अनेम संघ पाल्पाको १२ औं जिल्ला सम्मेलन जारी
मिलन विश्वकर्मा,
पाल्पा, २३ जेठ । अखिल नेपाल महिला संघ पाल्पाको १२औं जिल्ला सम्मेलन शनिबार तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि अनेम संघका केन्द्रीय अध्यक्ष टुका भद्र हमालले पन्चायतदेखि अहिलेसम्मका आन्दोलनमा महिलाले अहम भूमिका खेलेको बताउनुभयो । देशलाई अहिले अप्ठ्यारो परेको छ । देश अप्ठ्यारो परेका बेला महिलाले सतिसाल भएर साथ दिन्छन् ।अहिले निदाएर बस्ने बेला छैन । राजनीतिक आन्दोलन खुम्चिएको छ ।देशको सीमा मिचिएको छ । देशलाई संकटबाट बचाउन महिलाले साथ दिने बेला आएको उहाँले बताउनुभयो । निराशालाई हटाएर पार्टीलाई उठाउन आवश्यक छ । व्यक्तिगत स्वार्थभन्दा मुलुक, जनता र पार्टीको हितमा काम गर्न हमालले निर्देशन दिनुभयो ।
अनेम केन्द्रीय सदस्य विना ज्ञवाली महिला सक्रिय भएर अधिकारका निम्ति निरन्तर लडिरहनुपर्ने बताउनुभयो । संविधानले दिएको समानुपातिक अधिकारको प्रभावकारी कार्यान्वयनका लागि खबरदारी गर्नुपर्ने बताउनुभयो । ३३ होइन ४० प्रतिशत महिलाको सहभागिता चाहिने उहाँले बताउनुभयो । अधिकार रक्षाका लागि महिला एक भएर अगाडि बढ्नुपर्छ । महिलामा भएको पुरषुवदी सोचलाई अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज नारायण आचार्यले हरेक आन्दोलनमा अनेम संघको निकै ठूलो भूमिका रहेको बताउनुभयो । अहिले पनि पार्टी गतिविधिमा कुनै द्विविधा छैन । निर्भिकताका साथ पार्टीको काममा लाग्न सुझाव दिनुभयो । महिलालाई अधिकार दिलाउने काम एमाले र अनेम संघले गरेको छ । राष्ट्रियताको पक्षमा काम गर्दा एमालेलाई घेराबन्दी भएको छ । सामाजिक तथा आर्थिक विकास र विकास निर्माणका काम एमालेको नेतृत्वमा बनेको सरकारले गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती मगर, प्रदेश कमिटी उपसचिव तथा लुम्बिनी प्रदेश महिला इन्चार्ज लीला राना लगायतले शुभकामना दिनुभएको थियो ।
अनेम संघ पाल्पाका अध्यक्ष मीना जिसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सुशीला लोहनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उपाध्यक्ष ईश्वरी खनालले स्वागत गर्नुभएको कार्यक्रममा संघका सहसचिव इन्द्रा चिदीले संचालन गर्नुभएको थियो ।
अध्यक्ष मीना जिसीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने मीना जिसीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस