राष्ट्रिय युवा संघ पाल्पाको बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

खबर खुराक
२५ असोज २०८०

पाल्पा, २५ असोज । राष्ट्रिय युवा संघ नेपाल, पाल्पाको बैठक बिहिबार तानसेनमा सम्पन्न भएको छ ।

सोही अवसरमा नेपालीहरूको महान चाड विजया दशमी, शुभ दिपावली, छठ, नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले युवाको पक्षमा काम गर्ने पार्टी एमाले भएको बताउनुभयो । युवालाई पार्टीका हरेक गतिविधिमा जोड्ने गरी योजना बनाएर अगाडि बढेको उहाँले बताउनुभयो । मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएपनि आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्ति बाँकी छ । यी सबै क्रान्ति एमालेको नेतृत्वले सम्पन्न गर्नुपर्ने परिस्थिति छ । जतिबेला युवाकै साथ चाहिने र क्रान्ति सम्पन्न भएपछि युवाले मुलुक हाँक्ने अवस्था सिर्जना हुने घिमिरेले बताउनुभयो ।

संघीय संसद तथा पार्टीका निवर्तनमान जिल्ला अध्यक्ष नारायण आचार्यले अझै पनि आन्दोलन बाँकी नै भएको बताउनुभयो । हरेक आन्दोलन युवाकै सहयोगले सफल भएको छ । लोकतन्त्र र अहिलेको व्यवस्थालाई बलीयो बनाउँदा युवा नेपालमै स्थापित हुने अवस्था आउने छ । निराश भएर विदेशतिर नजान उहाँले सुझाव दिनुभयो । युवाले पहिले आफूलाई बुझ्नुपर्छ । समाज र देशको बारेमा बुझेर अगाडि बढेपछि एकदि सफलता हात पर्ने उहाँले बताउनुभयो ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा युवा फाँट इन्चार्ज तुलबहादुर अधिकारीले हरेक युवा राजनीति, सामाजिक कामसँगै उत्पादनमा जोडिन आवश्यक रहेको बताउनुभयो ।

प्रदेश कमिटी सदस्य नारायणी शर्मा घिमिरे र टीकाबहादुर थापाले मुलुकको विकास गर्ने पार्टी एमाले भएको हुँदा युवाले साथ दिनुपर्ने बेला आएको बताउनुभयो ।

एमाले पाल्पाका सचिव रामजी पोखरेल र उपसचिव दीपक विश्वकर्माले आगामी निर्वाचनमा पाल्पाका सबै क्षेत्र, प्रदेश र स्थानीय तहमा एमाले पार्टीले जित्नेगरी अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

अनेरास्ववियूका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज शेषकान्त पोखरेलले विद्यार्थी र युवाका संगठन सक्रिय बनाएर अगाडि बढाउने तर्फ पार्टीले ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकले आगामी कात्तिक महिनाको १५ भित्र जिल्ला भित्रका दश वटै स्थानीय तहमा युवासंघको भेला, अधिवेशन तथा बैठक सम्पन्न गर्ने निर्णय गरेका युवा संघ पाल्पाका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । उहाँकाअनुसार प्रदेश अधिवेशनको व्यापक तयारी जुट्ने बैठकले निर्णय गरेको छ । साथै बैठकले पाल्पाबाट प्रदेश कमिटीमा निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना दिएको छ ।

युवा संघ पाल्पाका उपाध्यक्ष कृष्ण कार्कीले स्वागत गर्नुभएको कार्यक्रममा सचिव विजय रानाभाटले संचालन गर्नुभएको थियो ।