तीताे तर सत्यानुभूति

हाम्रो स्तर खस्किएकै हो त ?

टंक प्रसाद पन्थ
२२ असार २०८१ १७:५८

हाम्रो गाउँका दाजु, अग्रज व्यक्तित्व टीकाराम न्यौपाने सर । उहाँ लामो समयदेखि दीप बोर्डिङ स्कुल बुटवलको प्राचार्यका रूपमा सेवा गर्दै आउनुभएको छ । उहाँले केही समय दुर्गम जिल्ला बाजुरामा शिक्षण गर्नुभयो । त्यसपछि केही वर्ष न्यु होराइजन बुटवलमा अध्यापन गराउनुभयो । पछिल्लो समयमा शैक्षिक संस्थाको नेतृत्व गर्नुका साथै सामाजिक क्षेत्रमा पनि उहाँ क्रियाशील हुनुहुन्छ । बुटवलको शैक्षिक विकासमा उहाँ र उहाँको संस्थाको राम्रै प्रभाव रहेको छ ।
आज उहाँले अकस्मात् फोन गरेर ‘टंक सर कता हुनुहुन्छ ? मावि (११–१२) मा पढाउने एउटा नेपाली शिक्षक चाहियो’ भन्नुभयो । मैले बुटवल जस्तो ठाउँमा त शिक्षक फालाफाल पाइन्छन् होला नि’ भन्ने जवाफ दिएँ । उहाँले ‘तपाईँले त्यही विषयमा स्नातकोत्तरसम्म पढाउनु हुन्छ, तपाईँका नजरमा कक्षामा उभिएर पढाउन सक्ने केही राम्रा व्यक्ति छन् कि भनेर सम्झिएको हुँ’ भन्नुभयो । त्यतिमात्र होइन उहाँले दुई तीनवटा दृष्टान्तसमेत दिएर, ‘कोही नेपाली विषय नै ह्रस्व लेख्ने आए, कोही नौ दस कक्षाका कविता लयमा वाचन गर्न पनि नजान्ने आए, यस्ताले के पढाउलान् र गुणस्तर सुधार होला ?’ भनी प्रश्न पनि गर्नुभयो । ‘नेपालीमा स्नातकोत्तर गरेको छ, लब्धाङ्कपत्र पनि राम्रै छ तर विषयको मर्मबोध गरेर पढाउन सकेन, त्यसैले तपाईँका नजरमा कोही छ कि भनेर सम्झेको हुँ’ उहाँको कथन थियो ।
हाम्रो अहिलेको सबैभन्दा ठुलो चुनौती भनेको गुणस्तरीय जनशक्ति उत्पादन किन हुन सकेन भन्ने हो । विषयगत दक्षता र क्षमतामा कमजोर हुनुको कारण खोज्ने कसले ? टीकाराम न्यौपाने सरको प्रश्न छ ’शिक्षण क्षेत्रमा आउनेको स्तर खस्किँदै जानुमा विद्यालयका शिक्षकलाई दोष दिने कि विश्वविद्यालयका प्राध्यापकलाई ?’ मैले उहाँलाई उत्तर दिएँ दाजु रहरले नभई करले पढ्नेले प्रगति गर्दैन, विद्यार्थी तल्लो कक्षादेखि नै कमजोर हुँदै आएको छ, अरू विषय लिने आँट नभएपछि नेपाली विषय छनोट गर्छ, नेपाली विषयको रुझान नै छैन, अघिल्लो कक्षामा पढेका सामान्य कुरा पनि पछिल्लो कक्षामा सोध्दा भन्न सक्दैन । मेरा विद्यार्थीसँग म सधैँ यही भन्छु ‘हामीले पढाएका तिमीहरू यस्ता छौ, भोलि तिमीहरूले पढाएका अझ कस्ता हुनेहोलान् ?’
टीकाराम सरले उठाउनुभएको यो समस्या एउटा बिम्ब हो । अहिले रूपमा हेर्दा विद्यार्थीको अवस्था ठिकै छ तर सारमा जुन तहमा जेजस्तो क्षमता र उपलब्धि हासिल हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यसतर्फ बहस चल्नु आवश्यक छ, बहस मात्र होइन, हाम्रा कक्षाकोठाका शिक्षण गतिविधिमा सुधारको खाँचो छ । नैतिक शिक्षा र कर्तव्यबोध पनि पढाउन आवश्यक छ । निरन्तर मूल्याङ्कनलाई सिकाइसँग जोड्न नसक्दा पनि स्तर खस्किएको हो भन्ने मेरो बुझाइ छ ।
टीकाराम सर मैले यहीँबाट आग्रह गरेको छु–
’यदि कोही आफूलाई नेपाली विषय पढाउन योग्य ठान्नुहुन्छ भने दीप बोर्डिङ बुटवलमा जागिर सुनिश्चित छ ।



प्रतिक्रिया

धेरै पढिएको