पाँच प्रदेशमा राती सम्म वर्षाको सम्भावना

मौसम खराब हुँदा लुक्ला र फाप्लुको उडान अवरुद्ध

खबर खुराक
२० फागुन २०८० १६:२०

२० फागुन , काठमाडौं । मौसम खराब हुँदा लुक्ला र फाप्लुको उडान अवरुद्ध भएको छ । शनिबारदेखि मौसम खराब हुँदा सोलुखुम्बुको लुक्ला र फाप्लु विमानस्थलमा उडान र अवतरण हुन नसकेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन सकेको छैन ।

विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको उहाँले बताउनुभयो । उडान नहुँदा पर्यटक अलपत्र परेका छन् । मौसममा सुधार भएपछि मात्र उडान र अवतरण हुनेछ ।

अहिले कोशी र मधेश प्रदेश बाहेकका सबै प्रदेशमा सामान्य वर्षा भइरहेको छ।  मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले कोशी र मधेश प्रदेश बाहेकका पाँच प्रदेशमा सामान्य वर्षा भएको हो । यी दुई प्रदेशको मौसम भने आंशिकदेखि पूर्णतया बदली भएको छ ।

मौसमविद् मानन्धरका अनुसार पाँच प्रदेशमा रातिसम्म सामान्य वर्षाको सम्भावना रहेको छ । उहाँले भन्नुभयो, “यो क्रम रातिसम्म नै चल्ने छ । ” उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको उहाँको भनाइ छ। उहाँका अनुसार सोमबार बिहानबाट भने मौसममा क्रमशः सुधार हुँदै जानेछ ।

मौसमविद् मानन्धरका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी मनाङमा रेकर्ड भएको छ । मनाङ जिल्लाको गोगामा ४०.४ मिलिमिटर वर्षा रेकर्ड भएको हो ।



प्रतिक्रिया