पाल्पाको बराङ्दीमा धार्मिक महोत्सव हुँदै
मिलन विश्वकर्मा
पाल्पा, २७ पुस । बगानासकाली गाउँपालिका–८ बराङ्दीमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ ।
सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा हुने महायज्ञ आगामी माघ एक गतेदेखि नौ गतेसम्म सञ्चालन हुनेछ । घिउसीबासस्थित सिद्धबाबा मन्दिरमा हुने महायज्ञमा कथा वाचिका विदुषी गरिमा उपाध्याय (भक्त किंकरी) ले विभिन्न देवीलीला जनचेतनामूलक नाटक प्रस्तुतीसहित संगीतमय कथा प्रवचन गर्ने कार्यक्रम रहेको शनिबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल व्यवस्थापन समितिका संयोजक गणेश बस्यालले बताउनुभयो ।
सिद्धबाबा मन्दिरमा नागको विराट मूर्ति एवं सत्संग हल निर्माणर मन्दिरको चौतर्फी विकासका लागि सहयोग जुटाउने उद्देश्यले धार्मिक महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।
भागवत महापुराण, वेद पाठ, चण्डी पाठ, रुद्राभिषेका (रुद्री पाठ) सहश्र जलधारा, बेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राम्हण भोजन, सहित पितृको फोटो राखी पितृ तर्पण, तुलादान, विवाह, ब्रतबन्ध, गुन्यूचोलीसहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धी सम्पूर्ण जानकारी गराइने बस्यालले बताउनुभयो । कलश यात्रा समेत निकालिने छ। एक करोड २५ लाख बत्ति (दीप) प्रज्ज्वलन गरिने उहाँले बताउनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न, मन्दिरको ऐतिहासिक साँस्कृतिक तथा पुरातात्विक संरचना र सम्पदाको व्यवस्थापन गर्न, मन्दिर परिसरमा रहेको वनलाई संरक्षण गरी वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न महायज्ञले सहयोग गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहन अर्यालले बताउनुभयो । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको उनले बताउनुभयो ।
धार्मिक महोत्सव तथा महायज्ञमा उपस्थित भई पुन्य प्राप्त गर्नुका साथै यस क्षेत्रको विकासका लागि सहयोग गर्न स्थानीय जनप्रतिनिधि तथा समाजसेवी कृष्ण भुसालले अपिल गर्नुभयो ।
घना जंगलले घेरिएको शिवजीको लिंग राख्ने (भग) आकारको डाँडामा रहेको सिद्धबाबा मन्दिर परिसरमा १०८ पिपलका बोट र १०८ शिव लिंग रहेका छन्। बैशाख महिनाको प्रत्येक शनिबार, श्रावण महिनाको सोमबार, महाशिवरात्री, मंसिरको पूर्णिमामा यहाँ विशेषगरी भक्ताजनको घुइँचो लाग्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस