यात्रा संस्मरण–२

कञ्चनदेखि मैदानसम्म

जगिलाल थापा
२४ असार २०८१ १८:४९

देवीनगरबाट हिड्न लाग्दा पानी पर्न लागिरहेको थियो। सकेसम्म पानीले नभेटोस् भनेर सबैले बाइकको थोरै स्पीड बढायौं । डिवी दाइले पछाडिबाट “कमरेड १ कमरेड १” भनी बोलाउँदा म रोकिएँ । मसँग रीमा जी हुनुहुन्थ्यो। “अलिपर जल्पानेर सत्यवती बजैको मन्दिर छ त्यहाँ रोकिनु है” डिवी दाइले भन्नुभयो। रीमा जीसँग पहिलोपटक भेट भएको थियो। यो यात्रामा चिनजान भयो। ब्यक्तिगतदेखि पारिवारिकसम्मका कुरा भए। वहाँपनि फरासिली हुनुहुँदो रहेछ।

जल्पा पुग्यौं। त्यहाँ पुगेर डिवी दाइले वडा नं। २ का वडाध्यक्ष निरबहादुर सारुलाई फोन गर्नुभयो। पुरानो सत्यवती बजैको मन्दिर र सोही मन्दिरको नि   र्माणाधीन मन्दिरलाई पृष्ठभूमि बनाएर फोटो खिच्यौं। डिवी दाइले त्यहाँको भौगोलिक अवस्था बारे संक्षिप्त जानकारी गराउनुभयो। मन्दिरको पछाडिपट्टि पूर्वखोलाकै एकमात्र क्रिकेट मैदान भर्खरै निर्माण हुँदै रहेछ। पहाडमा, त्यति ठूलो खेल मैदान १ अचम्मै परें। डोजर र जेसिवी प्रयोग गरेर ठूलो बनाइएको रहेछ।

एकैछिनपछि वडाध्यक्ष निरबहादुर सारु आइपुग्नु भयो। वडा नं। २ मा भएका प्राकृतिक श्रोत,साधन र त्यसलाई एकीकृत पर्यटनमा कसरी विकास गर्न सकिन्छ भनेर वडाध्यक्ष सारुले आफ्नो योजना सुनाउनु भयो। रीमा जीले रेडियोको लागि आवाज लिनुभयो। मैले तस्विर र भिडियो क्लिप लिएँ । वन, वातावरण तथा पर्यटनका जानकार डिवी दाइले वडाध्यक्षसँग हामीलाई चिनजान गराउनु भयो।
डिवी दाइले जल्पालाई वडा नं। २ र ४ को पर्यटकीय मुख्य प्रवेशद्वारका रुपमा विकास गर्न सकिने सुझाव दिनुभयो। जल्पा आएपछि यहाँको जल्पादेवी र सत्यवती बजैको दर्शनगरी जल्पाका विभिन्न स्थानका भ्रमण गर्ने पर्यटकहरुलाई साँझपख ढोलीमाराको होमस्टेमा बास बसाल्न सकिने मार्गचित्र कलाकार बेनु सरले देखाउनु भयो।
साँच्चै भन्ने होभने पूर्वखोलाको जल्पा प्राकृतिक पर्यटनको बलियो सम्भावना नै सम्भावना बोकेको स्थानीय तह रहेछ। त्यहाँको भेजाडाँडा, भानुमाता, घडेरीथुम्का, जल्पा, ढोलीमारा, मैदान, चुलीडाँडा, सर्लक्क परेको ठाउँ रहेछन्।


केहीबेरको बसाईपछि हामी जल्पा बजारतर्फ लाग्यौं। पानी पर्नै लागेको थियो। हतार हतार गर्दै जल्पा बजार पुग्यौं । सानो तर चिटिक्क बजार रहेछ। साविक जल्पा गाविसका मानिसहरुको मुख्यबजार गर्ने ठाउँ रहेछ जल्पा । मैले बजारको फोटो खिचेँ। वडाध्यक्ष सारुले हामीलाई खाजा नास्ताको लागि जल्पा बजारको मीना दिशा९कान्छी दिदी०को मा बन्दोबस्त गरिदिनु भएको रहेछ। चाउमीन, अण्डा, समोसा र मटर तयारी राख्नु भएको रहेछ । हामी पुग्नासाथ नास्ता कपाकप खायौं। साँझ पर्नै लाको थियो। त्यहाँबाट हिड्यौं। पर पुगेपछि मैले होटेलमै क्यामेरा छोडेको सम्झिएँ। रीमा जीलाई बाइकबाट ओराले अनि म फनक्कै फर्केर पुनस् जल्पा बजार पुगी क्यामेरा लिएर आइहालेँ।
साथीहरु ढोलीमारा पुगिसक्नु भएको रहेछ। हाम्रो गन्तब्य मैदान थियो। हामी एक्कासी पुगेको देखेर त्यहाँका माया म्याम निकै अचम्म मान्नु भयो। वहाँहरु परिचित आगन्तुक हुनुहुँदो रहेछ। माया म्यामले यतै बसौं भन्दै हुनुहुन्थ्यो। डिवी दाइले आजको बसाई मैदानमा हो भनेपछि हामी अगाडि बढ्यौं। मोटरबाटो तराईकोभन्दा कम फराकिला थिएनन्। बाइक त सरर गुडिरहेको थियो। हामीले कही दुःख पाउनु परेन।
लाँकुरी भञ्ज्याङबाट केही पर पुगेपछि पानीले रुझाइ हाल्यो । हामी रोकिएनौं। सरासर स्थानीय रनवीर बरालको दिदीको घरमा बाइक रोक्यौं। मैदानमा बिहे रहेछ। हामीलाई निम्तो गर्नु भएको रनवीर बराल र माधव पाण्डे त्यही बिहेमा ब्यस्त हुनुहुँदो रहेछ। डिवी दाइले रनवीर बराललाई फोन गर्नुभयो। हामीलाई बाइक रोकेको ठाउँमा बस्न लगाउनु भएछ क्यारे डिवी दाइले “लौ यतै बसौं अरे” भन्नुभयो । त्यतिबेला साँझको सात बजिसकेको थियो ।
एकैछिन पछि रनवीर र माधवलगायत स्थानीयहरु आउनुभयो। हामीलाई कमला आधारभूत विद्यालयमा लैजानु भयो । सिमसिम पानी परिरहेको थियो। यताउता गर्दागर्दै साँझ परिहल्यो। चिसो मौसममा तातोचिया पिउन पाइयो। पानी परेकाले यताजस्तै जल्पामा पनि लाइन रहेनछ। आजको बसाई मैदानमै हुने भो। स्थानीय रनवीर र माधवलगायत स्थानीय अगुृवा साथीहरुले गाउँभरि हामी आएको खवर गर्नुभयो । विद्यालयमा जम्मा हुन सबैलाई बोलाउनुभयो।

