हरिकलाको जीवनयात्रा
४ मंसिर, २०८२ । हरिकला कुमाल सामाजिक अभियन्ता हुन् । राजनीतिमा उनको सामान्य चासो छ । वन,वातावरण र जैविक विविधता संरक्षण क्षेत्रमा उनको रुचि अपार छ ।
हरिकला,सात दिदीबहिनी मध्येकी ठूल्कान्छी हुन् ।
पाल्पा,तिनाउको दोभान माविबाट २०६६ सालमा एसएलसी गरेपछि दोभान,नुवाकोट नजिकैको गाउँ खेतखोलाका प्रेम कुमालसँग अन्तर्जातीय प्रेमविवाह गरे ।
विहे गरेको दुई वर्षसम्म घरधन्दा र बुहार्तनका कारण पढ्न सकिनन् । २०७१ सालमा नेपाली र स्वास्थ्य मूल विषय लिई दोभान माविबाटै कक्षा १२ उत्तीर्ण गरेपछि उनको मनमा हौशला जाग्यो । आँट पलायो तर टाढाको क्याम्पस, सन्तानको हेरविचार र घरव्यवहारले उच्चशिक्षा पढ्ने धोकोलाई उनले मनमा पोको पारिन् ।
छोरो आयुषले १४ वर्ष पुग्दै गर्दा बुटवलको कान्ति माविमा कक्षा ८ पढ्दैछन् । नौ वर्षकी छोरी अनुष्काले दोभान माविको अङ्ग्रेजीमाध्यममा कक्षा तीनमा पढ्दैछिन् ।

सन्तानको सुख र परिवारको मायालाइ मनमा कसेर प्रेम यतिबेला बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका छन् । हुन त हरिकला र प्रेम मिलेर गाउँमै आधुनिक बंगुरपालन गरि परिवारसँगै बस्ने रहर बुनेका थिए तर बंगुरपालन उद्यमले उँभो नलगाएपछि प्रेमले पुनः बैदेशिक यात्रामा पाईला चाले ।
यतिबेला हरिकला घरमा सासु र सन्तानहरुसँगै बस्छन् । दुहुनो भैंसी पालेकी छिन् । धूमभरि कुखुरा छन् । बेमौसमी तरकारी फलाएकी छिन् । यी सबै उत्पादन बेच्न उनी नुवाकोटका होटलहरु पुग्छिन् । घाँसपात गर्छिन् । सन्तानका पढाईमा सहयोग पुराउँछिन् । बुढी सासुको स्याहारसुसार र हेरविचार गर्छिन् ।
नुवाकोटमा रहेको नुवाकोट महिला समूह र बेवरेचिउरीगौंडा सामुदायिक वन उपभोक्ता समुहकी सचिव हुन् । तिनाउमा रहेका वनहरुको छाता संगठन सामुदायिक वन समन्वय समितिकी कार्यसमिति सदस्य छिन् । नेपाल उद्यान महासंघकी केन्द्रीय सदस्य समेत हुन् । तिनाउ–२,महिला सञ्जालकी अध्यक्ष समेत बनेकी उनले सामाजिक कार्य गर्न समयको उचित व्यवस्थापन गर्छिन् ।
घरधन्दा र नानीबाबुलाई स्कुल पुराएपछि उनी तिनाउ साना किसान कृषि सहकारीले दोभानमा सञ्चालन गरेको कृषि केन्द्रको प्रोमोटरका रुपमा यही वर्षको जेठदेखि जागिरे छिन् । दिनभर त्यही काम गर्छिन् ।
हुन त उनले रेडक्रस सोसाइटी पाल्पाले तिनाउ गाउँपालिकामा सञ्चालन गरेको खानेपानी तथा सरसफाइ स्वच्छता परियोजनामा दुई वर्ष सामाजिक परिचालकका रुपमा काम गरिन् । तिनाउ रेडक्रस शाखामा कोरोनाकालमा कोरोनाबाट बच्न सकिने सामग्रीहरु बितरण गर्ने काममा सहयोगी भूमिका निर्वाह गरिन् ।
त्यसपछि परिवर्तनका लागि कार्यरत महिला समूह ( वाच) नामक संस्थाको सामाजिक परिचालकका रुपमा तिनाउ गाउँपालिकाभित्र दुई वर्ष सेवारत् थिईन् ।
फुर्सद कुन चरिको नाम हो हरिकलालाई थाहा छैन । सरर स्कुटी चढेको देख्नेहरुले उनलाई सुखी नै देख्छन् । तर,उनको कठिन परिश्रम, जीविकोपार्जनका लागि गरिएका अभ्यास र प्रयास अनुभव गर्ने कि उनै आफै छिन् कि उनका घरवरिवार ।
नरम बोली,मिलनसार व्यवहार र हाँसेर बोल्ने उनका बानीले सबैलाई मोहित तुलाएको छ ।
देशमा जति दुःख गरेपनि नपुगेको ठानेर एकपटक बैदेशिक रोजगारीका लागि उड्ने सपना बुनेर पासपोर्ट समेत बनाएकी थिईन् तर श्रीमान् प्रेमको प्रेमपूर्ण अनुरोधमा घरमै बसेर परिवारको सेवा गर्न राजी भईन् र यतिबेला हरिकला यतै गाउँतिर छिन् ।
खुसी हुन् टिकटक बनाउँछिन् । नृत्य गर्छिन् र दुःख बिसाउँछिन् । संघर्षपूर्ण जीवनका सारथि हरिकलाबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस