लेख

के ज्ञानले सत्ताको चाकरी गर्नैपर्छ ?

खबर खुराक
१८ जेठ २०८१ १४:३८

केशव दाहाल

वैशाख अन्तिम सातातिर अमेरिकामा केही शौक्षिक र प्राज्ञिक व्यक्तित्वसँग भेटघाट गर्ने अवसर मिल्यो । कोही प्राध्यापक थिए, कोही पीएचडी स्कलर । प्रसंगहरूमा विश्वविद्यालय, ज्ञान र विद्धताको कुरा आउने नै भए । कतिपयसँग विषयगत संवाद गरियो । कतिपयको भाषण सुनियो । र, केही विश्वविद्यालयलाई स–शरीर (र, अनलाइन) अवलोकन गरियो । नेपालमा विश्वविद्यालयभित्र चरम राजनीतिक हस्तक्षेप देखेको म, यता ज्ञानको स्वायत्तता देख्दा मन लोभिएर आयो । मनमा प्रश्न उठ्यो– ज्ञान र सत्ताको के साइनो छ ? यो लेख त्यही प्रश्नको वरिपरि केन्द्रित छ ।

संसारका सबै प्राणीमाथि शासन गर्न मान्छेले कसरी सक्यो होला ? प्राणी जगत्मा मान्छे सर्वश्रेष्ठ कसरी भयो होला ? किनभने, शरीरमा मान्छेभन्दा ठूला अनेक प्राणी छन् । बलमा मान्छेभन्दा बलिया अनेक प्राणी छन् । अनेक प्राणीसँग यस्तो विष छ, जो मात्र एक थोपाले मान्छेलाई सिध्याउन सक्छ । मान्छेभन्दा छिटो कुद्न सक्ने अनेक प्राणी छन् यो

जगत्मा, जो हावाझैं तेज दौडन सक्छन् । मान्छेभन्दा मजाले उड्न सक्ने अनेक प्राणी छन् यो लोकमा, जो गगनमा कावा खाँदै सयौं माइल उड्न सक्छन् । तर ती सबैलाई मान्छेले उछिन्यो कसरी र कज्यायो कसरी ? त्यो यसकारण सम्भव भयो कि मान्छेसँग ज्ञान आर्जन गर्ने, अनुभवलाई ग्रहण गर्ने र सिक्ने शक्ति छ । मान्छेले संसारका रहस्यहरू पर्गेल्न सक्छ । मान्छे विज्ञान बुझ्न सक्छ र आविष्कार गर्न सक्छ । मान्छेमात्र यस्तो प्राणी हो, जोसँग इतिहासको अवलोकन गर्ने र भविष्यलाई हेर्ने क्षमता छ । ऊ वर्तमानका सुख र दुःखको गहिरो सम्बोधन गर्न सक्छ । उसका ज्ञान चक्षुले ब्रह्माण्डको सूक्ष्म अवलोकन गर्न सक्छन् । मान्छेसँग वस्तु, विचार र विवेकको विवेचना गर्ने सीप छ । अर्थात्, मान्छे ज्ञानको साधना गर्छ । त्यसैले मान्छे विशेष छ र सबै प्राणीभन्दा माथि छ ।

के मान्छेले सजिलै यो सत्ता प्राप्त गरेको हो ? होइन । मान्छेको ज्ञान आर्जन गर्ने सिलसिला हजारौं वर्षदेखि चलिआएको थियो र चलिरहेको छ । थोपाथोपा ज्ञानको संग्रहबाट मान्छेले ज्ञानको समुद्र निर्माण गरेको हो र त्यो ज्ञानगंगा निरन्तर चलायमान छ । प्रारम्भमा मान्छेले संसार देख्यो र सोच्न थाल्यो होला कि यो संसार कसरी बन्यो ? धर्ती, आकाश, चन्द्र र सूर्य कसरी बने ? समुद्र कसरी बन्यो, बादल कसरी बन्यो ? अवश्य नै, प्रारम्भमा मान्छेले जीवन र जगत्का रहस्यलाई आफ्नै पाराले विवेचना गर्‍यो होला । किनभने त्यो बेला मान्छेसँग सुविचारित सिद्धान्त थिएनन् । स्वभावतः त्यो बेला वस्तु र चेतनाको सम्बन्धलाई हेर्ने मान्छेको ऐतिहासिक र परिपक्व दृष्टिकोण थिएन । जब मानव सभ्यतामा राज्यका प्रारूपहरू देखापरे, तब मान्छेले यो लोकको राज्यसत्तालाई, परलोकको ईश्वरीय सत्तासँग जोड्यो र भन्यो– सबै कुरा अलौकिक र ईश्वरीय खटनपटनबाट निर्देशित छ । यसरी, राज्यसत्ताले धर्मसत्ताको आविष्कार गर्‍यो । त्यसको औचित्य स्थापित गर्न दर्शन, ज्ञान, तर्क र सिद्धान्तहरू बनाइए । आफ्नो औचित्य पुष्टि गर्न सत्तालाई शास्त्र, कथा र सूत्रहरू चाहियो । स्तोत्र र ग्रन्थहरू लेखिए । मिथहरू रचना भए । मन्दिर, चर्च र मस्जिदहरू खुले । बिस्तारै चर्च, मन्दिर र मस्जिदले स्कुल खोले । फेरि स्कुलले चर्च, मन्दिर र मस्जिदलाई बलियो बनाउँदै लगे । यसरी राज्यसत्ता, ज्ञान र धर्मको सम्बन्ध अगाडि बढ्दै गयो ।

तर ज्ञानमाथि ईश्वर, धर्म र राज्यसत्ताको रजगज धेरै चलेन । बिस्तारै, ज्ञानको सत्तालाई धार्मिक सत्ताबाट स्वतन्त्र गर्ने प्रयत्न सुरु भयो । अर्थात्, ज्ञानले धर्मको सीमा भत्कायो र सत्यको स्वतन्त्र अन्वेषण सुरु भयो । त्यो प्रक्रियाबाट औपचारिक र स्वतन्त्र विद्यालय/विश्वविद्यालय खोल्ने क्रम सुरु भयो । १२ औं शताब्दी आसपासबाट युरोपमा विश्वविद्यालयहरू खुल्न थाले । बेलायतमा अक्सफोर्ड र क्याम्ब्रिज जस्ता विश्वविद्यालय खुले । सत्यको परीक्षण हुन थाल्यो । तथ्यको महत्त्व बढेर गयो । विज्ञानले प्रधानता पाउन थाल्यो । अंकहरू ज्ञानका महत्त्वपूर्ण आधार बने । मान्छेले विश्वब्रह्माण्डको हिसाब गर्न जान्यो । दर्शनहरू बने । र, विश्वविद्यालयहरू परम्परागत सत्तासँग जोरी खोज्ने महत्त्वपूर्ण साधन बने । अर्थात्, विश्वविद्यालय धार्मिक र शासकीय सत्ताको चाकरीबाट मुक्त भए । यी बौद्धिक स्वतन्त्रता, चिन्तन र अन्वेषणको केन्द्र बन्न थाले ।

जब विश्वविद्यालयहरू स्वतन्त्र भए, संसार ज्ञान र चिन्तनको नयाँ युगमा प्रवेश गर्‍यो । अलौकिक शक्तिको त्रास देखाएर सत्ता चलाउनेमाथि लौकिक जगत्ले प्रश्नहरू उठायो । ईश्वरको अस्तित्वलाई देखाएर सत्ता चलाउनेहरूमाथि ज्ञानले कोर्रा हान्न थाल्यो । सत्य प्रबल हुँदै गयो । विज्ञान बलियो हुँदै गयो । मानवता शक्तिशाली हुँदै गयो । र, त्यही ज्ञानले नयाँ र लोकतान्त्रिक युगको आह्वान गर्‍यो । अर्थात्, विश्वविद्यालयको मूलढोकाबाट ज्ञानको नयाँ प्रकाश प्रज्वलित भयो र त्यसले सारा विश्वलाई आलोकित गर्‍यो । संसारमा ठूलाठूला आन्दोलन भए । पृथ्वीको जुन भागमा ज्ञानसत्ता प्रबल बन्यो, त्यो भाग विकसित भयो । जुन भागमा ज्ञानसत्तामाथि राज्यसत्ताको नियन्त्रण जारी रह्यो, त्यहाँ विकास धीमा भयो । मानवशक्ति, मानव चेतना र मानव सभ्यताको यही रहस्य नै विकास र समृद्धिको मुख्य रहस्य हो ।

ज्ञानको संकुचन

हाम्रा मान्छेहरू कहिलेकाहीँ भन्छन्– पूर्वीय ज्ञान परम्परा पश्चिमको भन्दा समृद्ध छ । मलाई लाग्छ, यहाँ समृद्ध शब्दको प्रयोग ठीक छैन । किनभने दुवै ज्ञान परम्पराका आफ्नै अलग विशेषता थिए । त्यसैले भन्नुपर्ने हुन्छ, पश्चिमको ज्ञान परम्परा र पूर्वीय ज्ञान परम्परा अलग थियो । जस्तो, हाम्रो ज्ञान परम्परामा गुरुकुल महत्त्वपूर्ण थिए । तर विश्वविद्यालय भने पश्चिमा अवधारणा हो । यता कुनै बेला तक्षशिला, नालन्दा, विक्रमशिला, उदन्तपुरी, काँचीजस्ता प्रसिद्ध गुरुकुल थिए, जहाँ मुख्यतः वेद, वेदांग, उपनिषद्, आयुर्वेद, ज्योतिष, नक्षत्र र धनुर्विद्या इत्यादि पढाइन्थ्यो । ब्रह्मचार्यको पालना, तपस्या, साधना र शास्त्रार्थ यहाँका ज्ञान संस्कृति थिए । तर पश्चिमका पाठशालामा दर्शनशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्रको प्रधानता देखियो । जतिबेला, यहाँ हामी परम् चेतना, ब्रह्मज्ञान र अलौकिकताको बहस गर्थ्यौं, पश्चिमाहरू वस्तु, घटना र

लौकिक संसारका रहस्य अध्ययन गर्थे । उता भौतिक वस्तु अध्ययनको केन्द्र थियो, यता अलौकिक चेतना । परिणाम, पश्चिममा विज्ञानको विकास तीव्र भयो, पूर्वमा विकास भयो अध्यात्म, योग, ध्यान र साधना । यहीँनेर अर्को कुरा पनि छ । भारतमा मुसलमानहरूको आगमनपछि पूर्वीय ज्ञान परम्परा र गुरुकुल कमजोर भए । प्रभावशाली बने मदरसा । यस कालमा लाहोर, दिल्ली, रामपुर, लखनऊ, इलाहाबाद, जौनपुर, अजमेर आदि स्थानका मदरसाहरू प्रसिद्ध थिए । जहाँ अरबी, फारसी साहित्य, इतिहास, दर्शन, नीतिशास्त्र, कानुन, अध्यात्मशास्त्र र धर्मविज्ञान आदि पढाइ हुन्थ्यो । यता इस्टइन्डिया कम्पनीको प्रवेशपछि पूर्वीय ज्ञानका केन्द्रहरू भत्किँदै गए ।

तर ब्रिटिस इन्डियाले विश्वविद्यालयको विस्तारमा धेरै रुचि देखाएन । धेरैपछि जब भारत ब्रिटिसराजबाट स्वाधीन भयो, अनिमात्र यता भनेजस्तो गरी विश्वविद्यालय खुल्न थाले । नेपालमा भने विश्वविद्यालय खोल्न राणाशासनको अन्त्य अनिवार्य बन्यो । यसको अर्थ के भने, पश्चिमा ज्ञान परम्परा (विश्वविद्यालय) जतिखेर स्वतन्त्र चिन्तनको चरणमा प्रवेश गर्दै थियो, हामीले विश्वविद्यालयबारे सुनेका पनि थिएनौं । यसरी हामी पछि पर्‍यौं । हाम्रा विश्वविद्यालय पछि परे । यसरी ज्ञान र विज्ञानको हाम्रो संसार पश्चिमाहरूको भन्दा साँघुरो भयो ।

ज्ञानको विश्वव्यापीकरण

भनिन्छ, आज संसारका प्रसिद्ध दस विश्वविद्यालयले विश्व ज्ञानसत्ताको ५० प्रतिशत हिस्सा ओगटेका छन् । जस्तोः म्यासाच्युसेट इन्टिच्युट अफ टेक्नोलोजी, अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड, स्ट्यानफोर्ड युनिभर्सिटी, क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी, इम्पेरियल कलेज लन्डन, युनिभर्सिटी कलेज लन्डन, युनिभर्सिटी अफ सिकागो र युनिभर्सिटी अफ पेन्सिलभेनिया आदि यस्ता विश्वविद्यालय हुन्, जहाँबाट अहिलेसम्म लाखौं विद्यार्थी दीक्षित भए र संसारभर ज्ञानसत्ताको नेतृत्व गरे । रोचक के भने यी विश्वविद्यालय आफैंमा पूर्ण र स्वतन्त्र सत्ता हुन् । जहाँ प्रवेश गरेपछि सबैथोक पाइन्छ । जस्तोः विशाल शैक्षिक भवनहरू । हजारौं विद्यार्थी । अनेकौं फ्याकल्टी । दर्जनौं अनुसन्धान केन्द्र । भव्यतम् पुस्तकालय । आफ्नै स्टेडियम । नाट्यशाला । प्रकाशन केन्द्र । सयौं आवासगृह । दर्जनौं देशका लागि छात्रवृत्ति । हजारौं प्राध्यापक र अनुसन्धानकर्ता । विश्वविद्यालय आफैंमा पूरा सहर !

विश्वका प्रभावशाली विश्वविद्यालयहरू कुन हुन् ? यो प्रश्न प्राज्ञिक क्षेत्रको निकै चर्चित प्रश्न हो । धेरै स्वतन्त्र संस्थाले विश्वविद्यालयको स्तर मापन गर्छन् । जसमध्ये तीनवटा महत्त्वपूर्ण मानिन्छन् । जस्तोः दि टाइम्स हायर एजुकेसन, क्यूएस वर्ल्ड युनिभर्सिटी र्‍यांकिङ र एकेडेमिक र्‍यांकिङ अफ वर्ड युनिभर्सिटी । टाइम्स हायर एजुकेसनको शीर्ष दसमा अक्सफोर्ड पहिलो नम्बरमा आउँछ । त्यसपछि आउँछ स्ट्यानफोर्ड युनिभर्सिटी । त्यसपछि म्यासाच्युसेट इन्टिच्युट अफ टेक्नोलोजी । अनि आउँछ, हार्वर्ड । त्यसपछि युनिभर्सिटी अफ क्याम्ब्रिज । अनि, क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी । त्यसपछि, क्रमशः इम्पेरियल कलेज लन्डन, युनिभर्सिटी कलेज लन्डन, युनिभर्सिटी अफ सिकागो र युनिभर्सिटी अझ पेन्सिलभेनिया ।

क्यूएस वर्ल्ड युनिभर्सिटी र्‍यांकिङमा पहिलो हुन आउँछ, म्यासाच्युसेट इन्टिच्युट अफ टेक्नोलोजी । त्यसपछि युनिभर्सिटी अफ क्याम्ब्रिज । अनि क्रमशः अक्सफोर्ड, हार्वर्ड । स्ट्यानफोर्ड युनिभर्सिटी, इम्पेरियल कलेज लन्डन, स्विस फेडरल इन्टिच्युट अफ टेक्नोलोजी, नेसनल युनिभर्सिटी अफ सिंगापुर, युनिभर्सिटी कलेज लन्डन, युनिभर्सिटी अफ क्यालिफोर्निया र ब्रकले । प्रश्न स्वाभाविक हुन्छ, यो सूचीमा हामी अर्थात् त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय कहाँ छौं ? यो सूचीमा हाम्रो स्थान आउँछ, लगभग १२ सयभन्दा पछि । ज्ञानको श्रेष्ठता, स्वतन्त्रता र पवित्रताको आँखाबाट हेर्दा हाम्रो स्थान बिलकुलै पछाडि छ । यो किमार्थ, राम्रो अवस्था होइन ।

