अहिलेको सरकार गरिब मारा हो, धेरै समय टिक्दैन : प्रदीप ज्ञवाली
मिलन विश्वकर्मा
पाल्पा, १० वैशाख । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले अहिलेको सरकार गरिब मारा भएको बताउनुभएको छ ।
नेकपा एमाले पाल्पाको आयोजनामा बिहिबार तानसेनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी अभियानमा जनतालाई बाँडेको सपनाभन्दा बाहिर गएर गतिविधि गरिरहेको बताउनुभयो । जनतालाई भ्रममा नपार्न उनले चुनौती दिनुभयो ।
सुकुम्बासी बस्तीमा डोजर लगाएर उठिबास लगाउन खोजिरहेको छ। सामान्य परिवारको नागरिकसँग सय रुपैयाँको सामग्रीको पनि भन्सारमा कर लिने निर्णयले गरिब मारा भएको पुष्टि गरेको उहाँले बताउनुभयो । रास्वपा नेतृत्वको सरकारले गरिबमारा आर्थिक नीति लिएर अगाडि बढेको उहाँले बताउनुभयो ।
विद्यार्थी संगठन, ट्रेड युनियन खारेज गर्ने सरकारको नीति अवैधानिक भएको उहाँले बताउनुभयो । मिडियालाई विज्ञापन दिन रोक लगाउनु गलत हो । हुर्किन लागेका विरुवालाई पानी नदिएपछि सुकेर जान्छ । लोकतन्त्र आएलगत्तै सबल बन्न लागेका मिडियालाई स्रोत नै रोकेर सरकारले अपराध गरेको नेता ज्ञवालीले बताउनुभयो । मिडिया बन्द गरेर अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने रणनीतिमा रहेको उनले बताउनुभयो । तत्काल निर्णय फिर्ता लिएर नागरिकलाई सूचना पाउने अधिकार सुनिश्चित गर्न ज्ञवालीले माग गर्नुभयो ।
सामान्य, गरिब, अशिक्षित, विपन्न जनताले अहिलेको सरकारको रबैया बुझ्दै गएका छन् । जनताले बुझेपछि सरकारको विरुद्ध अर्को आन्दोलन हुन्छ। अहिलेको सरकार टिक्दैन । रास्वपा पार्टी ५ वर्ष सग्लो नरहने ज्ञवालीले दाबी गर्नुभयो ।
जे सपना बाँडिएको थियो । अहिले त्यो भन्दा फरक काम गरिरहेको छ। भ्रम टुट्दै जान्छ। जनताले विरोध गर्नेछन्। फेरि स्थापित पार्टीलाई नै खोज्ने छन् भन्दै धैर्य रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
जेनजीहरू क्रमशः बाहिरिँदै गएका छन् । आन्दोलन हाइज्याक भएपछि उनीहरू निराश बनेका हुन् । जेनजीले फेरि अर्को विकल्प खोज्न सक्ने समेत बताउनुभयो ।
गत फागुन २१ गते भएको निर्वाचनबाट पार्टीलाई ठूलो धका लागेको उहाँले बताउनुभयो । यो अवस्था आउँछ भन्ने अपेक्षा गरेका थिएनौं । लोकतन्त्रको विश्वास गरेर एमाले निर्वाचनमा सहभागी भएको उहाँले बताउनुभयो । इतिहासमै सबैभन्दा प्रतिकुल परिणाम प्राप्त भएको उहाँले बताउनुभयो ।
पार्टीको आन्तरिक कमजोरी र बाह्य शक्तिको कारण यस खालको परिणाम व्यहोर्नुपरेको छ । जनता र पार्टीबीच फराकिलो ग्याप रह्यो । जनतालाई विश्वास दिलाउन सकेनौं। अब तलदेखि नै समीक्षा गरेर पार्टी अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
पार्टी पुनर्गठन गर्नुपर्ने बताउनुभयो । व्यक्ति परिवर्तन मात्र होइन । आवश्यक नीति, विचार, सिद्धान्त, संगठन पनि समय सापेक्ष पुनर्गठन र पुनर्निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
पार्टी बलियो भए हामी बलियो हुन्छौं। अहिले एक हुनुपर्छ । वैदेशिक हस्तक्षेप भनेर एकांकी समीक्षा गर्नु हुँदैन् । आन्तरिक पार्टीको पनि समीक्षा हुनुपर्ने उनको भनाई थियो ।
३० वर्ष मुनिका युवा हामीसंग नजिक भएनन् । उनीहरूलाई साथमा लिन चुनौती छ । माथिल्लो पुस्ताले मत परिवर्तन गरेका छन् । यस्तो अवस्थामा पार्टीलाई पुनर्गठन गर्न आवश्यक रहेको नेता ज्ञवालीले बताउनुभयो ।
अहिलेको अवस्थामा बाम एकता हुँदैन । एकताको छलफल नै नचलेको बताउनुभयो । नेकपाका संयोजक प्रचण्ड संकटमा परेका छन् । एकताको हल्ला चलाएर त्यो संकट यता सार्न कोसिस गरेको उहाँले बताउनुभयो । एमाले पहिला आफ्नो घर बनाउने अभियानमा लागेको नेता ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला तथा स्थानीय स्तरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको एमाले पाल्पाका उपसचिव दीपक विश्वकर्माले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस