अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ साउन ३१ गते रिलिज हुने

खबर खुराक
२५ भदौ २०८०

२५ भदौ, काठमाडौं । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा भएको छ । अभिनेताले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै सन् २०२४ को अगस्ट १५ अर्थात् २०८१ सालको साउन ३१ गते फिल्म रिलिज हुने जनाएका छन् ।

भारतीय स्वतन्त्रता दिवस समेत रहेको उक्त मितिमा अजय देवगण स्टारर प्रतीक्षित बलिउड फिल्म ‘सिंघम अगेन’ पनि रिलिज हुँदैछ । बक्स अफिसमा यसलाई अल्लु अर्जुन भर्सेस अजय देवगण, निर्देशक सुकुमार भर्सेस रोहित शेट्टीको प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’को सिक्वेल हो । अघिल्लो भागले भारतको राष्ट्रिय अवार्डमा सर्वश्रेष्ठ अभिनेता र संगीत निर्देशक विधा जितेको थियो । फिल्ममा एसपी भंवर सिंह शेखावतको भूमिकामा फहद फासिल र रश्मिका मन्दाना मोलेती श्रीवल्लीको भूमिकामा रहनेछन् ।