जापानमा ‘पुजार सार्की’ हेर्न दर्शकको भीड

खबर खुराक
१४ जेठ २०८१

काठमाडौं । जापानस्थित नेपाली डायस्पोरामा फिल्म ‘पुजार सार्की’ प्रदर्शन गरिएको छ । एकै शोमा १५ सय दर्शकले फिल्म हेरेको वितरक सचिन आचार्यले जानकारी दिए ।

उक्त शोमा सहभागी हुन अभिनेता पल शाह र पटकथाकार विकास सुवेदी टोकियो पुगेका छन् । नाकानो जेरो हलमा आयोजित शोमा फिल्म हेर्न पुगेका दर्शकको भीडको फोटो र भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।

वितरक आचार्यले फिल्म हेर्न आएको भीड अनियन्त्रित भएको बताए । ‘हामीले भीड थाम्नै नसक्ने अवस्था थियो । व्यवस्थापन मिलाउन खोज्दा भी आउट अफ कन्ट्रोल भयो,’ उनले भने ।

शो सकिएपछि पलले स्टेजमा नृत्य समेत गरे । दिनेश राउत निर्देशित यो फिल्ममा पलसहित प्रदीप खड्का, आर्यन सिग्देल, परीक्षा लिम्बू र अञ्जना बराइलीको शीर्ष भूमिका छ । फिल्मले जातीय विभेदविरुद्धको कथा पेश गर्छ ।