पोडकास्ट,फल्चा र रेश्मा
अडियो ब्लगलाई यतिबेला पोडकास्ट भनिन्छ । यसको सुरुआत् सन् १९८० तिर भएको हो । एडम करी र डेभ विनरलाई पोडकास्टका निम्ति महत्वपूर्ण ब्यक्ति ठानिन्छ । उनीहरुलाई पोडकास्टिङका संस्थापक मान्ने चलन कायमै छ । उनीहरुले सन् २००४ देखि ‘द डेली सोर्स कोड’ नामक पोडकास्ट सुरु गरेका थिए । त्यो नै संसारको पहिलो पोडकास्ट मानिन्छ । ‘पोडकास्टिङ–डु इट योर सेल्फ’ नै पोडकास्टका बारेमा लेखिएको पहिलो पुस्तक थियो । हिजोआज संसारभर पोडकास्टलाई महत्व दिएको पाइन्छ । यसको आकर्षण अति नै बढिरहेको पाउन सकिन्छ । यो एक किसिमको डिजिटल फाइल हो ।
आफू अनुकूलको समयमा सुन्न सकिने,निश्चित विषयमा गहिरो कुराकानी हुने,फरक फरक विषयका बारेमा थाहा पाउनका लागि पोडकास्ट सुन्न र हेर्न सकिन्छ । सुरुमा यो सुन्नमात्र सकिन्थ्यो । अहिले त भिडियो पोडकास्टको चलन आएकाले सुन्न र हेर्न सम्भव छ । सुनेर बिर्सिने तर हेरेपछि सम्झिरहन सकिने भएकाले हेर्न र सुन्न मिल्ने पोडकास्टको भ्यालू बढेको हो । संसारभर यतिबेला अन्तर्वार्ता पोडकास्ट, समाचारकेन्द्रीत पोडकास्ट,ब्यक्तिगत कथामा आधारित पोडकास्ट प्रशारण हुँदै आएका छन् । त्यतिमात्र होइन,संगीत पोडकास्टमार्फत दुनियाँले गीत,संगीतका बारेमा व्यापक तरिकाले बुझ्ने मौका पाएका छन् । हास्यव्यङ्ग्य पोडकास्ट,शैक्षिक पोडकास्टमार्फत् आआफ्ना विषयमा केन्द्रीत रहेर पोडकास्टिङ भइरहेका छन् । जसका कारण सूचना,ज्ञान वितरण भइरहेका छन् ।

पोडकास्टले धेरैलाई फाइदा पुराइरहेको पाउन सकिन्छ । सुन्ने श्रोता र हेर्ने दर्शकले समायानुकूल हेर्न र सुन्न मिल्ने पोडकास्टमा विषयगत गाम्भीर्यताले स्थान पाउन थालेपछि यसको प्रयोगकर्ताहरु समेत ह्वात्तै बढेका हुन् । कम लागत र सिर्जनात्मकता प्राप्त पोडकास्टले सबैका मन छुन सकेका छन् । पोडकास्ट होस्टको तजवीज र योग्यताले पोडकास्टिङ्गलाई सकारात्मक प्रभाव पारेका हुन्छन् । होस्टको हाउभाव,उसको सिर्जनशीलता,कुराकानी गर्ने तौरतरिका र विषय उठान गर्न सक्ने कलात्मक ज्ञानले नै पोडकास्टको आयू निर्धारण हुने हो ।
यतिबेला मैले हेर्ने र सुन्ने गरेको ‘फल्चा पोडकास्ट’मा प्रशारित एउटा इपिसोडको चर्चा गर्न लायक ठानेको छु । पोडकास्ट होस्ट हुन् रेश्मा पुन । उनी समाजशास्त्रमा स्नातक चौथो वर्ष पढ्दैछिन् । आफ्ना पाहुनाहरुलाई गर्ने प्रश्न अति नै गहन र वजनदार जो समाजका हरेक तहले बुझ्न सक्ने खालका हुन्छन् । अत्यन्तै अनौपचारिक कार्यक्रम नै पोडकास्ट हुने भएकाले उनले पनि आफ्ना पाहुनाहरुलाई सहज वातावरणमा अति नै सरल र सहज तरिकाले खुल्ने बनाउँछिन् । आफ्नो र आफ्नो पाहुनाका बीच गरिने अनौपचारिक परिचय,छलफलका विषयवस्तुलाई सुस्तरी तर अनि मिठो तरिकाले पस्किन्छन् । त्यो नै रेश्माको खास विशेषता हो ।
कहाँबाट सुरु गर्छिन् र कहाँ पुगेर कार्यक्रमको अन्त्य गर्छिन् चालै पाइँदैन । यो नै पोडकास्टको मज्जा रहेछ । चिया,पानी र कफी पिउँदै,आफ्नै तरिकाले आफ्ना विचार,भावना,मत जाहेर गर्ने थलो रहेछ ,पोडकास्ट । तर कहिलेकाँही पाहुनाहरु बितर्किन थालेभने ठीक ठाउँ ल्याउनु पनि होस्टको काम हुन्छ । त्यो कुरा रेश्माले खुबै ख्याल गरेकी हुन्छिन् । सानै उमेरमा उनले आफ्नो प्रतिभा,क्षमता र योग्यता पोडकास्टिङमार्फत् प्रस्तुत गरेकी छिन् ।
पछिल्लो हप्ता उनले साइकोलोजिष्ट अनुप आचार्यसँग विशेष कुरा गरिन् । मनोविज्ञान,मनोचिकित्सा, मानससिक रोग, मानसिक समस्याहरु र यसले हाम्रा गाउँठाउँमा पारेका असर र रोकथामका लागि गरिने र गर्न सकिने प्रयासका बारेमा व्यापक छलफल फल्चामा चलाइन् । अनुपको दिमागमा भएका सबै कुराहरु खोतलेर,निचोरेर,चिरेर हामी सबै स्रोता तथा दर्शककाबीच ल्याउन सक्नु नै ठूलो उपलब्धि हो । मनको रोग नै मानसिक रोग भएको अनुपले बताइरहँदा समाजमा यो एउटा अवस्थाका रुपमा रहेपनि हेर्ने दृष्टिकोण सकारात्मक हुन नसक्दा समाजले दुःखजिलो थप व्यहोर्नुपर्ने कुरा थाहा भयो ।
नेपालमा थुप्रै पोडकास्ट सञ्चालनमा भएपनि यसको मर्मलाई बुझेर चल्न सकेमा सञ्चारका अन्य माध्यमहरुलाई यसले चुनौती दिइ अवसरमा अब्बलता थुपार्ने छ । फल्चा टीम र पोडकास्ट होस्ट रेश्मालाई थप सफलताको शुभकामना ।



प्रतिक्रिया दिनुहोस