यात्रा संस्मरण–३

कञ्चनदेखि मैदानसम्म

जगिलाल थापा ‘जेल संघर्ष’
२६ असार २०८१ १५:४२

थकानले होला सायद ओछ्यानमा ढल्नासाथ भुसुक्कै निदाइएछ। सदा झैं बिहान ४ः३० बजे ब्युँझिएँ । साठीकोल जाने योजनाका साथ बिस्तारा पसेका हामी सबेरै उठ्नुपर्ने थियो। डिवी दाइ बेनु सर र हरि जी घुर्दै सुतिरहनु भएको थियो। रीमा जी पल्लो घरमा चन्द्रिका मेडमसँग सुत्दै हुनुहुन्थ्यो। आफ्नो नियमित नृत्यकर्म सकेपछिसँगै सुतेका तीनै जनालाई उठाएँ ।
चियापानपछि हामी साठीकोल जान तयारी भयौं। स्थानीय रनवीर र माधव जी मोहन सरको घरमा आइपुग्नु भयो। विहानको करिब ६ बजेतिर मैदानबाट साठीकोलका लागि हिड्यौं।

घडेरी थुम्कासम्म म आफै बाइक चलाएँ। बाटो अप्ठ्यारो भएकोले रनवीर भाइले बाइक चलाए । साठीकोल जान सजिलो रहेनछ। बाटो नयाँ खनेको हुँदा बाटोमा खहरे थियो। तर रनवीर भाइले मजाले बाइक चलाए। रीमा जीलाई भने माधव पाण्डेले । बेनु सरले बल्लबल्ल साठीकोल पुर्याउनु भयो। साठीकोल पुग्दा करिव पौने ७ बजिसकेको थियो। साठीकोल पुगेपछि गाउँ निकै रमाइलो लाग्यो।
रनवीर भाइले टोल संयोजक भीमबहादुर सारुको घर अगाडि रोकेर सीधै स्थानीय शिक्षक दानबहादुर ठाडा मगर सरको घरमा लगे। त्यहाँ पुगेपछि मैले दान सरको आमा कला ठाडालाई जुठेल्नोमा राखिएको पानी टंकीबाट अमखरामा पानी भर्दै गरेको फोटो खिचें। हामी पुग्नासाथ दान सरको जीवनसंगिनी जिमीसरा ठाडाले दिनु भएको तातोपानी र चिया पिएर हामी दान सरसँगै गफियौं।
दान सरले साठीकोल गाउँको बारेमा बेलिविस्तार लाउनु भयो। हामी सुन्दै गयौं। डिवी दाइले गाउँका कथाहरु खोतल्दै जानुभयो। गाउँका आफ्ना दमाली बिदेश गइरहँदा दान सरलाई पनि बिदेश जान मन नलागेको चाहीं होइन रैछ। गाउँको काम आज आज गर्दागर्दै उमेरले ४२ उँभो लाग्नु भएको रहेछ। वहाँले गाउँको विद्यालय जनप्रकाश आधारभूतमा निजीश्रोतमा पढाउदै आउनुभएको रहेछ।
उक्त गाउँमा विशेषगरी ठाडा, सारु, रखाल, आले, राना, लुङ्चा, लामिछाने थर भएका मगरहरुको बसोबास रहेछ। विशेषगरी त्यो गाउँमा भेजा प्रणाली रहेछ। भेजा प्रणाली अनुसार गाउँमा समानता कायम राखिदै आइएको रहेछ। आफुखुशी गर्न कसैले पाइँदो रहेनछ। घरमा उत्पादन भएका कुखुरा, खसीबाख्रा, गाईभैसी, रक्सी लगायत बस्तुहरुको मूल्य निर्धारण गर्ने कार्य भेजाले गर्दो रहेछ। हरेक महिना बस्ने भेजाले गाउँमा भएको समस्या माथि छलफल पहिचान गर्दोरहेछ।
साठीकोलको मुख्य बाली मकै, कोदो गहुँ रहेछ। नगदेवाली भने अम्रिसो, तेजपत्तासहित तरकारी र बाख्रापालन । तेजपत्ताबाट एक घरले वार्षिक ५०र६० हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी गर्दा रहेछन् । बारीभरि तेजपत्ताको रुख र ब्यक्तिगत अनि सार्वजनिक खोरियाभरी अम्रिसोखेती गरिएको रहेछ। एकजनाको बारीको ढिकमा कम्तिमा ५ देखि ७ सयसम्म तेजपत्ताको रुख रहेछ। सुकेको तेजपत्ता बिक्री गर्दा १ किलोको ७०(८० रुपैयाँ मूल्य रहेछ। गाउँकै मिनबहादुर सारुले गाउँभरिको तेजपत्ता जम्मा गरेर बुटवल, भैरहवा, पाल्पा, स्याङ्गजा, पोखराको ब्यापारीहरुलाई बिक्री गर्दा रहेछन् । तेजपत्ता एक ठाउँ जम्मा गरिदिए वापत ती व्यापारीहरुले उनलाई किलो १ रुपैयादेखि ३ रुपैयाँसम्म दिने रहेछन।

