विचार

दीर्घकालीन खुसीको बाटाे

खबर खुराक
१३ पुष २०८० १५:१६
डा. सुभाष पोखरेल

सबै मानिसमा खुसीको चाह हुन्छ। जागिरमा बढोत्तरी, धन सम्पत्ति आर्जन, परीक्षामा राम्रो अंक प्राप्तिलगायतका विषयले व्यक्तिलाई पुलकित बनाउँछ।

आफ्नो सम्पत्तिमा १० करोड थपिँदा विनोद चौधरीले महसुस गर्ने मुस्कानभन्दा घरमा अन्नको गेडै नहुने गरिबले एक बोरा चामल पाउँदा महसुस गर्ने खुसी कम हुँदैन। मानिसमा आउने सकारात्मक आवेग नै खुसीको मापन भएकाले एउटा व्यक्ति सानो कुरा पाउँदा जति हर्षित हुन्छ अर्को मानिस ठूलो उपलब्धिमा समेत त्यति प्रफुल्ल नहुन सक्छ।

परीक्षामा अनुत्तीर्ण विद्यार्थीले आत्महत्या गरेका घटना सुनिन्छ, पढिन्छ। यस्ता दुःखद घटना विश्वव्यापी छन्। नाम चलेका विश्वविद्यालय र प्रतिष्ठित ल्याबहरू यस्तो चपेटामा बढी परेका देखिन्छन्।

उदाहरणका लागि सन् १९९० मा रसायनशास्त्रतर्फको नोबल पुरस्कार विजेता एवं हार्वर्ड विश्वविद्यालयका प्राध्यापक एलिस जे कोरेका ल्याबमा दुई वर्षको अन्तरालमा दुई विद्यार्थीले आत्महत्या गरेको घटना एकेडेमिक चर्चाबाट सेलाएको छैन।

प्रतिस्पर्धाको रडाको खेप्न नसकेर विद्यार्थीले आत्महत्या गरेका घटना विश्वव्यापी भएपछि धेरै शैक्षिक निकायले रोकथामको उपाय सोच्न थाले।

संयुक्त राज्य अमेरिकाको एल युनिभर्सिटीले आफ्नो विद्यार्थीको मानसिक अवस्था मापन गर्ने उद्देश्यले एक अध्ययन गर्‍यो। सन् २०१३ मा प्रकाशित उक्त प्रतिवेदनले एलका आधाभन्दा बढी विद्यार्थीहरू मानसिक समस्याको सिकार भएको मात्र बताएन बरु उनीहरू देहत्यागको उच्च जोखिममा रहेकोसमेत औल्यायो। त्यसपछि आफ्नो विद्यार्थीलाई खुसी राख्ने योजना बनायो कलेजले। रोकथामका लागि विद्यार्थीलाई कसरी प्रसन्न हुने भन्ने सिकाउने लक्ष्यसहित कक्षा सञ्चालन गर्ने निचोडमा पुग्यो।

सन् २०१८ मा अन्डरग्राजुयट विद्यार्थीको मानसिक स्वास्थ्यलाई लक्षित गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्‍यो। विद्यार्थीलाई प्रफुल्ल बनाउने लक्ष्य लिइएको उक्त कोर्सलाई ह्याप्पिनेस क्लास नाम दिइयो।

प्रारम्भमा कक्षाको आकार सामान्य आकलन गरिएको उक्त क्लासमा विद्यार्थी भर्नाको बाढी नै आयो। परीक्षण कक्षामा सयौं प्रशिक्षार्थी भर्ना भए। सेमेस्टरको अन्त्यमा कोर्सको प्रभावकारिता अध्ययन गर्दा क्लासले विद्यार्थीको मानसिक स्वास्थ्यमा योगदान गरेको देखियो।

विषयको गाम्भीर्यता र प्रभावकारितालाई मध्यनजर राख्दै सबैले सहभागिता जनाउने गरी एलले कक्षालाई परिमार्जन गर्‍यो। अहिले पनि सञ्चालनमा रहेको द साइन्स अफ वेलविइङ कक्षामा संसारभरका झण्डै ५० लाख प्रशिक्षार्थी सहभागी भइसकेका छन्।

विद्यार्थी भर्नालाई मध्यनजर राख्दा उक्त ह्याप्पिनेस क्लास संसारकै सर्वाधिक लोकप्रिय कक्षा हो भन्दा अत्युक्ति नहोला। भर्खरै प्रकाशित अध्ययनले संसारका झण्डै ४० प्रतिशत किशोर किशोरीमा मानसिक समस्या रहेको देखाएकाले उनीहरूको मानसिक स्वास्थ्यमा ध्यान दिनु सबैको दायित्व रह्यो।

