दमकडा माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह हस्तान्तरण

खबर खुराक
२९ मंसिर २०८२

मिलन विश्वकर्मा
मंसिर २९, पाल्पा । तानसेन नगरपालिका–९ मदनपोखरास्थित दमकडा माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ) लोगो प्राप्त गरेको छ ।

सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय मानकीकरण संगठन आइएसओले लोगो हस्तान्तरण गरेको हो ।

ग्लोबल क्वालिटी काउन्सिल नेपालका कन्ट्री म्यानेजर सुदीप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्याल र प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई अन्तर्रास्ट्रिय गुणस्तर चिन्ह हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रयास भइरहेको भन्दै लोगो हस्तान्तरण गरेको शर्माले बताउनुभयो । सम्झौता गरेको ६ महिनामा निश्चित मापदण्ड पूरा गरेपछि लोगो हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

विद्यालयलाई सुविधा सम्पन्न गराउनुपर्ने छ । सबैको पहुँचमा विद्यालय हुनुपर्नेछ । आधुनिक प्रविधियुक्त हुनुपर्नेछ । यस लोगो प्राप्त गर्न सम्बन्धित विद्यालयले निश्चित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

अन्तर्रास्ट्रियस्तरमा विद्यालयको पहिचान बनाउन दमकडा मावि सफल भएको उहाँले बताउनुभयो । विद्यालयले अन्तर्रास्ट्रिय गुणस्तर प्रमाणीकरण गर्ने अभियानमा अगाडि बढेको छ ।

सम्झौता भएअनुसार प्रारम्भिक मापदण्ड २० प्रतिशत पूरा गरिसेको हुँदा लोगो हस्तान्तरण गरेको शर्माले बताउनुभयो । विद्यालयले हालसम्म ३० प्रतिशत मापदण्ड पूरा गरिसकेको छ । बाँकी मापदण्ड तीन वर्षभित्र पूरा गर्नुपर्ने हुन्छ  सबै मापदण्ड पूरा गर्न सके अन्तर्राष्ट्रिस्तरमा प्रमाणीकरण हुने र प्रमाणपत्र प्राप्त गर्ने म्यानेजर शर्माले बताउनुभयो ।

आइएसओ मापदण्डअनुसार शैक्षिक गुणस्तर वातावरण व्यवस्थापन गर्नुपर्ने छ। विश्वभर एउटै खालको गुणस्तर कायम गर्न आइएसओ मानक बनाएर अभियान थालिएको हो ।

दमकडा माध्यमिक विद्यालयले अहिलेसम्म ५१ वटा मापदण्ड पूरा गरेको छ। सबैभन्दा पहिला विद्यालयको नक्सा बनाइएको छ ।

गेटबाट भित्र प्रवेश गर्दा अभिभावकले आफ्नो बच्चा कुन कोठामा छन् भन्ने कुरा थाहा पाइसक्छन् । गेटमा ठूलो बोर्डमा भवन र कक्षा कोठाबारे स्पष्ट जानकारी राखिएको छ ।

अभिभावक विश्राम गर्ने कक्ष निर्माण भएको छ । त्यहाँ बसेर उनिहरूले अध्ययन गर्न पनि पाउनेछन् । जसले गर्दा विद्यालय र अभिभावकलाई जोड्ने काम गर्दछ। सरसफाई हुनुपर्छ । धुलोरहित विद्यालय हुनुपर्छ । अहिले विद्याल पूर्णरुपमा सफा रहेको विद्यालयका शिक्षक तथा आइएसओ प्रतिनिधि जीवन आचार्यले बताउनुभयो । भौतिक सम्पत्ति कति छ । कहाँ छ ? भन्नेबारे सबैले सजिलै देख्नेगरी राखिएको छ । सम्पूर्ण विद्यार्थीलाई बिहान गेटमा स्वागत गर्छौं। चार बजे विदाई गर्छौं ।
स्वागत गर्दा विद्यार्थीको समस्या के छ ? भनेर सोधिन्छ । गेटमा सर म्याडमले स्वागत गर्दै उनीहरूको समस्या सोधखोज गर्छन् ।  समस्या समाधानका लागि प्रारम्भिक थालनी त्यहीँबाट गरिने आचार्यले बताउनुभयो । समस्यामा भएका बालबालिकालाई छुट्टै कोठमा राखेर सोध्छौं र समाधान गर्नेछौं ।

विद्यालयमा अन्तर्रास्ट्रिय गुणस्तर बनाउने प्रयासमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । शिक्षक, अभिभावक र विद्यार्थी र विद्यालयका शुभचिन्तकबीच सहकार्य गरेर अन्तर्रास्ट्रिय संस्थाका रुपमा प्रमाणित गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।समयसापेक्ष शैक्षिक अभ्यासको सुरुवाती गरिएको छ । कक्षा कोठाको व्यवस्थापन गरिएको छ । भौतिक संरचना निर्माण भइसकेका छन् । बाँकी सूचक तीन वर्ष भित्र नै पूरा गरेर प्रमाणपत्र लिने अर्यालले बताउनुभयो ।

अब प्रत्येक विद्यार्थीको घरघरमा पुगेर उनीहरूको अवस्थाबारे जानकारी लिइने विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो । पारिवारिक विवरण संकलन गर्ने र अवस्था हेरेर सम्बन्धित विद्यार्थीको शिक्षालाई गुणस्तर बनाउनका लागि उपाय अवलम्बन गरिनेछ । २० जना विद्यार्थीका लागि एक जना शिक्षक खटाइने छ । बिहान बेलुका ती शिक्षकले घरमा पुगेर विद्यार्थीका अवस्थाबारे विवरण लिने उहाँले बताउनुभयो । बालबालिकाको लागि शिक्षकले गर्नुपर्ने बारे सुझाव पनि लिइनेछ ।

अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा विद्यालयलाई विकास गर्ने लक्ष्य रहेको छ। यहाँ अध्ययनरत विद्यार्थीलाई पढाईपश्चात जुन देशमा पुगेर पनि घुलमिल हुन सजिलो हुने सापकोटाले बताउनुभयो ।

कक्षा ९ मा अध्ययनतर छात्रा ओजस्वी आचार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार विद्यालयमा भएका गतिविधिले आफूहरूलाई शैक्षिक तथा अतिरिक्त ज्ञान र संस्कार सिक्ने मौका मिलेको बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले आइएसओ कार्यक्रमले परम्परागत विद्यालयलाई आधुनिक बनाउने बताउनुभयो । नगरपालिकाले यस अभियानमा आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।
दमकडा माध्यमिक विद्यालय जिल्लामा आइएसओ लोगो प्राप्त गर्ने पहिलो विद्यालय बनेको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख काशिका ज्ञवाली गैरे दमकडा माध्यमिक विद्यालयले अरू शैक्षिक संस्थाभन्दा अगाडि बढ्दै गुणस्तर वृद्धि अभियानको थालनी गरेको बताउनुभयो ।

माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले यसको सफलताले समग्र शैक्षिक क्षेत्रलाई सकारात्मक सन्देश दिएको बताउनुभयो ।

आइएसओ मापदण्ड पूरा गरेपछि विद्यालयलाई जेनेभाले प्रमाणपत्र दिनेछ ।

दमकडा माध्यमिक विद्यायलमा करिब १ हजार विद्यार्थी अध्ययनरत छन् । ६० बढी शिक्षक कर्मचारी रहेका विद्यालयले जनाएको छ ।