भेजामा सामेल भएका ५८ घर रहेछन्। ५८ घर भेजाले राखेको चलनलाई त्यो गाउँको नियम, परम्परा र कानुन जस्तै सबैले पालना गरिने अचम्मको चलन दान सरले सुनाउनु भयो। गाउँका युवा युवतीहरुलाई संगीतप्रति आकर्षित गर्न जापानी नागरिक कुमिकोले गाउँमा करिब ५र६ लाख रुपैयाँ खर्च गरेर एउटा संगीतहलको रुपमा भवन बनाइदिएका रहेछन् । तिनै कुमिकोले दान सरको श्रीमान श्रीमतीलाई घुमाउन पहिलो पटक जापान लगेका रहेछन। नेपालको पहाडी दुर्गमबाट कहिल्यै नचिताएको देश जापान पुग्दा कुन ठाउँमा आइपुगे जस्तो लागेको थियो रे दान सरलाई। पछि गाउँका अरुलाई जापान लैजाँदा वहाँको श्रीमती पनि दोश्रोपटक जापान जाने मौका पाउनु भएछ। दान सर, टोल संयोजक भिमबहादुर सारु, मिनबहादुर सारुसँग गरिएको कुराकानीलाई रीमा जी र मैले भिडियो क्लिप लियौं।
कुराकानीपछि गाउँमा बनाइएको संगीत हलको अवलोकन गर्यौं। गाउँकै मिनबहादुर आलेको तरकारीखेती, किवीखेती, बंगुरपालनको अवलोकन गर्यौं। मिनबहादुर आलेले तरकारी बेचेर मात्रै वर्षमा २० देखि ३० हजार रुपैया आम्दानी गर्नु हुँदोरहेछ। यस वर्ष २ क्विन्टल मात्रै किवी बेच्नु भएछ। किवीको ३ सय रुपैयाँसम्म प्रतिकिलो मुल्य रहेछ। आलेले बंगुरपालन समेत गर्नुभएको रहेछ। बंगुरको खोरमा ३ वटा माउ सुंगुर रहेछन् । ती माउहरुबाट बच्चा बिक्री गर्दा कम्तिमा १ लाख रुपैयाँसम्म वर्षमा कमाई हुनेरहेछ। मिन आलेसंगै बारीमा कुराकानी गर्दा गर्दै कलाकार बेनु सरको नजर रसिलो काँक्रो माथि परेछ। वहाँले ठाउँका ठाउँमा ४ किलो काँक्रो किन्नु भयो।
किसान मिन आलेको अनुभवमा बिदेशमा जानेहरुले पनि निकै दुःख गरेर पैसा कमाएको भनेको सुन्दा त्यो दुःख त यही नेपालमै गरेपनि मजाले कमाई हुनेरहेछ। “आंखिर घर परिवार पाल्ने, खर्च जुटाउने, भोकै नबस्ने त हो, त्यतिका लागि त मैले यही बसेर कमाएको छु” आलेले भन्नुभयो। साठी वटा कोहल ९खोल्सा० पार गरेर गाउँमा पुगिने भएकोले त्यो गाउँलाई साठीकोहल भन्दा भन्दै अपभ्रंस भई साठीकोल भएको रहेछ।

साठीकोल मात्र होइन पूर्वखोला गाउँपालिकाका प्रायस् गाउँहरुमा लिफ्टिङ्गबाट पानीको व्यवस्था गरिएको रहेछ । अहिले सबैतिर पानीको सुविधा राम्रो देखियो । पूर्वीपाल्पामा जापानी नागरिकहरु ओके बाजे, कुमिको, साकुराई हिरोकोले त्यहाँको शिक्षा स्वास्थ्य र जिविकोपार्जनका आयमूलक कार्यक्रम संचालन गरेर धेरै गुन लगाएका रहेछन।

साठीकोलमा स्थानीय पाठ्यक्रमको रुपमा मगर भाषामा तयार गरिएका पाठ्य पुस्तक पढाइनु पर्नेमा मैले कुरा उठाएं। अहिलेको पुस्ता मगर भाषा बोल्ने गरे पनि अवको पुस्ताका भाषाको पुस्तान्तरण गर्नका लागि मगर भाषामा पढाई हुनु पर्नेमा मैले अझ जोड दिएको हुँ। जल्पाको गाउँमा घुम्दै गर्दा स्थानीयहरुले मज्जाको कुरा सुनाए। पुर्वखोलाका कुनै पनि बिद्यार्थीहरु १२ कक्षासम्म गाउँमै पढुन् भनेर घरदेखि टाढाका विद्यालयहरुमा जानुपरे पालिकाभित्रको सम्बन्धित विद्यालयहरुले आफै कोठा भाडामा ब्यबस्था गरिदिने रहेछन। घर छोड्नु परे पनि बस्नको कुनै समस्या नहुने रहेछ विद्यार्थीहरुलाई। खाना खर्च र पढाई खर्च बाहेक कोठाको भाडा बिद्यालयले तिरिदो रहेछ। यस्तो राम्रो कामको सिको अन्य स्थानीय तहका बिद्यालयहरुले पनि गर्नु पर्छ।
गाउँमा घुम्न त रमाइलै भइरहेको थियो तर मलाई घर फर्किनु पर्ने पिरलो थियो। पुनः मैदान फर्किनेबेला स्थानीय शिक्षक धनी सारुको घरमा नुन खुर्सानीसँग काँक्रो खायौं। धनी म्यामको हातमा “आमाको पानी” नामक किताव देखें। अनि कितावबारे जिज्ञासा बुझ्न किताव नै मागें मैले। म्यामले हाँसी हाँसी दिनु भयो। त्यही किताब बोकेर हामी मैदान तर्फ लाग्यौं।
साठीकोल आउदा र मैदान फर्किदा खहरे बाटोमा बाइकको चक्का फनफनी नाँच्यो। बेनु सरले हेण्डिल समाउने अनि डिवी दाइ धकेल्दै उकालो चढियो। बाटोमा आउँदै गर्दा रनवीर भाइले यस्तो राम्रो बस्तीबाट चुनढुङ्गा उत्खनन गरिदै भएको कुरा सुनाए। मलाई अचम्म लाग्यो। चुनढुङ्गा उत्खनन गर्दा साठीकोलको अस्तित्व कुन दिन मेटिने हो भन्ने मनमा चिसो पस्यो।
रनवीर भाइले मलाई पछाडि राखेर बाइक गुडाउँदै गाउँको सुन्दर भविष्यबारे आफ्नो योजना सुनाउँदै थिए। उमेरले सानै भएपनि उनको गाउँप्रतिको चिन्तन र योजना कुनै एक परिपक्व नागरिककोभन्दा कम थिएन। माधव पाण्डेसँग बाइकमा हिड्न नपाएकोले वहाँको कुरा उति सुन्न पाइनँ। यद्यपि त्यस गाउँको भविष्य रनवीर र माधवजस्ता युवाहरुको काँधमा अडिएको महसुस गर्दै मैदान माथि रहेको घडेरीथुम्कामा पुग्यौं।