उत्कृष्टता र बर्बादीका कारण

प्रश्न आउँछ, विश्वविद्यालयलाई अब्बल बनाउँछ केले ? विश्वविद्यालयलाई बर्बाद बनाउँछ केले ? विश्वविद्यालयको स्तर सम्परीक्षण गर्नेहरूले अनेक आधार र सूचकबाट त्यसको उत्कृष्टता मापन गर्छन् । त्यसमध्ये मुख्य दस सूचक हाम्रा लागि निकै उपयोगी छन् । जस्तोः विश्वविद्यालयलाई उत्कृष्ट बनाउने पहिलो आधार हो, यसको प्राज्ञिक स्वतन्त्रता र प्रभाव । विश्वविद्यालय, यसबाट निस्किएका विद्यार्थी र प्राध्यापकले विश्वमा पारेको स्वतन्त्र प्रभावलाई विश्वविद्यालयको उत्कृष्टता मापन गर्ने पहिलो आधार मानिन्छ । दोस्रो आधार हो, यसको अनुसन्धान क्षमता र अनुसन्धानको आधिकारिकता । तेस्रो आधार हो, शिक्षण सिकाइको स्तर, विद्यार्थी, प्राध्यापक फ्याकल्टीको संख्या र त्यसको गुणस्तरता । चौथो आधार हो, विश्वविद्यालयको विश्वव्यापीकरण । यसभित्र ज्ञानको विश्वव्यापीकरण, पहुँचको विश्वव्यापीकरण, अनुसन्धानको विश्वव्यापीकरण आदि पर्छन् । पाँचौं आधार छ, विश्वविद्यालयबाट निस्कने विद्यार्थीले प्राप्त गर्ने विश्वव्यापी अवसर । छैटौं आधार हो, पूर्वाधार र विश्वविद्यालयले प्राप्त गर्ने स्रोत । सातौं आधार हो, ज्ञानको प्रवर्द्धन र विश्वविद्यालयसँग भएको ‘प्याटेन्ट राइट्स’ को अवस्था । विश्वविद्यालयले गर्ने विश्वव्यापी साझेदारी र आम्दानी । आठौं आधार हो, विश्वविद्यालयको सामाजिक र वातावरणीय प्रभाव । नवौंमा विश्वविद्यालयको ‘डाइभर्सिटी’ । विषय, ज्ञान, छात्रवृत्ति र विद्यार्थीको विविधता । दसौं आधार हो, पूर्वविद्यार्थीहरू र विश्वविद्यालयको सम्बन्ध, विद्यार्थीले आफ्नो विश्वविद्यालयप्रति व्यक्त गर्ने गर्वभाव र उसको निरन्तर संलग्नता ।

