ज्ञानमा आधारित अर्थतन्त्र

खबर खुराक
६ फागुन २०८० ९:३४

ज्ञान कुनैपनि देशको आर्थिक विकासँग प्रत्यक्ष जोडिएको हुन्छ । शिक्षा, अनुभव र अध्ययनबाट आर्जन गरिने तथ्य, सूचना र सीप नै ज्ञान हो । आर्थिक र मानवीय विकासमा ज्ञानको उल्लेखनीय भूमिका हुन्छ । ज्ञान अर्थतन्त्र आर्थिक विकास प्रवद्र्धनका लागि ज्ञान प्राप्त गर्ने, वितरण गर्ने, सिर्जना गर्ने र प्रभावकारी रुपले प्रयोग गर्ने अर्थतन्त्र हो ।
औद्योगिक क्रान्ती पछिको करिब तीन सय बर्षको समयावधिमा मानवीय चाहनाहरु झन् बढ्दै र बिस्तारित हुँदै गएका छन् । विश्व्यापिकरणको वर्तमान युगमा संसारमा भैरहेका नयाँ नयाँ प्रयोग, विकासक्रम, विषय र छलफलबाट हामी टाढा रहन सक्दैनौं । समयानुकुल, जल्दाबल्दा विषयहरु आम सरोकारका विषयमा पर्नुपर्दछ । ज्ञानमा आधारित अर्थतन्त्र वर्तमान विश्व अर्थव्यवस्थाको अर्थपूर्ण र महत्वपूर्ण विशेषता हो । समकालिन अर्थतन्त्रका प्रमुख क्षेत्रहरु ज्ञान उत्पादन र बिस्तारमा बढी निर्भर छन् । विज्ञान र प्रविधिमा भइरहेको तीब्र विकासका साथसाथै अप्रचलनले गर्दा ज्ञानमा निर्भर उत्पादन र सेवाका गतिविधिहरु विश्वव्यापी रुपमा बढ्दै गैरहेका छन् । जसलाई अर्थशास्त्र, समाजशास्त्र र व्यवस्थापनशास्त्रका समकालिन साहित्यमा ‘नलेज इकोनमी’ अर्थात् ज्ञानमा आधारित अर्थतन्त्र भनिन्छ ।
परम्परागत अर्थतन्त्र भौतिक वा प्राकृतिक स्रोतसाधनहरुमा मात्र बढी निर्भर हुन्छ । तर ज्ञानमा आधारित अर्थतन्त्रका प्रमुख घटकहरु बौद्धिक ज्ञान, सीप र क्षमता हुन् जसलाइ उत्पादन प्रक्रियाका हरेक चरणमा अनुसन्धान र विकाससँग जोड्दै उद्योग देखि उपभोक्ताका रुचि चाहना र आकांक्षा सम्बोधन गर्ने हेतुले एकिकृत रुपमा सुधार गर्दै लगिन्छ । सम्पत्तिको मूल्य कम्प्यूटर तथा इण्टरनेटबाट सृजना हुन्छ । यि र यस्तै खालका परिवर्तनहरु सन् ९० को दशक देखि नै विकसित देशहरुमा तुलनात्मक रुपमा कुल ग्रार्हस्थ उत्पादनमा अदृश्य पूँजीको बढ्दो अंशमा प्रतिबिम्बित हुँदै आएको पाईंन्छ ।
ज्ञानमा आधारित अर्थतन्त्रका विशेषताहरु हुनः उत्पादनको कारकको रुपमा ज्ञान, विश्वव्यापिकरण, भौतिक सिमानाहरुको न्यून प्रभाव, प्रतिभाको लडाईं (वार अफ ट्यालेण्ट), नयाँनयाँ व्यवस्थापनका शैलिको विकास र बढ्दो सहकार्यको वातावरण र खुल्ला नवप्रवर्तन ।
