‘सेफ नेपाल’ आजदेखि प्रसारणमा आउँदै

खबर खुराक
१५ भदौ २०८०

१५ भदौ, काठमाडौं ।  नेपालमा पहिलो पटक पाककलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ आजदेखि प्रसारणमा आउँदै छ ।  हुन लागेको धर्म पिक्चर्सका अध्यक्ष तथा ‘सेफ नेपाल’ का निर्माता धर्मराज पाण्डेले दाबी गरे । कार्यक्रममार्फत् रैथाने खाना, बाली तथा वस्तुसहित फुड टुरिजमको पनि प्रवर्द्धन हुने आयोजकको दाबी छ ।

पहिलो पटक पाककलासम्बन्धी रियालिटी शो नेपालमा सुरु हुन लागेको धर्म पिक्चर्सका अध्यक्ष तथा ‘सेफ नेपाल’ का निर्माता धर्मराज पाण्डेले दाबी गरे ।

उनले भन्छन,’ हरेक शुक्रबार राति ९ बजेदेखि एक घण्टा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै छ ।’ ०७९ वैशाखमा फुड रियालिटी सो ल्याउने घोषणा गरे पनि विविध कारणले ढिलाइ भएको उनले बताए । ‘झन्डै डेढ वर्ष लाग्यो बजारमा ल्याउन,’ उनले भने, ‘पहिलो पटक अनलाइन अडिसनको आह्वान गर्‍यौं । फर्म भर्न र परिचय र मनपर्ने खाना पकाएको भिडियो पठाउन भन्यौं ।’ पाण्डेका अनुसार अनलाइनमा आएका आवेदनमध्येबाट सय जनालाई सर्टलिस्ट गरिएको हो । ‘अनलाइन आवेदन ५ सयभन्दा बढीको आएको थियो, त्यसभित्र अधिकांश आवेदन सेफहरूको आएको थियो,’ उनले भने, ‘तर हामीले होम कुक र विद्यार्थीहरूलाई मात्र छनोट गर्‍यौं ।’

पाण्डेका अनुसार यो सो १८ सातासम्म चल्नेछ । ‘अडिसन राउन्ड २ एपिसोड, एलमिनेसन राउन्ड ४, कम्पिटिसन राउन्ड १० र फिनाले राउन्ड २ एपिसोड हुन्छन्,’ पाण्डेले भने । उनले करिब सात वर्षअघि नै मास्टर सेफ नेपालमा आयोजना गर्न अध्ययन/अनुसन्धान गरेका थिए । तर बजार अनुकूल नभएको निष्कर्षपछि रोकिएका थिए । ‘त्यतिबेला वर्कआउट गरेर मात्र छाडियो, त्यसपछि म पनि ३/४ वर्ष देशबाहिर बसें । सन् २०२१ मा सेफ सन्तोष शाहले मास्टर सेफमै गएर नेपाली खानाको चर्चापरिचर्चा गराउनुभयो,’ उनले भने, ‘त्यो अवधिसम्म कसैले पनि फुड रियालिटी सो ल्याएका थिएनन् । त्यसपछि फेरि आफैं गर्छु भनेर लागिपरेको हुँ ।’

सेफ नेपालले खल्तीसँगको साझेदारीमा ‘खल्ती क्विज’ समेत ल्याउने जनाएको छ । हरेक एपिसोडको अन्तिममा सोधिने प्रश्नको सही उत्तर दिने दर्शकलाई गोलाप्रथामार्फत छनोट गरी विजेतालाई हरेक साता ५० हजारसम्मको गिफ्ट ह्याम्पर प्रदान गर्ने सेफ नेपालले जनाएको छ । हरेक एपिसोडमा घोषणा हुने ‘उत्कृष्ट डिस’ लाई बजारमा रहेका विभिन्न रेस्टुरेन्ट तथा क्याफेमा उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको पाण्डेको भनाइ छ । आयोजक सेफ नेपालका अनुसार विजेतालाई २५ लाख रुपैयाँ नगदसहित विभिन्न अवसरहरू प्रदान गरिनेछ ।

रियालिटी सोमा सेफ सन्तोष शाह, सेफ गणेशबहादुर ढकाल र भान्से लक्ष्मणप्रसाद भण्डारी नै निर्णायक छन् भने नायिका प्रियंका कार्की कार्यकारी निर्माता छन् । प्रतिस्पर्धामा नेपालको कुनाकुनाका विभिन्न समुदायबाट प्रतिनिधित्व गरी प्रतिस्पर्धीहरू आएका सेफ सन्तोष शाहले बताए । ‘नेवारी, शेर्पा, लिम्बूलगायत विभिन्न समुदायका प्रतिस्पर्धीहरू आउनुभएको छ,’ उनले भने, ‘एक समुदायले अर्को समुदायको खाना बनाएको हेर्न, सिक्न र खान पनि पाउँछन् । यसले फुड टुरिज्मलाई धेरै नै सहयोग गर्छ ।’

नेपालमा सेफ पेसा अझै पनि सम्मानजनक नभइसकेको जनाउँदै शाहले अब भने खाना बनाएरै पनि २५ लाख जित्न सक्ने अवस्था आउनु सुखद भएको बताए । सेफ नेपालले रैथाने खाद्यान्नसहित खानालाई पनि प्रवर्द्धन गर्ने उनको दाबी छ । ‘सेफ नेपालमा रैथाने खानालाई नै प्राथमिकता दिन्छौं । तर अन्य खाना बनाउन पाइँदैन भन्ने होइन,’ उनले भने, ‘कुनै प्रतिस्पर्धामा रैथाने खाद्यान्न वा सामग्री दिएर परिकार बनाउन पनि लगाउन सक्छौं ।’