किशोरावस्थामा देखिने मानसिक समस्यालाई मध्यनजर राख्दै एलले द साइन्स अफ वेलविइङ फर टिन्स कक्षा विश्वका सबै इच्छुक हाइस्कुलका विद्यार्थीका लागि निःशुल्क सञ्चालन गर्‍यो। मानसिक समस्यालाई केन्द्रमा राखी एलले सञ्चालन गरेका कक्षाबाट नेपालीले समेत फाइदा लिन सक्ने देखिन्छ।

संसारमा सबैको चाहना खुसीको प्राप्ति हो। अनि हर्मोनको व्यवस्थापनले मानिसलाई प्रसन्न रहन मद्दत गर्छ। डोपामिन, अक्सिटोसिन, सेरोटोनिन तथा इन्र्डोफिन हर्मोनको उचित व्यवस्थापनले मानिसलाई बहुआयामिक रूपले खुसी बनाउँछ।

अब प्रकाशित अन्वेषण तथा अनुसन्धानलाई मध्यनजर राख्दा के कस्तो आचरणले हर्मोन व्यवस्थापनमार्फत दीर्घकालीन प्रसन्नता दिन्छ त? नकारात्मक भावनालाई नियन्त्रण गर्दा व्यक्तिमा सकारात्मक ऊर्जा पैदा हुन्छ अनि व्यक्ति समष्टिगत रूपमा खुसी हुन्छ भन्ने सामान्य सोच हो। तर प्रकाशित अन्वेषणले विपरित सन्देश दिन्छ।

सन् २०१९ मा इन्दिरा गान्धी न्यासनल ओपन युनिभर्सिटीका जैनिस पटेल नेतृत्वको समूहले इन्टरन्यासनल जर्नल अफ साइकोथेरापी प्राक्टिस एन्ड रिसर्चमा प्रकाशित गरेको अनुसन्धानले नकारात्मक भावनालाई दबाउँदा व्यक्तिको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देख्यो।

त्यस्तै अमेरिकाको युनिभर्सिटी अफ ओरिगनका अनुसन्धानकर्ता सञ्जय श्रीवात्सवलगायतले सन २००९ मा जर्नल अफ पर्सनालिटी एन्ड सोसल साइकोलोजीमा प्रकाशित गरेको अध्ययनले मनले देखेको कुरा खुलस्त व्यक्त नगर्ने विद्यार्थीले अब्बल दर्जाको साथी बनाउन नसक्ने पायो।

साथै, अमेरिकाको रोचेस्टर युनिभर्सिटीका बेन्जामिन च्यापम्यानको समूहले गरेको फरक अनुसन्धानले पीडालाई मनमा दबाएर राख्ने मानिसको आयु छोटिने देख्यो।

तसर्थ, नकारात्मक भावनालाई संकुचित गर्ने व्यक्ति मनको कुरा खोल्नेको तुलनामा मानसिक रूपले स्वस्थ, खुसी अनि दीर्घजीवी हुने देखियो। एल युनिभर्सिटीको साइकोलोजीका प्राध्यापक लोरिया स्यान्टोसको विचारमा नकारात्मक सोचलाई दबाउने बानीले व्यक्तिलाई दीर्घकालीन अहित गर्छ।

अर्किन मेन्टल हेल्थ इन्स्टिच्युट आम्र्सटडम नेदरल्यान्डसका जाप पेनले सहर र गाउँमा बस्ने व्यक्तिको खुसीको स्तर तुलना गर्दा गाउँमा बस्ने मानिस सहरियाको तुलनामा मानसिकरूपले निकै प्रफुल्ल पाए।

गाउँलेको तुलनामा दिनरात चलायमान हुने सहरमा बस्ने मानिसमा मानसिक समस्याको संभाव्यता झण्डै ४० प्रतिशत बढी पाइयो। सहरको कोलाहल वातावरण तथा अहोरात्रको उज्यालोले बायोलोजिकल घडीलाई विच्छेद गर्ने भएकाले सहरका मानिस दुःखी हुन्छन् भनिन्छ।

