जनसेवक हुँ म !
न
खुलेर हाँस्न पाउँछु
न
डुलेर हिड्न !
कहाँ छुट छ र ?
हाँस्दा जिम्मेवार भई हाँस्नुपर्छ।
डुलेपनि जिम्मेवारीले डुलाउँछ।
न
खुसीले नाँच्न पाउँछु
न
चयनले बाँच्न पनि !
म खुसी हुन
जनता खुसी हुनुपर्छ,
चयनले बाँच्न
आफ्नै लडाइँ जित्नुपर्छ।
न
दिनको हिसाब छ
न
रातको ?
न
चिन्ता छ ज्यानको
निद्रा छैन आँखामा
भोक छैन पेटमा
न
थकाई छ तनमा
छटपटी र बेचैन छ मनमा
केवल सपना र समृद्धिको !
जीवन के हो
बुझ्ने समय छैन ?
परिवार के गर्दैछन्
सोध्ने समय छैन !
न
सुखको आनन्द छ मनभरि
न
पीर बिसाउने चौपारी छ
भोकसँग लड्नु दायित्व हो
शोकसँग भिड्नु कर्तव्य हो
सत्यसँगको समीपमा
सफलताको काखी च्याँपेर
आफ्नै गन्तव्यमा दौडिरहेकी छु ।
लुकाएर गाभाले
आफ्नो पिंडालुजस्तै गर्भमा
छिपाएर छाताले आफ्नै मान्छे !
हिमाल झैं हाँस्नुपर्छ,
नदीसरि बग्नुपर्छ
पिरजति पहाड भइ छेक्नुपर्छ,
सुख सबै बाँड्नुपर्छ !
आखिर जनसेवक न हुँ म !
जनप्रतिनिधि न हुँ म !



प्रतिक्रिया दिनुहोस