सन् ७० को दशक यतादेखि नै अनुसन्धानकर्ताहरुले विकसित औद्योगिक राष्ट्रहरु भौतिक बस्तु उत्पादनमा आधारित उद्योगबाट क्रमशः सेवामूलक व्यवसायतर्पm संक्रमण हुँदै गैरहेको कुरा बताएका छन् । यसलाई उत्तर औद्योगिक काल, उत्तर फोर्ड काल पनि भन्ने गरिन्छ । अर्थतन्त्र र अर्थव्यवस्था सम्बन्धि सुरुवाती अध्ययन देखि नै अर्थशास्त्रीहरुले ज्ञान र आर्थिक विकासबिचको सम्बन्धमा जोड दिदै आएको भएतापनि ज्ञान आर्थिक कारकहरुको पूरक तत्वको रुपमा रहेको थियो । यो विचार अहिले रुपान्तरण भैसकेको छ । ज्ञान र प्रविधिलाई उत्पादकत्व बढाउँने र आर्थिक विकास गर्ने महत्वपूर्ण औजार मान्न थालिएको छ ।
विश्वव्यापिकरणको वर्तमान युगमा संसारमा भैरहेका नयाँ नयाँ प्रयोग, विषय र छलफलबाट हामी टाढा रहन सक्दैनौं । समयानुकुल, जल्दाबल्दा विषयहरु आम सरोकारका विषयमा पर्नुपर्दछ । ज्ञानमा आधारित अर्थतन्त्र आर्थिक विकासमा फड्को मार्ने एउटा नविन क्षेत्र हो । विश्वमा विकसित राष्ट्रहरु प्रविधिगत ज्ञानमा आधारित अर्थतन्त्रमा गइसकेका छन् र प्रतिष्पर्धात्मक लाभ हासिल गरिरहेका छन् । खास गरेर ओइसिडीमा आवद्ध देशहरु अमेरिका, ब्राजिल, चीन, इष्डोनेसिया, फ्रान्स, दक्षिण कोरिया आदि कुल ग्रार्हस्थ उत्पादनको ५० प्रतिशतभन्दा बढी ज्ञानमा आधारित अर्थतन्त्रमा गैसकेका छन् ।
गुणस्तरीय उच्च शिक्षा र सीप, सूचना सञ्चार र प्रविधी, अनुसन्धान एवम् विकास, नवीनता र नीति, नियमन, संस्थागत लगानी ज्ञानमा आधारित अर्थतन्त्रका खम्बाहरु हुन् । यी क्षेत्रको दीगो विकासका लागि सरकारको महत्वपूर्ण भूमिका रहन्छ । निर्माणाधिन १६ औं आवधिक योजनामा ज्ञानमा आधारित अर्थतन्त्रको बिजारोपण गर्न सरोकारवाला सबै तत्पर हुनुपर्दछ । आर्थिक विकास र संस्थागत विकासका निम्ति सरकारले वातावरण बनाउँनुपर्छ । प्रभावकारी अनुसन्धान र विकास र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने खालको उच्च शिक्षा र सीप विकासमा लगानी बढाउनुपर्छ । यी क्षेत्रमा नेपालको लगानी नगन्य छ ।
दक्षिण कोरियाले सन् १९६५ मा अनुसन्धान र विकासमा कुल ग्रार्हस्थ उत्पादनको ०.५ प्रतिशत मात्र लगानी थियो । १९९७ मा २.५ प्रतिशत, सन् २०१० मा ३.७ प्रतिशत रहेको अनुसन्धान र विकासको लगानी अहिले ५ प्रतिशत छ । ३५ प्रतिशत प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ । हामीकहाँ भने बल्ल गतबर्षको बजेटमा जेनतेन १ प्रतिशत पुगेको छ । फिनल्याण्डमा सन् १९५० सम्म नेपाल जस्तै कृषिमा आधारित अर्थतन्त्र थियो तर अहिले ज्ञान अर्थतन्त्रमा फड्को मारिसकेको छ । तर हाम्रो अवस्था कमजोर छ । बेलैमा यो विश्वव्यापी टे«ण्ड पछ्याउन सक्ने हो भने हाम्रा लागि ठूलो अवसर हुनसक्छ ।