अत्यधिक व्यस्त र कामै नगर्ने समूहबीचको खुसीको मापन गर्दा युनिभर्सिटी अफ पेन्सेल्भिनियाका प्राध्यापक मरिसा सरिफले अनौठो परिणाम पाए। अति व्यस्त कार्यतालिका र कुनै काम नगर्ने व्यक्तिहरू अति दुःखी पाइयो। पेसागत काममा व्यस्त तर दैनिक झण्डै दुई घण्टा आफ्नोे लागि समय निकाल्ने व्यक्ति सबैभन्दा प्रसन्न देखियो।

व्यक्ति आफूले कमाएको सम्पत्ति कसरी खर्च गर्दा अधिक खुसी हुन्छ त भन्ने सम्बन्धमा हार्वर्ड बिजनेस स्कुलका माइकल नर्टनलगायतका अन्वेषणकर्ताहरूले सन् २००८ मा जर्नल साइन्समा प्रकाशित गरेको एक अध्ययन निकै घतलाग्दो देखियो।

सम्पत्ति कमाएपछि रकम आफू र आफ्नोका लागि खर्च गर्ने व्यक्तिभन्दा विनास्वार्थ रकम जनहितमा लगानी गर्ने मानिस लामो समय प्रसन्न हुन्छ भन्ने देखियो। आफ्नो सन्ततिका लागि गरेको ठूलो लगानीभन्दा गरिबको हितमा गरिने सानो सहयोगले अधिक प्रसन्नता दिन्छ भन्ने उक्त अध्ययनको निष्कर्ष हो।

आफ्नो आम्दानीको मुख्य हिस्सा लोकहितमा खर्चिएका कारण पश्चिमा घनाढ्यहरू आफ्नो परिवारका लागि सम्पत्ति साँच्ने एसियन पुँजीपतिभन्दा अधिक प्रसन्न हुन्छन् भन्ने निष्कर्ष हो।

समाजको चरित्रले पनि खुसीलाई निर्देशित गर्छ भन्छन् संयुक्त राष्ट्रसंघीय वल्र्ड ह्याप्पिनेस रिपोर्टका संस्थापक सम्पादक जोन हेलिवेल। एकअर्काको हेरचाह गर्ने सामाजिक संस्कार स्थापित भएको समाजमा व्यक्तिले सुरक्षित महसुस गर्ने भएकाले त्यहाँका मानिस अधिक प्रसन्न देखिन्छन्।

ह्याप्पिनेस इन्डेक्समा फिनल्यान्ड, डेनमार्क र आइसल्यान्ड उच्च स्थानमा रहनुलाई त्यहाँको सामाजिक सद्भावको उच्च भूमिका देखियो।

सदैव आफ्नोे सपनाको पछि दगुर्ने व्यक्ति लक्ष्य भेदनपछि खुसी हुन्छ भन्ने सामान्य सोचलाई अपूर्ण भन्छन् ह्याप्पिनेस स्टडिज एकेडेमीका अन्वेषणकर्ता ताल बेनशहर। सोचअनुसारको परिणामपछि व्यक्ति केही समयका लागि खुसी हुन्छ तर उक्त प्रसन्नता धेरैबेर कायम हुँदैन भन्ने उनको ठहर हो।

एक लाख कमाउने इच्छा राख्ने मानिस लखपति हुनेबित्तिकै करोडपति बन्ने सपना देख्ने भएकाले सपनामा दगुर्ने व्यक्ति कहिल्यै खुसी हुँदैन भन्ने बेनशहरको निष्कर्ष हो। तर युनिभर्सिटी अफ क्यालिफोर्निया रिभरसाइडको साइकोलोजीकी प्राध्यापक सोन्यालिवियु मिर्सकीको विचारमा आफ्नो ज्ञान र क्षमतामा अभिवृद्धि गर्दै उन्नति हासिल गर्ने व्यक्तिले दीर्घकालीन खुसी पाउँछ।

चाकरीको भरमा पदोन्नति पाउने व्यक्तिले अर्को तहमा जानका लागि थप चाप्लुसीमा लाग्ने भएकाले उसको खुसी क्षणिक हुन्छ। दीर्घकालीन प्रसन्नताका लागि चाकडी गरेर सफलता हासिल गर्ने होइन बरु आफ्नो क्षमता र दक्षता अभिवृद्धिमार्पmत अघि बढ्नु सही हुनेछ भन्ने वैज्ञानिकहरुको मत छ।

नागरिक न्युजबाट ।।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सिडियोलाई स्वागत

३० जेठ २०८१ १६:४३

वृक्षरोपणका लागि तयारी

३१ जेठ २०८१ १८:१३

कवितामा ढोलीमारा

३१ जेठ २०८१ १९:०४