“पुजार सार्की” को ट्रेलर सार्वजनिक (भिडीयो)

खबर खुराक
२६ वैशाख २०८१ १६:०२

२६ वैशाख, काठमाडौँ । आगामी जेठ १० गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र “पुजार सार्की” को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौँको वन सिनेमामा एक समारोहकोबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाल, कलाकारहरु प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायत सहभागी थिए । कार्यक्रममा कलाकारहरुले चलचित्रको अभिनय र भूमिकाको विषयमा जानकारी गराएका थिए ।

सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजका हरेक तहका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक, मनोबैज्ञानिक र सामाजिक असरलाई सहज ढंगले उतारिएको छ । चार मिनेट २१ सेकेन्ड लामो ट्रेलरमा अभिनेता पल शाहलाई समाज परिवर्तन गर्न अग्रसर जोशिले बिद्राही युवाको भूमिकामा प्रस्तुत गरिएको छ भने आर्यन सिग्देल स्थानिय ब्राम्हण समुदायको यूवा “पुजार”को रोलमा र प्रदीप खड्का मैतबहादुर नामक दलित युवकको भूमिकामा देखिएका छन ।

त्यस्तै, अञ्जना बराइलीले दलित युवती र परीक्षा लिम्बूले कथित उपल्लो जातको भूमिका निर्वाह गरेकी छिन । सार्वजनिक ट्रेलरमा समाजमा हुने जातिए विभेद, त्यसले मानिसको मनोबिज्ञानमा पारेको असर र त समाजमा जात प्रथाले निम्त्याएको सामाजिक द्वन्द तथा जातिय बिभेदका विरुद्ध गरिने संघर्षलाई मुख्य कथा वस्तु बनाईएको  छ ।

‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन्। राउतले यसअघि ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका चलचित्रहरू निर्देशन गरेका थिए । यसअघिका दुई चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’बाट जातीय विभेद र भौगोलिक विपन्नताको मुद्दा उठाएका दिनेश राउतले यो चलचित्रमा पनि जातीय विभेदकै मुद्दालाई मूल विषय बनाएका छन् ।

चलचित्रमा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ । निर्माता भुसालले स्वयं यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन् ।

दिनेश राउतको निर्देशन, विकास सुवेदकोे लेखन तथा सुवास भुसालको निर्माणमा बनेको यस चदचित्रलाई नेपालमा आरआर फिल्मस तथा  अन्तर्राष्ट्रिय बजारमा चलचित्रलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।



प्रतिक्रिया