मानवीय पूँजीमा आधारित अर्थतन्त्रमा जोड दिदै विश्व बैंकले ज्ञान अर्थतन्त्रका चारवटा आधारभूत क्षेत्र औंल्याएको छ ।
१. शिक्षित र सीपयुक्त श्रमशक्ती जहाँ कामदारहरुले निरन्तर सिकाइ अबलम्बन गर्छन् र सिकेको सीपलाई दक्षतापूर्बक अभ्यास गर्दै अनुभवको आधारमा थप नयाँनयाँ सीपको विकास गर्छन् ।
२. सघन र आधुनिक सूचना पूर्बाधार जसले सूचना, सञ्चार र प्राविधिक स्रोतसाधनमाथिको सहज पहुँच सुनिश्चित गर्दै उच्च कारोबार लागत घटाउन मद्दत गर्छ । सूचना र ज्ञानका श्रोतहरुको प्रभावकारी बितरण, प्रशोधन र अन्तरक्रियालाई सहजिकरण गर्दछ ।
३. व्यवसायिक फर्म, उद्योग र देशहरुका बिचमा नवव्रवर्तनलाई उच्च तहमा सहयोग गर्न प्रभावकारी नवव्रवर्तन प्रणालीको आवश्यकता हुन्छ । यसले पछिल्ला विश्वव्यापी सूचना र मानव बुद्धी र विवेकसँग एकाकार हुँदै घरेलु अर्थतन्त्रमा उपयोग गर्न सघाउँछ ।
४.संस्थागत शासन जसले ज्ञानमा आधारित उद्यमशीलता प्रवद्र्धन गर्छ ।
चरम–उपभोक्तावादले सिर्जना गरेको समकालिन विश्वमा देखिएका यावत वातावरणिय समस्याहरु जस्तैः जलवायु परिवर्तन र कार्बन उत्सर्जनको समस्या समाधान गर्न, हरित पूर्बाधार निर्माण गर्न बजारको बदलिदो माग सम्बोधन गर्न नवीन ज्ञान, सोंच र सीपको जरुरत हुन्छ । ज्ञानले प्राविधिक विज्ञता दिन्छ, समस्या समाधान गर्न मद्दत गर्छ, कार्यसम्पादन मापन र मूल्यांकन गर्न सहजिकरण गर्छ । त्यस्तै आर्थिक विश्वव्यापिकरणले सिर्जना गरेको चरम प्रतिष्पर्धाको सामना गर्न आवश्यक पर्ने तथ्यांक व्यवस्थापन गर्न सहयोगी हुन्छ ।
समकालीन र भविष्यको आर्थिक विकासमा तकनिकी र सञ्जालको विस्तारको प्रभाव खास गरेर ज्ञानमा आधारित सामाजिक उद्यमशीलता र समग्र उद्यमशीलतामा टड्कारो रुपमा बढ्ने देखिन्छ । ज्ञान अर्थतन्त्रले सञ्जाल अर्थतन्त्र आत्मसाथ गरिरहेको छ जहाँ तुलनात्मक स्थानीय ज्ञान अहिले विश्वका हरेक कुनाकाप्चामा सञ्जाल मार्पmत् प्रसारित भैरहेको छ । सञ्जालका सदस्यहरुले अझ बृहत्तर र बिस्तारित तहमा यसबाट कम लागतमा व्यापक उत्पादनको लाभ हासिल गरिरहेका छन् ।
विकासोन्मुख देशहरुका लागि चुनौती