अर्को प्रश्न छ, केले बर्बाद बनाउँछ विश्वविद्यालयलाई ? यो हामीलाई निकै काम लाग्ने प्रश्न हो । प्राज्ञिक क्षेत्रका जानकारहरू भन्छन्– विश्वविद्यालय बर्बाद बनाउने तीनवटा कारण छन् । पहिलो, ज्ञान उत्पादनमा स्वतन्त्र चिन्तन र अनुसन्धान क्षमताको अभाव । दोस्रो, प्राज्ञिक स्वतन्त्रतामाथि राज्यको संकुचन । तेस्रो, ज्ञानको दलीयकरण र हस्तक्षेप । जस्तोः त्रिभुवन विश्वविद्यालयलाई हेरौं । जसले न त प्राज्ञिक र शैक्षिक क्षेत्रमा राम्रो काम गर्न सकेको छ, न त अनुसन्धान र उत्प्रेरणामा । किनभने, हाम्रो विश्वविद्यालयमा प्राज्ञिक क्षमताको अभाव त छ नै, यो ऐतिहासिक संकुचन र नियन्त्रणको सिकार पनि हुँदै आएको छ । प्रारम्भमा यो पञ्चायती संकीर्णताको सिकार भयो, अहिले यो दलीय अराजकताको सिकार छ । परिणाम, यो यसरी जिम्लिएको छ कि यसले न अनुसन्धान र ज्ञानको प्रवर्द्धन गर्छ, न त त्यो सबै गर्ने योसँग स्वतन्त्रता र सामर्थ्य नै छ ।

अहिले हाम्रा विश्वविद्यालयमा राजनीतिक अराजकता र दलीय हस्तक्षेत्र यति तीव्र छ कि यी या त पार्टीका भर्तीकेन्द्र बनेका छन्, अथवा अराजकताका रंगमञ्च । विश्वविद्यालयभित्र अनेरास्ववियु र नेविसंघ जस्ता विद्यार्थी संगठन यसरी विध्वंसका लागि काम गरिरहेका छन् कि भत्काउनु नै उनीहरूको जिम्मेवारी हो । सधैं हुलदंगा । निरन्तरको अवरोध । पुस्तकालयमा आगजनी । प्राध्यापकलाई मोसो । पढ्ने, विषयगत बहसमा भाग लिने, अनुसन्धान गर्ने नभई राजनीति गर्ने विद्यार्थीहरू भएको विश्वविद्यालय कस्तो हुन्छ ? त्यसैले त विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी शिक्षामन्त्री चिच्याएर आफ्ना नेताको ताबेदारी गर्दै भन्छन्– ‘मेरो नेता मेसी हो मेसी । कोही माइकालाल छ, उसलाई जित्ने ?’ ज्ञानको योभन्दा ठूलो हुर्मत सायदै अन्त कतै होला ।

हाम्रा विश्वविद्यालयहरूको दुर्भाग्य के भने, यहाँ भीसी ज्ञानको प्रतिस्पर्धाबाट नभई चाकरीको प्रतिस्पर्धाबाट नियुक्त हुन्छन् । प्राध्यापकहरूलाई अनुसन्धानमा भन्दा राजनीतिमा रुचि छ । विद्यार्थीलाई ज्ञानमा भन्दा रुचि छ, संगठनमा । प्रश्न उठ्छ, नेताको ढोकामा चाकरी गर्न धाउने प्राध्यापक र प्राध्यापकलाई मोसो दल्ने विद्यार्थी भएको विश्वविद्यालयले कसरी विश्वज्ञानको प्रतिस्पर्धामा आफ्नो स्थान बनाउला ? सोचौं त के ज्ञानले सत्ताको चाकरी गरेको सुहाउँछ ?

भनिन्छ, ज्ञानले समाजको चरित्र निर्धारण गर्छ । ज्ञानले त्यो देशको गाम्भीर्य सुनिश्चित गर्छ । भनिन्छ, ज्ञानले विकासको ढोका खोल्छ । तर जुन देशको विश्वविद्यालय फगत शासकहरूको स्तुति गर्छ, त्यो देश चाकरहरूको कारखाना बन्छ । त्यसैले यति भन्नैपर्छ कि ज्ञान स्वयं सार्वभौम हुन्छ, यसले कसैको चाकरी गर्न आवश्यक छैन । यसर्थ, विश्वविद्यालयलाई सत्ता, राजनीति र दलबाट स्वतन्त्र गरौं । अन्यथा, ज्ञानको संकटले हामीलाई यसरी संकुचित गर्नेछ कि हामी दुनियाँको अगाडि तर्क गर्न त के बोल्नसमेत नसक्ने हुनेछौं ।

इ कान्तिपुरबाट ।।



प्रतिक्रिया