लोकदोहोरी प्रतिष्ठानले गर्‍यो बालचन्द्र बराललाई निलम्बन

खबर खुराक
१८ जेठ २०८१

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले केन्द्रीय सदस्य एवं गायक बालचन्द्र बराललाई ६ महिनाको लागि संस्थाबाट निलम्बन गरेको छ ।

लोक संस्कृतिको मूल मर्म र भावना विपरीत कार्य गरेको भन्दै बिहीबार बसेको कार्यसमिति बैठकले बराललाई निलम्बन गरेको अध्यक्ष रीता थापा मगरले जानकारी दिइन् ।

‘उहाँको गायन प्रस्तुतिमा समाजमा अपाच्य हुने गतिविधि देखियो । दोहोरीलाई बंग्याएर र मूल संस्कृति नै बिगार्ने गरी उहाँ प्रस्तुत भएको देखियो,’ अध्यक्ष थापाले भनिन्, ‘यसबारे उहाँलाई स्पष्टीकरण सोधेका थियौं । बोलाउँदा पनि सम्पर्कमा आउनुभएन । स्पष्टीकरणको बेवास्ता गरेपछि यस्तो निर्णय गर्नुपरेको हो ।’

लाइभ दोहोरीका नाममा बराल अमर्यादित ढंगले प्रस्तुत भएको प्रतिष्ठानको भनाइ छ । निलम्बन हुने ६ महिनाको अवधिमा बरालले प्रतिष्ठानसँग सम्बन्धित जिल्ला, प्रदेश, केन्द्रसहितका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन पाउने छैनन् ।

अर्मादित ढंगले पेश हुने अन्य कलाकारलाई पनि यसरी सचेत गराइएको अध्यक्ष थापाले बताइन् । अध्यक्षसहित प्रतिष्ठानका पदाधिकारीले बिहीबार अपरान्ह गृह मन्त्रालयमा पुगेर समाजमा अपाच्य हुने खालका गतिविधिमा रोक लगाउनको लागि भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

यसका लागि कानुन व्यवसायीसँग पनि परामर्श भइरहेको अध्यक्ष मगरको भनाइ छ । प्रतिष्ठानले गत साता विज्ञप्तिमार्फत लाइभ दोहोरीको नाममा छाडा रुपमा प्रस्तुत नहुन सचेत गरेको थियो ।