घडेरीथुम्कालाई हामीले चारैतिरबाट नियाल्यौं। माधव र रनवीर भाइहरुले घडेरीथुम्कालाई के बनाउने भन्ने योजना सुनाए। त्यहाँ जनश्रमदान गरेर ओखरका बिरुवाहरु लगाइएको रहेछ। डोजर लगाएर घडेरीथुम्कालाई सम्मो बनाउन लागिएको रहेछ। मैदानको पर्यटन प्रवर्द्धन गर्न वर्षमा कम्तिमा ३ पटक घडेरीथुम्कामा मोटरसाइकल स्लो प्रतियोगिता गराउने योजना रनवीर भाईले सुनाए। दिनभर जल्पाको तीर्थडाडा, चिर्तुङ्गमा रहेको भेजाडाँडा, मैदान, साठीकोल र चुलीडाँडाको अवलोकन पछि घडेरी थुम्कामा मोटरसाइकल स्लो प्रतियोगितामा भाग लिएर साँझ ढोलीमारा होमस्टेमा पर्यटकहरुलाई बास बसाल्ने योजना रनवीर भाइले सुनाए। त्यो घडेरीथुम्कामा ओखरका बेर्ना रोपेको भएपनि त्यहीको रैथाने टिमुर र काफल त डाँडाभरि नै रहेछ। स्थानीयहरुले मौसममा टिमुर र काफल बेचेर पनि केही गुजारा चलाउने रहेछन् ।
साठीकोल जाँदै गर्दा नै मोहनबहादुर रखाल सरको घरमा खाना खान आउने योजना थियो। मैदान आइपुग्दा मोहन सरको जीव संगिनी चन्द्रिका म्यामले खाना तयार गरेर राख्नु भएको रहेछ। खाना खाएर सक्दा बिहानको करिब ११ बजिसकेको थियो। चन्द्रिका म्याम र वहाँका देउरानीलाई एक्लै गाह्रो होला भनेर म आफै भान्सामा पसेर थालीमा दालभात र टिमुरको चटनी पस्केर साथीहरुलाई बाँड्न सघाएँ । हामी भोकले आत्तिएका थियौं। खानापछि रीमा र मैले बाख्रापालन ब्यबसाय गरेका चन्द्रिका रखालसहित ३ जना महिलाहरुसँगको कुराकानी रेकर्ड गर्यौं। अनि टोल संयोजक रहेका खडकसिंह बाह्रघरेसंग आरन ब्यवसायबारे पनि कुराकानी गर्यौ। डिवी दाइले प्रसंग उठाइदिएपछि हामीलाई सजिलो भयो। हामीले रनवीर र उनका साथी युवराजसँग पञ्चेबाजा, सारङ्गी र बाँसुरीका कुरा गर्दागर्दै कलाकार बेनु सर र हरि जीले मैदानको अम्रिसो भवनमा अम्रिसो संकलन केन्द्र भनेर लेखिसक्नु भएको थियो।
दिउँस १ बजेको समयमा मैदानको बसाईको विट मारेर जल्पाको जल्पा मन्दिर, साकेनीडाँडा, र मादलेगुफालाई तिर बनाएर ढोलीमारातर्फ लाग्यौं। रनवीर भाइले बाइक गुडाए । म भनेँ बाइक पछाडि रहेर मोवाइलवाट यात्राको भिडियो गरिरहें।



प्रतिक्रिया

धेरै पढिएको