सिमरन परियार र आमाको अभिनयमा बनेको ‘संसारकी प्यारी आमा’ सार्वजनिक (भिडियो)

खबर खुराक
१९ भदौ २०८०

१९ भदौ, बुटवल । सिम्रनकै स्वरमा रहेकाे गायक तथा संगीतकार श्रीधर अधिकारीको नयाँ गीत ‘संसारकी प्यारी आमा’ बोलको गीत सार्वजनिक भएको छ । श्रीधरकोआफ्नै युट्युब  च्यानलमार्फत रिलिज गरिएको गीतले राम्रो भ्युज पाइरहेको छ । म्युजिक भिडियो हेरेका दर्शकले पनि उत्साहित प्रतिक्रिया दिएका छन् । युट्युबमा म्युजिक भिडियो हेरिसकेपछि डा. विष्णुमूर्ति भट्टराई लेख्छन्, ‘निकै मीठो, मर्मस्पर्शी गीत । आमाको मायाको बयान जति गरे पनि सकिँदैन ।’

आमाको ममताबारे बयान गरेको गीतको रचनाकार एवं संगीतकार श्रीधर नै हुन् । म्युजिक भिडियोको निर्देशन पनि श्रीधरले नै गरेका हुन् । बागलुङस्थित सिम्रनकै गाउँमा छायाँकन गरिएको म्युजिक भिडियोमा सिम्रनसँगै उनकी आमा मनिसा परियारको अभिनय छ ।

नवगायिका सिम्रन बागलुङ नगरपालिका वडा ६, लङगाउँस्थित तीनतलेकी हुन् । उनी विद्यामन्दिर मावि कक्षा १२ मा अध्ययनरत छिन्। सिम्रनका बुबा सोम परियार वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।

यसअघि ‘मुटुमा घाउ छ’ बोलको श्रीधरको गीत सिम्रनले नै गाएकी थिइन् । संगीतकार अर्जुन सापकोटाले लेखेको चर्चित गीत ‘पानी परेकाे’ मा पनि सिम्रनकै स्वर छ ।