विकासोन्मुख देशहरुका लागि आइसिटी र दीगो विकासलाई सफलतापूर्बक एकिकृत गर्दै ज्ञानमा आधारित अर्थतन्त्रमा सहभागी हुने कुरा चुनौतीपूर्ण छ भनेको छ संयुक्त राष्ट्रसंघको सूचना र प्रविधिसँग सम्बन्धित आयोगको सन् १९९७ को प्रतिबेदनले । उनिहरुले सामूहिक रुपमा र रणनीतिक हिसाबले हस्तक्षेप गर्नुपर्दछ । प्रतिवेदनले प्रस्तुत गरेका साझा हस्तक्षेपहरु हुन—प्रभावकारी राष्ट्रिय आइसिटी नीतिको तर्जुमा जसले छनोट गरिएको ज्ञान उत्पादनलाई प्रवद्र्धन गर्छ, संस्थागत परिवर्तनका लागि आइसिटीको प्रयोग ।
चौंथो औद्योगिक क्रान्तिको बहस र पाँचौं चरणको औद्योगिक क्रान्तिबारे सोंच्न र तयारी गर्न थालिसकेका छन् विकसित देशका अर्थशास्त्री, बैज्ञानिक र नीति निर्माताहरुले । हामी भने अभैmपनि परम्परागत मान्यताभन्दा माथी उठेर चिन्तन गर्न सकेका छैनौं अझ भनौं पहिलो औद्योगिक क्रान्तिको बेलाकोजस्तो सोंच, चिन्तन र मानसिकता बोकिरहेका छौं । प्रविधी हस्तान्तरण र विस्तारको गति तिब्र छ । यस्तो अवस्थामा अमुक पक्षलाई दोष दिनुभन्दा पहिले नै विकसित हुँदै गरेका विश्वव्यापि टे«ण्ड र नवप्रवर्तन पछ्याउन सकिएन भने प्रतिस्पर्धामा पछि परिन्छ ।
अहिले कतिपय परम्परागत प्रकृतिका उद्यम÷व्यवसाय संचालन गरिरहेका उद्यमी व्यवसायिहरु गुनासो गरेर बसेको देखिन्छ । बजार प्रतिष्पर्धा निर्मम हुन्छ । सहानुभुति बटुल्ने भन्दापनि आप्mनो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धी गर्न सक्षम व्यवसाय मात्र टिक्न सक्छन् । बदलिदो परीस्थितिमा आफुलाई परिवर्तन गर्न नसक्ने यथास्थितीवादी चिन्तनले हरेक क्षेत्रमा अग्रगमनको बाटो छेक्छ । विश्व बजारसँग प्रतिष्पर्धा गर्न हामी असमर्थ छौं । शक्तिसाली औद्योगिक राष्ट्रहरुको दाँजोमा हामी वस्तु र सेवा उत्पादनमा खरो उत्रिन कठिन छ । तसर्थ हाम्रा लागि उनिहरुसँग सहकार्य गर्दै देशको आर्थिक विकास गर्न ज्ञानमा आधारित अर्थतन्त्र नै अबको उत्तम छनोट हो ।
सरकारको बलियो साथ र सहयोगबिना कुनैपनि देशको आर्थिक वातावरण सहज हुदैन । एकपछी अर्को गर्दै चक्रीय र आवधिकरुपमा आउने आर्थिक एवम् वित्तिय संकट, प्राकृतिक बिपत र महामारी पछि आर्थिकरुपमा दरोसँग उभिन र चुनौतिलाई बलियोसँग सामना गर्दै फड्को मार्न रुपान्तरणकारी सोंचका साथ ज्ञानमा आधारित अर्थतन्त्रमा जानै पर्दछ । अर्थतन्त्रको विकासलाई सूचना प्रविधिसँग जोडेर उत्पादन र सेवा क्षेत्रमा फड्को मार्न सकियो भने बल्ल देशको विकास हुनसक्छ । ज्ञानमा आधारित अर्थव्यवस्था निर्माण गरेका विकसित देशहरुबाट हामीले पाठ सिक्नु पर्छ ।
(लेखक लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा अध्यापन गर्छन्)



प्रतिक्रिया