साइकल चलाउन मन लाग्छ तर काठमाडौंका सडकमा साइकल चलाउने ठाउँ छैन : हरिवंश आचार्य

खबर खुराक
१७ भदौ २०८०

१७ भदौ, काठमाडौं ।  वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साईकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन्।

काठमाडौं आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्र्यले शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताएका हुन्।

उनले काठमाडौंमा सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताए।

आचार्यले स्वच्छ वायुका लागिपनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

उनले मानव स्वास्थ्यका लागिपनि साइकल यात्रा उपयुक्त हुने बताए।

साइकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साईकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताए।

सडकका नयाँ संरचनाहरु बनिरहेपछि साईकल लेन छुट्टयाउन कन्जुस्याँई गरिएको आचार्यको भनाइ छ ।

उनले आफूसँग साइकल चलाउने सीप भए पनि साईकल चलाउने ठाउँको अभाव हुँदा समस्या भएको बताए।

आचार्यले भने, ‘पहिलो सवारी साधन काठको बनाएको थियो रे । नेपालमा पनि साइकललाई सात लाख रुपैयाँसम्म पर्दोरहेछ । मानव निर्मित पहिलो सवारी साधन भएकाले यसलाई जति सम्मान गर्नुपर्ने हो, सुरक्षित तरिकाले संसारकै सुरक्षित सवारी साधनको प्रतिक भनेर मान्नुपर्ने हो त्यसको पालना गर्न सकेका छैनौँ । तर, म हरेक दिन एक घण्टा साइकल चलाउँछु । एक घण्टा साइकल नचलाईकन मलाई चित्त नै बुझ्दैन । तर, साइकल कहाँ चलाउँछुु कोठामा पाङ्ग्रा नभएको साइकल चलाउँछु । पसिना निकाल्छु, तर, मलाई साँच्चिकै पाङ्ग्रा भएको साइकल चलाएर हिँड्न मन लाग्थ्यो ।’

उनले केही समयअगाडि पोखरामा साइकल र्‍याली हुँदाखेरी ३५ किलोमिटर साइकल चलाएको स्मरण पनि गरे।  ‘साइकल चलाउन सक्छु तर, साइकल चलाउने ठाउँ छैन । साइकल चलाउने ठाउँको साह्रै ठूलो अभाव छ । साइकल चलाउँदाखेरी ज्यानको माया मारेर चलाउनुपर्छ । मोटरसाइकलले कामलाई छिटो त बनाइदिएको छ तर, मोटरसाईकलले संसारलाई नै प्रदुषित गर्दिसक्यो । शहरमा हिँड्दाखेरि मोटरसाईकलले हान्दिएला भन्ने डर हुने बेला आइसक्यो । डरै डरले हिँड्नुपर्ने ठाउँमा साइकल लिएर हिँड्नुपर्ने एकदमै जोखिमपूर्ण यात्रा नै हुन जान्छ,’ उनले भने।

साइकलले प्रदुषण घटाउने तर डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने उनले बताए। ‘मानव स्वास्थ्यमा असर पुर्‍याउँछ भन्ने कुरा यहाँ भनिरहन पर्दैन । नयाँ संरचनाहरु बनिरहेका छन्, नयाँ रिङरोडहरु बनिरहेका छन्, तर त्यसमापनि साईकल लेन छुट्याउन कञ्जुस्याँई गरिरहेका छौँ। ह्वीलचीयरमैत्री सडकलाई प्राथमिकता दिनुपर्छ । शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियर यात्राका लागि राम्रो निति बनाउनुपर्छ,’ उनले भने।

प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले यात्रुमैत्री सडक हुनुुपर्ने बताए। उहाँले सडक सवारी साधनको मात्रै नभएको भन्दै पैदलयात्री, साइकल र ह्विल चियर यात्रीका लागि पनि भएको बताए।

उनले नेपाल संसारकै प्रदुषित शहरमध्ये एक भएको भन्दै अहिले सडकमा क्षमताभन्दा बढी गाडी गुडाइरहेको बताए। उनले सवारी साधनले अस्वभावीक ढंगले धुवाँ फालिरहेका कारणपनि प्रदुषण बढेको बताए।

श्रेष्ठले भने, ‘सडक खाली गाडी गुड्नको लागि मात्रै होइन । सडक बटुवाको पनि हो अपाङ्गको पनि हो । त्यसकारण उहाँहरुको सुरक्षामा ग्यारेन्टी हुने खालको सडक व्यवस्थापन गर्नुपर्छ । सुरक्षाको व्यवस्थापन गर्नुपर्छ । आज हाम्रो वायुप्रदुषण कसरी भइरहेको छ ? हामी सबैलाई थाह छ । संसारमै प्रदुषणयुक्त शहर मध्ये नेपाल पनि एक हो । वायु प्रदुषण भइरहेको छ । सडकको क्षेमताभन्दा बढी गाडी गुडाइरहेका छौँ । जसले धुवाँ अस्वभावीक ढंगले फालिरहेको छ ।’

पैदलयात्री, साइकल र ह्विलचियर यात्रीको सुरक्षित यात्रा गर्ने सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला भएको थियो ।