बङ्गलादेशको ढाकास्थित १ रेस्टुरेन्टमा आगलागी हुँदा ४३ जनाको मृत्यु

खबर खुराक
१८ फागुन २०८० १४:२३

१८ फागुन, ढाका ।  बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गर्नुभएको छ ।

उहाँका अनुसार ३३ जनाको शव ढाका मेडिकल कलेज अस्पतालमा र १० जनाको शव ढाकास्थित शेख हसिना नेसनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा ल्याइएको छ ।

ढाकास्थित फायर सर्भिस एण्ड सिभिल डिफेन्स हेडक्वाटरका इन्स्पेक्टर अनवारुल इस्लामले सिन्ह्वासँग कुरा गर्दै ४२ जना अचेत अवस्थामा रहेका करिब ७५ जनालाई ‘ग्रिन कोजी कटेज सपिङ मल’ बाट उद्धार गरिएको र उनीहरुलाई विभिन्न अस्पतालमा लगिएको बताउनुभएको छ ।

इस्लामका अनुसार उद्धारकर्मीले घटनास्थलमा काम गरिरहेका छन् । राति ९ः३० बजेतिर आगलागी भएको सूचना पाएपछि दमकल पठाइएको उहाँले बताउनुभयो ।

स्थानीय समयअनुसार बिहीबार राति ११ः३० बजे १२ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

अधिकारीका अनुसार साततले भवनमा एउटा रेस्टुरेन्ट, एउटा आउटलेट र अन्य थुप्रै पसल छन् ।

नाम उल्लेख नगर्ने शर्तमा अग्नि नियन्त्रकका अर्का एक अधिकारीले आगलागीमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभएको छ ।

शुक्रबार बिहानै आएको टिभी रिपोर्ट अनुसार भवनको केही भागमा शुक्रबार बिहान समाचार तयार पार्दासम्म आगलागी पूर्ण नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण तत्काल खुल्न सकेको छैन ।  रासस/सिन्ह्वा



प्रतिक्रिया