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।

दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।

उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन । तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।


धेरै पढिएको