 

 


मैदानमा पर्यटन प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण गर्ने कार्यक्रम थियो। मुख्यवक्ता वन,वातावरण तथा पर्यटनका जानकार दलबहादुर गुरुङ हुनुहुन्थ्यो। दाइले लाइन नभएपनि आफ्ना कुरा डड्काउनु भो । कार्यक्रमका अध्यक्षता टोल संयोजक खड्कबहादुर बाह्रघरे जसले गाउँमै आरन ब्यवसाय संचालन गर्नुभएको छ उहाँले गर्नु भो । कर्यक्रमका मुख्यवक्ता वडा नं। २ का वडाध्यक्ष निरबहादुर सारु हुनुहुन्थ्यो।
कार्यक्रमको मुख्य चाँजोपाँजो रनवीर र माधव जीको रहेछ। बिहान ८ बजेदेखि निरन्तर बाइकको यात्राले हामी थकित थियौं। यद्यपि डिवी दाइमा थकानको महसुस देखिएन । करिब १ घण्टा लगाएर जल्पाको एकीकृत पर्यटन विकासमा मैदानको भूमिका के हुन सक्छ भन्नेबारे अभिमुखीकरण गर्नु भयो। उहाँको अखण्ड प्रवचन सुनेर सबै तीनछक परियो । ढोलीमारामा भएको होमस्टेलाई अझ ब्यवस्थित बनाउन र विश्रामको गन्तब्य बनाउन मैदान, चुलीडाँडा, साठीकोल, भानुमाता, घडेरीथुम्का, भेजाडाँडा साकेनीलगायतका गाउँहरुमा त्यहाँको विशेषता अनुसारको पर्यटकीय क्षेत्रको विकास गर्न आवश्यक रहेको अभिमुखीकरणको सन्दर्भमा डिवि दाइले बताउनुभयो। लाइन नभएकोले पर्दामा देखाएर अभिमुखीकरण गराउन नपाउँदा उहाँ आफूलाई खल्लो लागेपनि हामीलाई अझै सुनौंं सुनौं लागिरहेको थियो।
कार्यक्रममा वडाध्यक्ष सारुले अव जल्पालाई पर्यटनको मुख्य आधार बनाउन वडा र पालिकाले बनाएको योजनामाभन्दा स्थानीयहरुले बनाएको योजना बढी प्रभावकारी हुने बताउनु भयो। जल्पाको विभिन्न स्थानहरुमा त्यहाँको भूगोल अनुसारको पर्यटनको गन्तब्यस्थल बनाउन सके रोजगारको अवसर बिस्तारै श्रृजना हुँदै जाने बताउनु भयो।
स्थानीय कमला आधारभूत विद्यालयका प्रधानाध्यापक मोहनबहादुर खरालले मैदानमा होमस्टे भन्दापनि मैदानमा उत्पादित अर्गानिक तरकारी, सिस्नु, टिमुर, गाभा, बेसार, अम्रिसो, तेजपत्ता बाख्रापालनलाई आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्र बनाउन सकिने बताउनु भयो। कार्यक्रमका अध्यक्ष खडकसिंह बाह्रघरेले त गाउँमा आरन गर्ने जाति तथा समुदाय नभएका कारण आफूले १५ दिनको तालिम लिएर आरन ब्यवसाय संचालन गर्दै आएको बताउनुभयो।
कार्यक्रम पश्चात स्थानीयहरुसँग पञ्चे बाजामा नाच्यौं। रनवीरमा बाद्यबादनको राम्रो कला रहेछ। सहनाई, बाँसुरी, सारङ्गी, हार्मोनियममा राम्रो दख्खल रहेछ। केहिछिनको नाचगानपछि हामी रनवीरको घरमा खाना खान गयौं। बेनुको कला खासै फुर्न पाएन ।
भोक र थकानले लट्ठिएको शरीरमा मासु र भात खाएपछि निकै राहत भयो। भोलि बिहानै साठीकोल जाने योजनाकासाथ मोहन सरको घरमा सुत्न आयौं।



प्रतिक्रिया

धेरै पढिएको